आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

मङ्गलबार, २५ वैशाख २०८१, २० : २०
मङ्गलबार, २५ वैशाख २०८१

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले काम गरेको हो ।

पहिलो चरणमा बसेनीदेखि गोन्द्राङसम्म भूमिगत तारबाट विद्युत् प्रसारणको काम समेत भइसकेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार सुरुआती समयमा भएको सम्झौताअनुसार ७० प्रतिशत काम भएको भए पनि ठेक्काको काम थप भएसँगै प्रगति कम भएको हो । आगामी एक साताभित्र ११ केभिए लाइन जडान भएका पाँचवटा फिडरसमेत भूमिगत तवरबाट सञ्चालनको तयारी गरिएको छ ।

पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत गर्दै लगिने उनले जानकारी दिए । उनले भने, “बसेनीदेखि भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीदेखि पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङसम्मको सडक थपिएको छ ।”  केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गरिने उनले बताए ।

भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा मात्रै भूमिगत गर्न थालिएकोमा अहिले नयाँ क्षेत्र थप गरेसँगै बजेट पनि थप गरिएको सुवेदीले बताए । उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको उनले बताए । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवारी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै गएको उनले बताए । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । महानगरका सहरी क्षेत्रमा हावाहुरीका कारण धेरै समस्या हुने गरेको छ । तार भूमिगत भएसँगै यो समस्या हट्ने र सहरी क्षेत्रको सौन्दर्यता बढ्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप