संघीय संसदको सिको गर्दै प्रदेश २, प्रत्येक निर्वाचित तथा समानुपातिक सांसदलाई एक करोड
काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट व्यवस्थापनमा प्रदेश नम्बर २ ले संघीय संसदको सिको गरेको छ ।
कुल ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ अनुमानित आय व्ययसहितको बजेट ल्याएको २ नम्बर प्रदेश सरकारले केन्द्रीय सरकारलाई पछ्याउँदै प्रदेश सांसदहरुलाई जनही रु एक करोड बाँडेको हो ।
प्रदेश सरकारले निर्वाचित एवंम् समानुपातिक प्रदेशसभा सदस्य विकास कार्यक्रम शीर्षक अन्तर्गत रु २ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ ।
यसका साथै प्रदेश २ ले प्रत्येक निर्वाचन क्षेत्रको विकासमा रु २ करोड समेत विनियोजन गरेको छ ।
यता केन्द्रीय सरकारले आगामी आर्थिक वर्षका लागि प्रत्येक निर्वाचन क्षेत्र तथा सांसदलाई जनही ६ करोड बजेट छुट्याएको छ ।
समग्र प्रदेशको कृषि र उद्योगलाई प्राथमिकता दिँदै झण्डै ३९ अर्ब हाराहारीको बजेट ल्याएको प्रदेश २ ले चालूतर्फ १९ अर्ब २६ करोड १ लाख ९७ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ ।
यता वित्तीय व्यवस्थातर्फ प्रदेश सरकारले २० करोड छुट्याइएको छ ।
स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार विकास, पर्यटन, खानेपानी, सिँचाइ, नदी नियन्त्रण, वन तथा वातावरण संरक्षण, संघीयता कार्यान्वयन र सुशासनका क्षेत्रहरु समेत प्रदेश २ को उच्च प्राथमिकतामा परेका छन् ।