शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पको चेतावनीः पत्रकार बेपत्ता पार्ने साउदीलाई कडा सजायँ दिनेछौं

आइतबार, २८ असोज २०७५, ०८ : ३५
आइतबार, २८ असोज २०७५

बीबीसी

इस्तानबुलमा साउदी दूतावासबाट हराएका चर्चित पत्रकार जमाल खाशोज्जीको मामलामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि पत्रकारको हत्यामा साउदी अरबको हात भएको पुष्टि भए अमेरिकाले कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

साउदी अरबको शाही परिवारका आलोचक पत्रकार जमाल खाशोज्जी दुई अक्टोबरमा इस्तान्बुलमा साउदी दूतावासमा गएका थिए जहाँबाट उनी फिर्ता भएनन् ।

टर्कीको अनुसन्धानकर्ताले उनको हत्या दूतावासभित्र गरेर शवलाई ठेगान लगाइएको आशंका व्यक्त गरेका छन् । यद्यपी, साउदी अरबले यी सबै आरोपलाई खारेज गरेको छ ।

शनिबार एक टेलिभिजन कार्यक्रममा राष्ट्रपति ट्रम्पले यदि खाशोज्जीको हत्या पुष्टि भए अमेरिका निकै रुष्ट हुने बताएका छन् ।

उनले भने, ‘यसबारे अनुसन्धान चलिरहेको छ । निकै सुक्ष्म ढङ्गले । र यदि यस्तो भए हामी अत्यधिक निराश र रुष्ट हुनेछौं । अहिलेसम्म उनीहरुले आरोपलाई अस्विकार गर्दै आएका छन् ।’

के यो घटनामा उनीहरु संलग्न हुनसक्लान् भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हो, हुनसक्छन् ।’

यद्यपी, राष्ट्रपति ट्रम्पले खाशोज्जीको हत्याको आशंकाका कारण अमेरिकाले साउदी अरबलाई हतियार बेच्न भने बन्द गर्नेछैन । उनका अनुसार यस्तो गरे अमेरिकालाई नै घाटा हुनेछ ।

उनले भने, ‘मलाई लाग्छ कि यस्तो गरेर हामीले आफैंलाई सजायँ दिनेछौं । अहिले पनि यसको बदलामा हामीले धेरै कुरा गर्न सक्छौं, निकै कडा व्यवहार गर्न सक्छौं र त्यो हामी जसरी पनि गर्नेछौं । अहिलेसम्म कसैलाई पनि थाहा छैन, वास्तवमा के भइरहेको छ । हामी यो विषयलाई निकै गम्भीरतापूर्वक हेरिरहेका छौं । टर्कीले पनि यसमा उच्चस्तरीय अनुसन्धान गरिरहेको छ ।’

टर्कीले माग्यो अनुसन्धानको अनुमतीः

यसैबीच टर्कीका विदेशमन्त्री मेवलुत कावासोगलूले खाशोज्जी बेपत्ताको विषयमा अनुसन्धानका लागि टर्की अधिकारीलाई साउदी दूतावासमा अनुसन्धान गर्ने अनुमती पाउनु पर्ने बताएका छन् ।

कावासोगलूले भने, ‘उनी कहाँ गायब भए ? त्यही दूतावासमा । त्यसकारण यसको अनुसन्धानका लागि, सबैकुरा सार्वजनिक गर्नका लागि टर्की अधिकारीले दूतावासमा जाने अनुमती पाउनै पर्छ । हामीले अहिलेसम्म कुनै सहयोग पाएका छैनौं । हामी सहयोग चाहन्छौं ।’

यस्तै, अर्कोतर्फ अमेरिका र ब्रिटेन साउदी अरबमा यसै महिना हुन लागेको एक उच्चस्तरीय लगानी सम्मेलनलाई बहिष्कार गर्ने कुरामा विचार गरिरहेको छ । खाशोज्जीको हत्या भएको पुष्टि हुने स्थितीमा पश्चिमी देशको एक आलोचनात्मक वक्तव्य जारी गर्नेबारे पनि विचार गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप