केन्द्रीय संस्करण

कथा : प्रयोगशाला

person explore access_timeचैत २३, २०७५ chat_bubble_outline1
रोशन खड्का

रातोपाटी

“साँच्चै बिहे भएपछि हाम्रो जिन्दगी कस्तो हुन्छ होला है ?” उसले  सोधी ।

कस्तो जवाफ दिऊँ ? रेडिमेड फम्र्याटका केही रङ्गीन कुरा गरूँ ?

जस्तो कि उसलाई भनिदिऊँ : तिमी एउटा रङ हौ । म एउटा रङ हुँ । हामीले चाहेको खुसीहरू, हामीले देख्ने सपनाहरु, हामीले गर्ने अनेक सुखद कल्पनाहरु, बेग्ला–बेग्लै रङहरू हुन् । यी सबैै रङ मिसाउँदा एउटा ईन्द्रेणी बन्छ, बुझ्यौ ? हाम्रो जिन्दगी त्यही ईन्द्रेणी जस्तै हुनेछ, रङैरङको ।
...
उमेरको एउटा चरणमा यो मीठो सुनिदो हो, जसलाई भनियो ऊ पनि खुसीले चुलबुल भइदिँदी हो । आहा ! कस्तो मीठो कुरा, कति खुसी लाग्ने कुरा, यस्तो सोचेर ऊ मन्द मुस्कुराउँदी पनि होला । यसमै म पनि खुसी भइदिऊँ वा यो खुसी हुने कुरा हो र ?

भ्रमपूर्ण भावुकता त्यागिसकेको थिएँ । बोलेको कुराको जमिन होस्, कठोर भए पनि यथार्थलाई नै भोगूँ । कोमलो कल्पनाबाट सकेसम्म जोगिऊँ । सचेतना खोजिरहेको समयमा थिएँ ।
उसलाई भनेँ, “हेर म साधरण छु । जीवनमा चामत्कारिक प्रगति गर्न सक्ने मान्छे होइन म । खराबसँग जेनतेन जोगिएर हिँडौ भन्ने चाहिँ छ । हाम्रो वरिपरि अरू–अरू मान्छेहरुको जिन्दगी जस्तो छ हाम्रो पनि त्यस्तै हुन्छ होला ।”

एकछिन मौन रहेर जवाफमा उसले हजुर मात्र भनी ।

म समुन्द्र पारि छु, ऊ देशमा । फोनमा बोलिरहँदा टिफिन बक्स धुँदै थिएँ । घर्किंदै गएको समयसँग मलाई हतार थियो । किचनबाट कोठाको घडी चिहाएँ । आठ बजेछ । बाँकी काम फटाफट सक्ने धुन सधैँको हो । मौनतापछिको ‘हजुर’ शब्दले म आफै मौन भएँ । मौन मनमा प्रश्न फुत्त निस्किए, उसलाई दिएको जवाफ कस्तो भयो । मनको कहीँ गएर बस्यो कि बसेन ?

कुरा खेलाइरहँदा म त चुपचाप पो भएँछु ।

‘किन नबोल्नु भा’को ?”

सन्नाटालाई उसले आवाज दिई । मैले अझै केही बोलिरहूँ, उसलाई कसरी बोलेको मन पर्छ, प्रिय शब्दहरू म खोजूँ । आवाजमा गीतको मधुरता मिसाऊँ, हामीले सँगै जिउने भनेका छौँ । जिउने क्रममा दुःख, सुख आउँछन । सँगै भोग्ने है भनेका छौँ । हरेक कुराकानीमा उसलाई विश्वस्त पारूँ । प्रेमले उसको नाम लिइरहूँ । उसको चाहनामा यी सबैै मनोभव अटाएकै छन् । यो बुझिने कुरा हैन र ?

हतारमा भनेँ, “ बोलिराको छु त । यतिखेर एक खित्का हाँस्नु थियो । हाँसी दिएँ । जुनसुकै मनोदशामा भए पनि प्रेमिका खुसी भइराख्ने गफ गर्न सक्नु सकसको कुरा रहेछ । बाँकी सोचिनँ । मनमा अप्ठ्यारो जस्तो केही भइराखेको थियो ।

उसलाई फुक्र्याइदिऊँ ? मनमा एक हरफ शब्दहरू दौडिएपछि जवाफ पठाएँ ।

सोचिराखेको छु । सोचेको बेला बोल्नै जान्दिनँ क्या ।

“धेरै सोच्यो भने पागल भइन्छ है... ।

हो पगल भएरै  सोचिराको छु नि ।

‘उस उस... । खुबै होला... । झुटोमुटो बोल्ने मान्छे । ऊ मायालु सुनिई ।

प्लिज भन्नु न त अब... । के सोच्नुभा’को ??

मन पराउन्नौ कि, एकछिन रोकिएँ । अझै केही भन्दिइनँ । 

ओहो ! अब त अति भयो लु सुन्दिनँ अब ।

दिक्क लागिसकेको थियो उसलाई । यो बुझिने कुरै हो नि, हैन ?

भनेँ प्रेमिका दिक्क भएपछि प्रेमको कुरा कसरी गर्नुहुन्छ त नसुन तिमी । ऊ पर्याप्त चिढिएर गई ।

ऊ चुपचाप । म चुपचाप । फेरि अलिकति समय चुपचाप मै बित्यो ।

“बुढी,” उसलाइ बोलाएँ । अक्सर यस्तो बेला उसलाई म बुढी नै भन्छु ।

‘गम ने तुमको मारा गम ने हमको मारा ये गमको मार डालो ।’

यसरी रोमान्टिक मुड आइदियो ।

एउटा कुरा भनुम ?

‘मर्जी होस हजुर ।’ अझै सामान्य भइसकेकी छैन ।

भनेँ ‘फेरि रिसाउँछ्यौ कि ?’

‘भने पो रिसाउनु । पहिले भन्नु न त ?’

‘प्यारी बुढी तिमी मलाई माया नै गर्दिनौँ । म मात्र माया गरेर यो कुरा भन्छु है ?

नाइँ, उसले मलाई स्वीकारिनँ । म हुस्स परी रिसाऊँ त ? जरूरी कुरै हैन यो ।’ त्यही आई लब यू भन्ने त होला नि हैन ? उसले बुझिसकी ।

म चर्को आवाजमा हासेँ ।
....
तपाईं कहाँ हो कहाँ हुनुहुन्छ । मभन्दा धेरै टाढा, विदेश । तपाईंलाई मैले देखेकी छैन । मन मनमा भेटुँ भन्ने त हुन्छ नि । आबुई मेरोसामु तपाईं ठिङ्ग उभिनुहुँदा मलाई कति लाज लाग्ला । के भन्छु होला तपाईंलाई ? कस्तो डर लाग्छ मलाई । तपाईंलाई आफ्नो मान्छे सम्झिदा चाहिँ खुसी लाग्ने क्या । दिनभरि पनि म सम्झिरहन्छु । रातमा पनि केके कुरा आइरहन्छन् । आजकल मलाई निद्रा नै पुग्दैन नि । मलाई त भगवानसँग एकदम विश्वास छ । भाग्यमा पनि विश्वास छ ।

नत्र तपाईंसँग मेरो माया कसरी बस्थ्यो भन्नु त ? यो भगवानको देन हैन ? भाग्यको कुरा हैन ?

एउटा कुरा सोध्छु, नरिसाउनु है ?

उ साह्रै भावुक । यस्तो भावना कसैसँग प्रेममा परेपछि मात्र आउँछ ? यसो हो भने ऊ मलाई प्रेम गर्छे । यो मैले सजिलै विश्वास गरेको छु । विश्वासले बनेका यी भावनाहरू मेरा पनि होइनन् र ? आफ्नो लागि ‘प्रेम’ राखेर कसैले झुट नै केही बोलोस् । मन कतै न कतैबाट  प्रसन्न नै हुँदो रहेछ । शब्दमा ठ्याक्क भन्न नसक्ने । शरीरमा केही न केही चाहिँ दौडिरहने रहेछ । उसको कुराले पुलकित थिएँ । किन रिसाउँछु भनौँ ? फेरि उसले रिसाउने कुरा  गर्छे ? अहँ गर्दिनँ । यो पनि मैले गरेको विश्वास हो । अब ऊ पनि विश्वस्त होस् । विश्वस्त भएर आफ्नो कुरा सोधोस् । आफ्नो कुराभन्दा उसलाई अप्ठ्यारो नहोस् । मैले सकेसम्मको नरम आवाज बनाएँ । नरम आवाजको बाटैबाटो ऊ मसम्म आओस् । आउँदा उसलाई सजिलो होस् । अब म जे भन्ने भनेर सोच्दैछु, उसले प्रेम हो भनी बुझोस् ।

भनें.. मलाई तिम्रो माया लाग्छ । म मायाले नै सुन्छु । मायाले सुनिरहँदा मनमा कहाँ रिस हुन्छ त ? भन । म रिसाउँदिनँ ।

धोका त दिनुहुन्न नि ?

सयौँ प्रेमपत्रको जम्मा एउटा ‘अस्वीकृत’ जवाफ होइन ऊ । स्कुल छाड्ने बेलाको रुमानी समयमा निर्मोही प्रेमिकाले भनेको “मलाई बुझ्दै बुझेनौँ, कति चाहेको थिएँ तिमीलाई ।” जस्तो वियोगान्त प्राप्ति पनि होइन । अनेकौँ मतभेदपछि त्याग्नै पर्ने कुनै अवरूद्ध विचार पनि ऊ होइन ।

परदेशमा एक्लै छु । एक्लोपन अनेकौँ विरही भावनाहरुको खुल्ला ढोका रहेछ । निःसर्त यी आउँछन् । मलाई सकेसम्म बिथोल्छन् । भागेर कहाँ जाऊँ ? म कतै जानुभन्दा अघि नै ऊ मेरो एक्लोपनसँग संवाद गर्न आई । अब एक्लो नसम्झिनु नि है ? ऊ भनिरहन्छे । जुन दिनदेखि उसले साथै छु भनी मेरो एक्लोपनको ढोका आफै बन्द भइ त गयो ? उसको साथमा म आफैं रमाइरहेको छु । त किन धोका दिनु मैले ? प्रेमले चाहेको कुरा त्याग्नु आफैलाई धोका हो कि अरूलाई पनि ? भो अब के मनमथन गर्नु । गर्दिनँ ।

उसलाई भनेँ, “धोका दिन्छु भनेर तिमीसँग जिन्दगीको कुरा गरेको होइन ।”
....
“अब त आउनु के,” हरेक दिन बैनी मसँग कचकच गर्छे ।

बुढो हुनुभयो । बिहे गर्नु पर्दैन ??

किन यसो भनेकी यो केटीले ? कपाल फुलेर सेतो भएकै छैन । गालाहरूमा कहाँ चाउरी छ मेरो ? एकाध घन्टाको दूरी त दौडेर पार गरिदिन्छु । हातमा लौरो समाएर थरथर काप्दै हिँड्ने बेला भइसकेकै हो त ? सोच्न बाध्य भइ त गएँ ।

‘तीस वर्ष अविवाहित मान्छेको लागि बुढै  हो ।’ विवाहको विषयमा बुढ्यौलीको प्राकृतिक परिभाषा नलाग्ने रहेछ, किन होला ? उत्तरहरु सजिला छन् । यो समाज हो । समाज र प्रकृतिले सधैँ उस्तै नसिकाउने रहेछ । यति बुझ्न अप्ठ्यारो कुरा हो र ? बैनीले सामाजिक स्कुलभन्दा बाहिर कहाँ पढी र ? अब एउटा जवाफ उसलाई चाहिनेछ ।

बुढोको के चिन्ता त नेपालमा बस्नेहरु सबै तन्नेरी छन् र ? बैनीलाई भन्छु ‘बिहे एक्लै गरी हुने कुरा हैन क्या, म एक्लै छु ।’

“बिहे गर्ने मान्छे खोजेपछि मलाई बोला है ?

“केरे केरे ?” मेरो कुरा सुनेर आश्चर्य भाव व्यक्त गरी ।

के तँ मेरो यही अनुमति कुरेर बसेकी थिइस् ? कोसँग मेरो लगन कसिन्छ, तँलाई यो बताउन हतार थियो ? बैनीलाई यो सोध्नुथियो । जवाफमा के भन्थी होला ?

बैनीलाई लाग्दो हो म बिहेबारे कहिल्यै सोच्दिनँ । अनि नसोच्ने मान्छे को बिहे कसरी हुन्छ ? उमेर पुगेपछि पनि यत्रो समय कुरै नगरी म किन बसेको होला ?

“साँच्ची भन्नु मैलै खोजेको केटीसँग ब्या गर्ने हो ?” बैनी ढुक्क हुन खोजी ।

मैलै होइन भनेको छु र ?

ल रूक्नु भनेर उसले फोन राख्दिई ।

दुई दिनपछि मेसेन्जरमा बैनीले केही फोटो पठाई ।

पहेँलो कुर्था सलवार उसको पहिरन थियो । दाहिने हातमा पूजाको थाल लिएकी थिई । मुस्कुराइरहेको भावमा उसका ओठहरु खुल्ला थिए । फोटोको भङ्गीमा मिलाउन होला देब्रे हातले केश सम्हालिरहेकीझैँ देखिन्थी ऊ । तुलसीको मठसँगै खालि खुट्टा भएकी थिई ।

“हाउ इज सी ? भन्नु न ।” बैनी उत्सुक थिई । कतै दादाको मनले खाँदैन कि ? राम्रो छैन फुच्ची भन्ने पो हो कि ? सशंकित भइहोला बहिनी ।

भगवानप्रति उसको आस्था रहेछ । सम्मान गर्न सक्छु त म ? ऊ मन्दिर जान तयार भइरहँदा फूलपाति र प्रसादको जोहो गर्दिनँ सक्छु ? मेरो लागि त यो शब्दभन्दा बाँकी केही होइन । यसको आकार–निराकार स्वरूपसँग मलाई कुनै दिलचस्पी नै छैन । उसले मेरो स्वभावलाई स्वीकार गर्ली त ? यस्तै केही सोचिरहेन्थेँ ।

बैनीको मेसेज आयो, “रिप्लाई प्लिज । यो पालि रिसाएको बुझाउने दुईवटा इमोजी पनि पठाई । डोन्ट बी साइलेन्ट क्या दादु । हाऊ इज सी ?”

सरदर नेपाली युवतीझैँ उसका स्वरूप थियो । स्वरूपको आधारमा राम्रो नराम्रो भन्न सक्ने कुरा मेरो वशको हैन नि ?

मान्छे मन पर्ने र नपर्ने कारण त स्वभाव पो होला । फोटो हेरेर सब कहाँ जान्नु म ? बैनीले मेरो लागि आफ्नै प्रयत्नले हेरेको मान्छेलाई नराम्रो किन भन्नु । 

तर बैनी मेरो जवाफको लागि व्यग्र थिई । 

मेसेज बक्समा ‘ब्युटिफुल’ लेखी पठाएपछि एउटा थम्स अप पनि दिएँ ।

बैनी खुसी भइछे । फोन नै गरी । हतार हतारमै फोटोकी मान्छे मलाई कति सुहाउँछे भनेर सुनाई । अब अन्तिम ग्यारेन्टी मागेझैँ सोधी, “दादा यो केटी हुन्छ त ?”

“नहुनुपर्ने किन र ? हुन्छ ।” बैनीलाई भनेँ ।

बैनीले फेसबुक आईडी पठाई मेसेजमा । भनी मेरो बेस्ट फ्रेन्ड हो । एड गर्नु है भनेर फोन राखी ।
....
“तपाईंको बैनी कलेज गई । म यसै कोठामा । बाग भैरव मन्दिरमा बसेर म टोलाएँछु । चन्द्रागिरीमा घाम झर्यो । एकोहोरो हेर्छु त्यो पहाडलाई । मैले तपार्इंलाई गरेको माया पनि त त्यति नै अग्लो छ नि । घाम लागेर यो पहाड पनि न्यानो भएको होला ।

मैले चाहिँ चिसो माया गरेकी हूँ र ? सोचिरहेछु । दुईवटा बाजहरु चन्द्रागिरीलाई नै फन्को लगाइरहेछन् । फेरि तापाईंलाई नै सम्झन्छु । साँच्चै ती चराले पहाडलाई फन्को लगाईरहेझैँ म तपाईं वरिपरि घुमिरहेछु कि तपाईं मेरो वरिपरि ? थाहा नै पाउन्न । सोधौँ त ? गोजीबाट मोबाइल झिक्छु । बाफ रे.. आधा घन्टा भइसकेछ पर्खेको पनि । किन ढिला गर्नुभा’को होला ? अब म बोल्दिनँ । यस्तै केही सोचिरहेथेँ । तपार्इंले प्याट्ट टाउकोमा हान्नुभयो । झस्किएँ ।”

“रिसाउँछु भनेको थिएँ । तपाईंलाई सामुन्नेमा देखेपछि बिर्सिहालेछु हेर्नु त । तपाईंको अनुहारमा हेरेको । ‘माफी देऊ न है ? भन्नु भएझैँ लाग्यो । कति माया लाग्ने देखिनुभएको के... ।”

“एउटा कुरा भन्छु नरिसाउनु है ? तपाईंले ‘हस’ भन्नुभयो ।”

मलाई किन ‘हग’ नगर्नुभएको ?

तपाईंले ‘धत्’ भन्नुभयो । हग पनि नदिने के... ?

त्यति खेर तपाईं मेरो मान्छे हैन कि ? भनेर सोचेँ ।

त्यसपछि तपाईंले हामी उभिइराखेको ठाउँबाट दाहिनेपट्टिको मम घर लानुभयो मलाई । नाम के हो भन्नु न ? मामा मम घर ।

अनौठो छैन त ? सधैँ मान्छेहरुको घुइँचो लाग्थ्यो यहाँ । आज किन सुनसान भएको होला । सोधौँ भन्दै थिएँ । मम ल्याइ त गयो । उभिइराखेकी मलाई आफ्नो दाहिनेपट्टि बसाउनुभयो र मममा चिल्ली सस राख्नुभयो । पिरो नखाने मान्छे तपाईं, किन यत्रो राख्नुभएको ?

तपाईंले भन्नुभयो, ‘आज धेरै जाडो छ । मज्जा आउँछ ।’

ममलाई आधा बनाएर रस राखेपछि ‘कान्छु हाम्म गल रे ।’ जहिल्यै सानी बच्चा सोच्ने के मलाई । चम्चाले माथि उठाउनुभएको ममबाट दुई थोपा रस प्लेटमै खस्यो । एउटा झिँगो तपाईंको टाउकोलाई फन्को लगाएर सिलिङमा गई बस्यो । मम खान आफ्नो मुख चम्चा नजिकै ल्याउँदा देखेँ कि पसले त मलाई नै हेरिराखेको रहेछ । लाजले मरि त गएँ ।”

उसले अघिल्लो रात देखेको भनेर आफ्नो सपना भनी र मलाई कस्तो लाग्यो सोधी । 

“विपनाको मान्छेलाई पनि सपनामा देख्नुपर्ने म अभागी छु क्या हो ?” हरेक दिन आफ्नो भाग्यबारे सोध्छे । उत्तर दिनुभन्दा बेवास्ता सजिलो लाग्थ्यो ।

मीठो, रमाइलो.. आहा ! भन्दिऊँझैँ लाग्ने । खासमा यो जवाफ दिनुपर्ने कुरा हो त ? हुँदै होइन नि । तर यति नभन्नु उसको चित्त दुखाइदिनु हो । उसको कुरालाई बेवास्ता गर्नु हो । उसले यसरी सोचि त हाल्छे ।

ऊ चर्को आवाजमा हाँसी । अक्सर एकअर्कालाई उडाएपछि हामी यसरी हाँस्थ्यौँ । आज फेरि केमा उडाइएँ सोचिरहँदा उसले भनी “कथै बल, सोझो मात्र भनेको त लट्ठु पनि । मेरो बाबा... खासमा मैले सपना देखेकै थिइनँ ।”

तपाईं सोझो हुनुहुन्छ । इमानदार हुनुहुन्छ । त्यही भएर त हो नि मलाई माया लागेको । पत्याउनु न । ऊ भन्छे ।

इमानदार बन्ने प्रयत्न त गर्छु तर सोझो नभन मलाई राम्रो लाग्दैन भनेर कत्ति भन्छु माने पो.. ।

“सो..झो मान्छे मलाई त मन पर्छ । तपाईंले सोझो छु भन्नुभएन भने म सधैँ उडाउँछु । बुझ्नुभो ?”

थाहा लाग्ने कुरा हो । ऊ जिद्दी छ । जिद्दी गरेरै भन्छे । “हराउन त संसार छ, जित्ने भनेको नै आफ्नो मान्छेलाई हो, हैन ?”
....
पेन्सिलले कोरिएका अक्षरहरू पुरानो भएपछि धमिलिँदै जान्छन् । याद गर्नुभएको छ है ? हामीबीचको सङ्कोच पनि वर्षौं अगाडि लेखिएको त्यही पेन्सिलको अक्षरझैँ छ, धमिलो । सम्भवतः मेटिइसक्यो । माइलौँ टाढा छौ, प्रेमको नामले कति नजिक हुन सकिन्छ ? त्यति भएकै छौँ त ।

ब्रह्माण्डको सम्पूर्ण आयुलाई ऊसँग जोडिएको तीन वर्ष मिसाइदिऊँ ? हुन्न, म यो समयलाई आफ्नो जिन्दगीसँग मात्र खोज्छु । जन्मपछि एउटा मान्छेको जिन्दगीमा घट्ने सबैभन्दा सुन्दर घटना के हो ? प्रेम हैन त ? यो घटनामा पालैपालो हामीले समस्त सौन्दर्यको अनुभूत गर्यौ । बिहे गर्ने भनेर हो नि सुरु भएको । यो बिर्सियौं । सम्झनाले मात्र पनि मुटु चसक्क बनाउने बेहिसाब दुःख छन हामीसँग । बिर्सिनु सुख हो । यो भोग्यौँ ।

अचानक उसको दिमागमा बिहे आएर बसेको थियो । भनी, अब त बिहे गर्नुपर्छ । तपाईं फर्किनु देश । मैले नाइँ भनिनँ । ऊ कति हतारमा थिई भने बुबासँग कुरा गरी भ्याइछ । 
भनी “मैले कुरा गरे नि ?”

“के कुरा गर्यौ ?”

“बिहेको कुरा नि, बुवासँग ।”

“बुवा मान्नुभयो त ?”

“तेरो खुसी हो । तँैले बाँच्ने हो । सजिलो अप्ठ्यारो के हुन्छ, विचार गर भन्नुभयो ।”

“अनि जात, धर्म सोध्नुभयो । मैले पनि धर्म हाम्रो जस्तै हो । उसलाई त्यति वास्ता रहेनछ । ऊ मान्दैन रे । जात चैँ क्षेत्री हो भनिदिएँ ...। 

फोन सुलभ हुन थालेदेखि साथीहरुको संसार बेग्लै हुन थालेको बेलाको कुरा हो । प्रेम भएको र छुटेको । सम्झनाले छटपटाएको र भेटले आनन्दित भएको किस्सा म सुन्थेँ । पछि त फेसबुक सेसबुकले झन् सजिलो भयो । म त कोही केटासँग बोलिनँ । मनमनमा यस्ता कुरा त आउँथे तर कसलाई सुनाउनु ? लाजले मर्न खोज्थेँ । तपाईंसँग चाहिँ कसरी बोले होला ? म छक्क पर्छु । जब यो कुरा बुवासँग गर्न लागेँ, बलै नभएको जस्तो भएर आयो । जाडोमाझैँ लुगलुग काम्न थालेँ । डरले... ! झन् जातको कुराले बुवा अवाक् हुनुभएझैँ लाग्यो ? अनुहार कस्तो अँध्यारो बनाउनुभएको ? बसेको ठाउँमा ज्यान यताउता हल्लाउन पो थाल्नुभयो । बुवा छटपटाउनुभएको हो ? मैले बुझ्नै सकिनँ ।”

हामी भेटेका  थिएनौँ । भौतिक उपस्थितिको कल्पना त गथ्र्यौ तर मरिहत्ते थिएन । भिडियोमा घण्टौँ बोलेर हामी दूरीलाई निमिट्यान्न मेट्थ्यौँ । भर्चुअल संसारले भूगोलको दूरी घटाएको थियो । हामी एकअर्काको साथमा हुँदा जीवन सहज हुन्छ । यो हामीले गरेको विश्वास हो । बस् अब बिहेको नाममा हामीलाई पारिवारिक, सामाजिक मान्यताको जरुरी थियो ।

अमान्य कुरा पनि होला भनेर यो मेरो सोचमा थिएन । उसको सोचमा ? म जान्दिनँ ।

एक दिन बुवा पहिले जस्तो नबोल्ने बताइन् ।

“मैले बोलाउँदा पनि झर्किनुहुन्छ ।”
“एक दिन सोधे बुवा सन्चो छैन कि ? जवाफमा उनले मर्नेबेला भको छैन छोरी भने । अझ भने मर्ने नै भएँ तेरो चिन्ताले बाँच्दिनँ । यस्तो रुखो  बोल्न थाल्नुभएको छ ।”
“मलाई बुवा सामुन्ने उभिन गाह्रो हुन्छ । कुनै बेला आँखा जुध्दा देख्छु, कति घृणाले हेर्नुभएको ?”
“आमासँग भन्नुहुन्छ रे । छोरीले हाम्रो मार्यादा राखिन । संस्कारको ख्याल आएन उसलाई । रीति भन्ने पनि हुन्छ होला तर त्यसले सोचिन । धर्मलाई बेवास्ता गर्छ केटो जात मिल्दैन, कसरी जितिछ यसले मलाई । जोरीपारीलाई दिने जवाफ चाहिएन ? टाउको चड्किन्छ, नसाहरू भलक भलक उम्लिन्छन्, त्यसलाई मेरो सामुन्ने नदेखिन भन् ।”
उनके बुवा पढालेखा मान्छे होइनन् । नपढेको मान्छेको मन कतै न कतै अँध्यारो हुन्छ । 
वर्षौंदेखि सम्बन्धलाई लिएर उत्साहित थिई ऊ । अचानक विक्षिप्तता मात्र उसको आफ्नो भएको थियो । सधैँ उदास बोल्न थाली अब ।
“बुवाको अगाडि नउभिनु रे । अब कहाँ गएर ढलौँ ? बुवाको रुचिअनुसारको सम्बन्ध सिक्ने कुन पाठशाला जाऊँ ?” एक दिन रुँदै भन्दैथिई ।

विगतमा कामबाट निस्कँदा मेसेज बक्स उसले पठाएका लब कोटेसनले भरिएको हुन्थ्यो । काम गरेर आज म कति थाकेँ ऊ जवाफ कुरेर बस्थी । एकैचोटि यो क्रम कम हुन थाल्यो । कति कम बोल्ने भएकी ? मैले फोन गरे जसोतसो उठाउँथी । उसको मन कति दुःखले भरिएको ?

“मलाई आजकल यो लाइट बाल्नै मन पर्दैन । मनमा आगो नै आगो बलिराखेझैँ लाग्छ । ओहो कस्तरी पोलेको मलाई । यो उज्यालो छ नि.. म जलिरहेको आगोको लप्का होइन ? आज यत्ति बोलौँ न है ?”

कति कमजोर भएकी ? माया सजिलो संसार होइन, महान भनिएका केही प्रेम कथाहरुको उदाहरण दिन खोज्छु । ऊ सुन्न खोज्दिन ।

एक दिन भनी, “सबै गुमाएर पाएको मायाले मलाई सुख दिँदैन । कतै उजाड बनाएर कतै हरियो, बाँचेको माया मेरो होइन ।”

ऊ रोइरहेकी छ । उसलाई समाल्दा पनि मेरो आफ्नै गला अवरुद्ध भइराखेको छ । उसले पुनः बोल्दै भनी, “मेरो विश्वास झुटो हो । सपनाहरु झुटा हुन् । मैले मानेको भगवान झेली हो । म मन्दिर जान्न अब । देउता पुज्दिनँ । एउटा कुरा भन्छु नरिसाउनु है ?”

“हस्,” अरू केही भन्न सकिनँ ।

“मैले आफैले आफैलाई धोका दिएकी हुँ । आफ्नै विश्वास तोडिकी हुँ । धोका दिई नभन्नु है ?”

जीवन एक सम्बन्ध मात्र कहाँ हो र ? एउटा प्रेमले असरल्ल रहरहरू सम्हालिन्छन् ? एउटा घटनाले मात्र जिउँदो र चलायमान हुन सम्भव छ त ? सजीव मान्छेका लागि अनेकौँ घटना घटन जरुरी छ नि हैन ?

सम्बन्धको गणितमा माइनस र प्लसको सोझो हिसाब कहाँ बस्छ र ?

ऊ छुट्दै छे ?

मुटुको कोमलता अररो अररो हुँदै पत्थरजस्तो हुँदै गयो ।

उसले भनेकी धोकाको अर्थ ‘अब छुटौँ है त’ हो नि हैन ?

बिहेका लागि हामीले प्रेम गर्यौं । प्रेमलाई सम्बन्ध भन्यौँ पनि । हामीले झुट बोलिराखेको थिएनौँ ? खासमा प्रेम सम्बन्ध परीक्षण गर्ने ‘प्रयोगशाला’ रहेछ ।


 

कमेन्ट

  1. April 11, 2019, 9:25 a.m. काँचुली - नवलपुर
    राम्रो कथा ! थोरै पात्र, सामान्य कथा बस्तु तर मायाको गहिरो चिरफार ! keep it up bro
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...