बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल लिक्स’ प्रति ढकालको आपत्ति, ‘मेरो स्वीस बैंकमा खाता छैन, पैसा भए राज्यले जफत गरोस्’

बिहीबार, ०३ माघ २०७५, १६ : १९
बिहीबार, ०३ माघ २०७५

काठमाडौं– सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म (सिआईजे) नेपाल मार्फत तयार रिपोर्ट सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको समाचारमा आफ्नो नाम जोडिएको प्रति आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

आज पत्रकार सम्मेलनको आयोजना गरेर ढकालले उक्त रिपोर्टप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्वन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्नालिज्म (आईसिआईजे)सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको उनले बताए । प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा हामी र हामीसँग सम्वन्धित कुनै पनि कम्पनीको नाम कहि कतैबाट नजोडिएको उनले बताए । 

ढकालले कुनै पनि स्वीस बैंकमा खाता नरहेको, कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता नभएको र आईएमई ग्रुपले प्रवर्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी नआएको स्पष्ट पारे ।
ढकालले पत्रकार सम्मेलनमा भने, ‘बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर भ्रम सिर्जना गरी हाम्रो सार्वजनिक छविमा क्षती पुर्याएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी यसमा गम्भिर आपत्ती समेत प्रकट गर्दछौं ।’

सन् २००२मा नेपालमा निजी कम्पनीस्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट स्वदेशमा रेमिट्यान्स भित्र्याउने यात्रा सुरु गरेको ढकालले बताए । उनले नेपालमा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेकोमा इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई)ले नेपाल राष्ट्र बैंकको स्वीकृती लिई बैंकिङ्ग च्यानलबाट नेपालमा रेमिट्यान्स भित्र्याउन पहिलो कम्पनीको रुपमा काम थालेको बताए । 
उनले भने, ‘बेलायत लगायत अन्य देशहरुबाट पनि कारोवार गर्नका लागि १७ जुन २००२ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिएर २१ अगस्ट २००२ मा बेलायतमा कम्पनी स्थापना भएको हो । त्यसपछि नेपालीहरुको बाहुल्यता रहेका देशमा हामीले विभिन्न व्याक्तिसँग सहकार्य गरेर कम्पनी स्थापना गरी रेमिट्यान्स भित्र्याउन थालेका हौं ।’ 

ढकालले यी कम्पनी स्थापना गर्न नेपालबाट लगानी बाहिर नलगेको बताए । उनले बेलायतको एक पाउण्डको कम्पनीमा त्यहीं उपलब्ध साधारण स्रोत प्रयोग गरेर कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स नेपाल भित्र्याउन थालेको बताए ।

अवैध च्यानलमार्फत नेपाल आउने रेमिट्यान्सलाई निरुत्साहित गरेर औपचारिक च्यानलमार्फत रेमिट्यान्स ल्याउन १८ वर्षदेखि गरिरहेको पहललाई सम्भवत कसैले नजरअन्दाज गर्न नमिल्ने ढकालले पत्रकार सम्मेलनमा बताए ।

नेपाल सरकार, नेपाल राष्ट्र बैंकको अनुमतिबाट सन् २००१ मा सुरु भएको आईएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाट करिव १४ खर्व रुपैयाँ रेमिट्यान्स भित्राएको दावी पनि गरे । यसरी संस्थागत भएको रेमिट्यान्स व्यापारका कारण अहिलेको अर्थतन्त्र अगाडि बढिरहेको र कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान ३० प्रतिशत पुगेको पनि बताए । कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीका रुपमा नेपाल सरकारबाट सम्मानित हुँदै आएको पनि स्मरण गराए । 

ढकालले भने, ‘आईएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा  सनबर्ड कम्प्युटर कन्सलट्यान्ट लिमिटेडलाई इन्टरनेशल मनी एक्सप्रेस (आईएमई) लिमिटेडमा परिवर्तन गरिएको हो ।’

ढकालले कम्पनी सुरुवात गरेपछि आफू सञ्चालक बनेको र २० जुलाई २०१० मा कम्पनीबाट राजिनामा दिएको स्पष्ट पारे । भाई हेमराज ढकालको सन्दर्भमा उनी गैरआवासिय नेपाली भएको पनि ढकालले बताए ।

उनले सन् ९० को दशकदेखि जापान, मलेसिया, बेलायत लगायतका देशमा बसेर आईएमई रेमिट्यान्सको बिजनेश हेर्दै आएको र नेपालको कानुनले गैर आवासिय नेपालीलाई कम्पनी स्थापना गर्न, सञ्चालन गर्न र त्यसको सञ्चालक समिति सदस्य बन्न कुनै बन्देज नलगाएको पनि बताए ।

कम्पनीमा संलग्न कमल पौडेल र अनिलकुमार लामिछाने नेपाली भए पनि उहाँहरुको अहिलेको राष्ट्रियता बेलायती भएको पनि बताए । उनीहरुले बेलायतमा कम्पनी स्थापना गर्दा र सञ्चालन गर्दा नेपालले आपत्ती जनाउनु पर्ने, गैरकानुनी हुनु नपर्ने ढकालले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप