केन्द्रीय संस्करण

सत्यमोहन जोशीको स्मरण : लक्ष्मीप्रसाद देवकोटासँगको त्यो भेट

person access_timeकात्तिक २१, २०७५ chat_bubble_outline0

देवकोटा मभन्दा १० वर्ष जेठो हुन् । उनीसँग धेरै भेटाघाट भएको हो । उनी ज्यादै राम्रा मन्छे थिए । ज्यादै विद्वान ज्यादै प्रखर क्षमता भएको, सिर्जनशील क्षमता भएको, कुशाग्र भएको । अत्यन्त प्रतिभाशाली मान्छे  । एउटा घटना सुनाऊँ । उनी त्योबेला भाषानुवाद परिषद्मा शाकुन्तल महाकाव्य लेख्नका निमित्त जागिर खाएका मान्छे । 

त्यो भाषा अनुवाद परिषद भनेको त्रिचन्द्र कलेजको एकातिर आर्ट सेक्सन, कला पठनपाठ हुने र एकातिर विज्ञानको साइन्सको ब्लक थियो । त्यो साइन्सको ब्लकमा ठाउँ नपुगेर पश्चिमतिर नयाँ थपिएको थियो । अपार्टमेन्ट थपिएको थियो । त्यही नयाँ थपिएको अपार्टमेन्टलाई शिक्षा विभागअन्तर्गत भएको हुनाले त्यो अपार्टमेन्टमा भाषाअनुवाद परिषद् भन्ने एउटा अड्डा खडा भयो । 

त्यही घण्टाघरको तल मुन्तिरको अपार्टमेन्टमा एकातिर नेपाल भाषा प्रकाशनी समिति अड्डा थियो । त्यहाँ चाहिँ बालकृष्ण समशेर थिए । भाषाअनुवाद परिषदमा चाहिँ बालकृष्ण समशेरका दाजु पुष्कर समशेर अध्यक्ष थिए । भाषा अनुवाद परिषदको काम चाहिँ विद्यार्थीहरुलाई कोर्सबुकहरुमा रिडर बनाउने, ठुल्ठुलो साहित्यिक रचनाहरु गर्नको निम्ति पण्डितहरु राखेर, अनुवादकहरु राखेर ओरिजनल मौलिक ग्रन्थहरु बनाउँदाखेरी त्यो बेला तपाईंको राष्ट्र कवि माधवप्रसाद घिमिरे, बद्रीनाथ भट्टराई अनि तपाईंको यो लक्ष्मीप्रसाद देवकोटा जागिरे नै थिए । उनीहरु चाहिँ भाषा अनुवाद परिषदमा काम गर्थे । 

त्यो बेला हामी कलेज स्टुडेन्ट विद्यार्थीहरु बीच बीचमा ग्यापमा, एक घण्टा दुई घण्टा ग्याप हुन्थ्यो, त्यसबेला यताउता घुम्थ्यौँ । अहिलेको जस्तो घुम्ने ठाउँ थिएन त्यो बेला ।  

उही कम्पाउन्डभित्र यताउति यताउति घुम्दा घुम्दा भाषा अनुवाद परिषदमा पुगेपछि त्यहाँका साहित्यकारहरुसित भेटघाट भयो । बदरीनाथ भट्टराई, माधवप्रसाद घिमिरे, पुष्कर समशेरसँग पनि चिनजान भयो । देवकोटासँग पनि चिनजानभयो । देवकोटासँग त्यही बेला भेट भयो । मचाहिँ भर्खर भर्खर कवितामा मेरो कम्बिनेसन थियो । 

मैले आईए पढ्दाखेरी नै छन्द अलि अलि जानिसकेको थिएँ । त्योभन्दा अघि जानेको थिइनँ । त्यो रघुवंश पढ्दाखेरी यो यो छन्द लेखिएको छ भन्ने दिइएकोले त्यो थाहा भएपछि त्यसैका उत्साह र उमङ्गमा अलि अलि लेख्थे । 

त्यतिबेला केटाकेटीहरुको कविता लेख्ने बानी बसिसकेको थियो । त्योे दिन लक्ष्मीप्रसाद देवकोटालाई सुनाएको थिएँ । उनले राम्रो, राम्रो ल भनेर प्रेरणा प्रोत्साहन दिए । र उनले पनि ल म पनि विद्यार्थीको निम्ति, केटाकेटीको एउटा कविता सुनाउँछु । ल तपाईं लेख्नुस भने । यो सत्य कुरो, अनि म यसै बसेँ कलम समातेर कापी समातेर । उनी चाहिँ ओहोरदोहोर गरेर भन्न सुरु गरेँ । उता बसन्त तिलका सबका जबद्यौ..... सूत्र छ, बसन्ततिलका छन्दको तबदा..... त्यो गर्दा गर्दै त्यो खरायोले सिंहलाई इनारमा खसालेको कथा जुन छ, त्यो कथा चाहिँ मलाई ओहोर दोहोर गरेर कवितामा टिप्न लगाए । त्यस्तो प्रतिभा भएका छन्दमा । 

त्यो कविता हरायो । कहाँ पुग्यो कहाँ । अहिले जस्तो बुद्धि भए हुन्थ्यो । त्यो बेला सुरक्षित गरेर राखिराखेको भए चिज हुन्थ्यो । म आफैले चाहिँ मैले लेख्दै गएँ लेख्दै गएँ । गुनगुनाउँदैछ । गुनगुनाउँदैछ त्यो कथालाई छन्दमा मिलाएर । त्यो के रे इनारमा सिंहलाई खसाएको कथा सुनाए । त्यो कथालाई कविता बनाएर सुनाए । त्यति प्रतिभा भएका मान्छे । 

देवकोटा गरिब थिए भन्ने प्रश्नमा जोशीको विचार :

देवकोटा गरिब होइनन् दानी हुन् । उनका दाजुहरु त धनी नै थिए नि । डिल्ली बजार पर्तिर त्यति ठूलो, राम्रो घर थियो । खानै नपाउने दरिद्र होइनन् । अलिकति उनको हातमा पैसा चाहिँ नरहने, नअडिने । पैसा उनका साथमा नरहने । 

आज पैसा भयो भने ल आज बास्पी खाने भन्यो, काहाँ कहाँ के–के थियो, कसकसलाई ऋनसिन लिएको छ पैसा तिर्दै गयो । पैसा भएको बेला । त्यो बेलासम्म नोटको चलन थिएन । उनले त्यो शाकुन्तलको महाकाव्य बनाएको आधारमा दिएको कि के हो, पाँच सयको पुरस्कार जस्तो चाहिँ दिएको रहेछ, रोयल्टी जस्तो ।  त्यसबेला, त्यो यत्रो पोकोमा त्यो पैसा आफैले बोकेर, आफै पाँच सयका सिक्का दुई हातले नबोकी बोक्नै सकिँदैन नि । नोट भएको भए पो खल्तीमा हाल्ने । बोकेर हिँडिरहेको मैले आफैले देखेँ । चुरोट सुइँ सुइँ तानेर पैसा बोकेर आइरहेका थिए । के हो भनेको मैले, पैसा पाएँ । यो काम गरेर भने । 

कमसे कम एउटा त्यहाँको पिउनलाई भए पनि अलिकति मद्दत गर्नुपथ्र्यो नि । त्यो पनि गरेन, माग्न पनि मागेनन् । पैसा बोक्यो र कति खुसी भएर आएको (हा हा...) । अनि भन्थे, त्यो पैसा चाहिँ कसै अरुलाई दिनुपर्ने छ । पानवालालाई कति दिनुपर्ने छ, चुरोट खाएको कति दिनु पर्ने हो ? 

खसीको मासु काटेर लगेको घर पुग्दाखेरी थोरै हुन्थ्यो । बढी खर्चालु थिए । अब महिलाहरुले कन्ट्रोल गर्न नसकेको, दाजुभाइहरु छुट्टी सकेको होला । केके गरेको होला । त्यस्तै केही गरेको हाला । त्यस्तो ऊ त होइन । 

देवकोटाका नकारात्मक किस्साहरुबारेको प्रश्नमा जोशी भन्छन्– ती कुराहरु अब नगरौँ । नकारात्मक कुरा गरेर राम्रो हुँदैन । त्यो त उसैले रोकिदियो नि । एकेडेमीले नै खत्तम गरिदियो नि । 

उनलाई कहाँ के कहाँ (देशविदेश) पुगेको मान्छे, परमिसन नलिइकन तिमी गायौ भनेर बन्देज लगायो । दिइराखेको भत्ता पनि दिएन (रोकिदियो) । अलि दुःख पाए । यति साह्रै कुरा । अहिले त नमीठो हुन्छ, त्यो । सन्दर्भ राम्रो हुन्छ कुराकानी गर्नुभयो तर कुरो...... । त्यस्तो खबर प्रचार गर्नु त्यति उपयुक्त हुँदैन ।

उहाँले दुःख पाउनुभयो नि । मेरो आफ्नै आँखाले देखेको, मर्दाखेरी त्यत्रोे हुँदा खेरी यो मुख त यस्तो राम्रो जवान अनुहार थियो....  जम्मै केही थिएन । जम्मै हड्डी हड्डी मात्रै,  छाला हड्डी टाँसिएका थिए । जम्मै कालो निख्खुर कालो । लास्ट टाइम देख्दाखेरी त । त्यो (मर्ने) बेला पनि चुरोट नै खाइरहेका । मर्ने भइसक्यो होइन, उनले चाहेको नगर भनेर त भन्नु भएन, आर्यघाट पुगिसकेकोलाई । चुरोट चाहिँ खाइरहे । ४ दिन पछि त मरिहाले नि । 

त्यस्तो गतिलो मान्छे तर इमानदार, सोझो । छक्का पञ्जा गर्न नजान्ने । अङ्ग्रेजीमा कमान्ड भएको । अङ्ग्रेजीमा, त्यो बेला जति यहाँका प्रोफेसरहरु थिए, जम्मै कलकत्ताबाट आउँथे । सबभन्दा नामी यहाँको अङ्ग्रेजी पढाउने थियो क्षितिश चन्द्र चक्रवर्ती भन्ने थिए । जसले तपाईंको अद्वेत पाठशाला, अद्वेत तपाईंको यहाँ प्रचार प्रसार गर्यो नि नेपालमा । अद्वेत विश्वविद्यालय भनेर ओपन युनिभर्सिर्टी जस्तो चलाए नि । अहिले पनि तपाईंको त्यहाँको पुरानो बसपार्कमा अद्वेतको घरै छ । अद्वेत मार्ग भन्ने छ नि । 

ती चक्रवर्तीले शुद्ध उनले एउटा एड्भान्स एसिया भनेर एउटा पुस्तक निकालेका थिए । त्यो एड्भान्स एसियामा उनको तीनवटा एसए इन्क्लुड गरिएको थियो । लक्ष्मीप्रसाद देवकोटाको, त्यति राम्रो अङ्ग्रेजी कमान्ड भइसकेका मान्छे थिए देवकोटा ।   

(मोहन दाहालसँगको कुराकानीमा आधारित ।)
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ