शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शरतसिंह भण्डारीले गराउन सक्लान् राजपाको एकता महाधिवेशन ?

सोमबार, ०४ चैत २०७५, ०८ : ५२
सोमबार, ०४ चैत २०७५

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन तोकिएको समयमा हुने कि नहुने अन्योल देखिएको छ । 

राजपा नेपालले वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने घोषणा गरेको छ । तर तोकिएको समयमा महाधिवेशन हुने कि नहुने कार्यकर्तामा मात्र होइन, शीर्ष नेतामा पनि अन्योल देखिएको छ । महाधिवेशनको एक महिना मात्र बाँकी छ तर त्यसको तयारी शून्य छ, पार्टीका एकजना महासचिवले भने, ‘महाधिवेशन गराउनका लागि तयारी देखिनुपर्यो नि, महाधिवेशनको डेट तोकिसकेको छ, पार्टी कार्यालय सुनसान छ ।’
गाउँ, नगर, जिल्ला, प्रदेशको अधिवेशन पनि गराउनै बाँकी छ । सातवटा प्रदेशमध्ये अहिले कहीँ अधिवेशन भएको छैन । केही जिल्लामा अधिवेशन भए पनि अधिकांश जिल्लामा विवाद देखिन्छ । हालसम्म कुनै पनि प्रदेश तथा जिल्लाको प्रतिवेदनसमेत आइपुगेको छैन । 

दुई दिन अगाडि साधारण सदस्यता वितरणको कार्यक्रम सम्पन्न भएको छ । सक्रिय सदस्यता वितरणको मिति पनि तय भएको छैन । वडास्तर हुँदै प्रदेश स्तरसम्म अधिवेशन हुनुपर्छ । त्यसका लागि समयको अभाव देखिएको छ । 

पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले भने, ‘महाधिवेशन हुन एक महिना मात्र बाँकी छ । महाधिवेशनका लागि जस्तो तयारी हुनुपर्ने हो त्यस्तो तयारी भएको छैन ।’ सम्पूर्ण राजनीतिक प्रकृया पूरा गरी महाधिवेशन हुनुपर्नेमा आफूहरूको चासो रहेको बताउँदै उनले कोरम पुर्याउनका लागि मात्र महाधिवेशन नहोस् भनी आफूहरूले शीर्ष तहलाई आग्रह गरेको बताए । 

तल्लो तहसम्मको अधिवेशन हुन नसकेपछि तोकिएको समयमा महाधिवेशन गर्ने उपायको खोजीमा छन् नेताहरू । राजपा नेपालको ७०२ सदस्यीय कार्यसमिति रहेको छ । 

ती कार्यसमितिका सम्पूर्ण सदस्य तथा जिल्ला अध्यक्षमण्डलका सदस्यहरूलाई प्रतिनिधि बनाएर महाधिवेशन सम्पन्न गर्ने तयारी पनि रहेको पार्टी स्रोतले जनाएको छ । तर यसलाई दलका दोस्रो तहका नेताहरूले विरोध जनाइरहेका छन् । 

दुई महिने चक्रीय प्रणालीबाट राजपा नेपाल सञ्चालन भइरहेको छ । प्रत्येक दुई महिनामा अध्यक्षमण्डलका संयोजक फेरिएका छन् । आउँदो चैत ६ गतदेखि शरतसिंह भण्डारी अध्यक्षमण्डलका संयोजक बन्दैछन् । यसको निर्णय हायात होटलको बैठकले गरिसकेको छ । 

महाधिवेशन हुने समयमा संयोजक बन्न लागेका भण्डारीसँग जिज्ञासा राख्दा उनले आफू पद सम्हालेपछि यसको जवाफ दिने प्रतिकृया दिए । तपाईं पार्टीको संयोजक रहेको बेला महाधिवेशन भएन भने तपाईंमाथि नै दोष जान्छ नि भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म महाधिवेशन तोकिएको समयमा हुने निश्चित छ । अर्को मिति तोकिएको छैन । महाधिवेशन समयमा सम्पन्न गराउने छलफल चलिरहेको छ । त्यसलै अर्को मिति नतोकेसम्म तोकिएकै समयमा महाधिवेशन हुने कुरा बुझ्नुपर्छ ।’

अरू कुरा आफू संयोजक भएपछि अगाडि बढाउने उनले बताए ।

यसरी गठन भयो राजपा 
२०७४ वैशाख ७ गते (तमलोपा, सद्भावना, तमसपा, फोरम गणतान्त्रिक, सङ्घीय सद्भावना, रामसपा, तत्कालीन मधेसी मोर्चामा रहेका छवटा दल मिलेर राजपा नेपाल गठन गरेको थियो । 
त्यसमध्ये सद्भावना पार्टी र सङ्घीय सद्भावना पार्टी आफूलाई ३० वर्षको पुरानो पार्टी भनी दाबी गर्दै आएको छ । स्व. गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीबाट राजेन्द्र महतो नेतृत्वमा सद्भावना पार्टी अलग भएको थियो भने सद्भावना पार्टीबाट अनिलकुमार झाको नेतृत्वबाट सङ्घीय सद्भावना पार्टी अलग भएको थियो । 

यी दुवै दलले नेपाल सद्भावना पार्टीकै हाँगाको रूपमा प्रस्तुत गर्दै आएका थिए । उनीहरूले आआफ्नो कार्यकालमा एक पटक महाधिवशेन गराएका छन् । अर्को महाधिवेशन गराउने बेलासम्ममा राजपा नेपाल गठन गरेको थियो । महन्थ ठाकुर नेतृत्वको तमलोपाले पनि एउटा महाधिवेशन मात्र गराएको छ । २०६५ सालको मधेस आन्दोलनको क्रममा गठन भएको तमलोपाबाट महेन्द्रराय यादव अलग भएर तमसपा (तराई मधेस सद्भावना पार्टी) गठन गरेका थिए । उनले एउटा पनि महाधिवेशन गराउन सकेनका छैनन् । 

त्यस्तै, उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएर जयप्रकाश गुप्ताले मधेसी जनअधिकार फोरम गणतान्त्रिक गठन गरेका थिए । पछि गुप्ता भ्रष्टाचारको मुद्दामा जेल परेपछि त्यसको अध्यक्ष राजकिशोर यादव बनेका थिए । 

राजकिशोर यादवले पनि आफ्नो पार्टीको पहिलो महाधिवेशन गराएका छन् । अर्को महाधिवेशनको तयारी चलिरहेकै बेला राजपा नेपाल गठन भयो । 

२०६५ सालमा भएको सविधानसभा चुनावमा तमलोपा फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीले मात्र चुनावमा भाग लिएका थिए । पहिलो संविधान सभामा शक्तिशाली भएर उदाएका यी दलबाट पछि विभाजन भएर विभिन्न दलहरू जन्मिए । 

विभिन्न दलको रूपमा दोस्रो संविधान सभा चुनावमा भाग लिएका उनीहरू कमजोर भएर आए । पहिलो संविधानसभा चुनावमा शक्तिशाली रहेका दलहरू दोस्रोमा एक दुई सिटमा सीमित भए । यसरी अलग अलग चुनाव लड्दा मधेसमा शक्ति प्राप्त गर्न सकिँदैन भने एकताका लागि प्रयास भएको थियो । तेस्रो मधेस आन्दोलन सम्पन्न भएपछि एकीकरण सम्पन्न गरे । 

छवटा दलका छजना अध्यक्ष रहने गरी अध्यक्षमण्डल बनाएर दुई दुई महिनामा संयोजक फेर्ने पार्टीको विधानमै व्यवस्था गर्यो । तर २१ महिनासम्म महन्थ ठाकुर नै संयोजक बनेर राजपा नेपाल सञ्चालन गरे । 

पछि ठाकुरले पार्टीमा मनमौजी गर्न लागेको, अनियमितता गर्न लागेको भन्दै मङ्सिरमा गोप्य बैठक बसेर ठाकुरलाई बहुमतको निर्णयबाट हटाएको थियो । ठाकुरलाई हटाएर महतोलाई संयोजक बनाएपछि केही दिन पार्टीभित्र निकै विवाद चलेको थियो । पार्टी फुटको अवस्थामा पनि पुगेको थियो । यहाँसम्म कि महन्थ ठाकुर बैठकमा नै आउन छाडेका थिए । 

पछि राजेन्द्र महतो ठाकुरसँग भेटेर बैठकमा ल्याउन मनाएपछि पार्टीभित्र केही सहज भयो । पार्टी सहज अवस्थामा आएपछि बैठकहरू बस्न थाले, गतिविधिहरू हुन थाल्यो । तर ती बैठकको निर्णडहरू सार्वजनिक नहुँदा नेता तथा कार्यकर्तामा निराशा उत्पन्न भएको छ । 

यहीबीचमा फोरम नेपालले एकताका लागि औपचारिक प्रस्ताव गरेको छ । त्यसको जवाफ पठाउने निर्णय पनि राजपाले गरेको छ । तर एकीकरणका लागि छजनामा फरक फरक धारणा आएका कारण वार्ता प्रकृया अगाडि नबढेको बताइन्छ । 

फोरम नेपालले पनि वैशाख २७, २८ र २९ गते जनकपुरमा महाधिवेशन गर्ने भनी मिति तोकेको छ, सोहीअनुसार तयारीमा लागेको छ तर राजपा नेपालभित्रको आन्तरिक विवादका कारण महाधिवेशन अन्योल देखिएको छ । 

महाधिवेशनबाट पार्टी कब्जा गर्ने मनसाय नेताहरूले बनाएका छन् । त्यहीअनुसार आआफ्नो पक्षबाट जिल्लामा प्रतिनिधि बनाउन लाग्दा थुप्रै ठाउँमा विवाद देखिएको छ । केन्द्रमा अध्यक्षमण्डलका संयोजक दुई दुई महिनामा परिवर्तन भए पनि गाउँ, नगर, जिल्ला र प्रदेशमा परिवर्तन भइरहेको छैन । एक पटक जो बने त्यसले छाडिरहेका छैनन् । त्यसले गर्दा पनि थुप्रै ठाउँमा विवाद देखिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप