फष्टलूकमा यस्तो देखियो ‘दि ब्रेकअप’
काठमाडौं – फिल्म ‘दि ब्रेकअप’ले फष्टलूक सार्वजनिक गरेको छ । निर्माण युनिटले फष्टलूकको रुपमा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रचारको थालनी गरेको जानकारी दिएको छ ।
फिल्मको केही पहिले ‘आज हाम्रो भेट भाको दिन’ बोलको एक गीत सार्वजनिक भएको थियो । उक्त गीतले १० लाख बढी दर्शक पाएको छ ।
२७ पुसबाट प्रदर्शनमा फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के देखिएका छन् । आशिरको काखमा शिल्पा रोमान्टिक मुडमा देखिएकी छन् ।
रेड ब्याकड्रपको थिममा सार्वजनिक पोस्टरले यस अगाडि बाहिर आएका फिल्मका पोस्टरहरु भन्दा केहि भिन्न रहेको छ ।
हेमराज बिसीको निर्देशन रहेको फिल्ममा आशिर र शिल्पासँगै इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लगायतको अभिनय रहेको छ ।
अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् । रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीको संयुक्त लगानीमा निर्माण भएको ‘दि ब्रेकअप’मा सुरेन्द्र पौडेलको सम्पादन छ ।