स्मिता दाहालको नयाँ गीत ‘जालैमा पार्छु’
काठमाडौं– बालगायिका स्मिता दाहालको स्वर रहेको गीत ‘जालैमा पार्छु’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजनासहित गीत सार्वजनिक गरिएको हो । गीतमा स्मितालाई गायनमा आशिष अविरलले साथ दिएका छन् भने शब्द एकनारायण भण्डारीको रहेको र संगीत आशिषले नै दिएका छन् । गीतको भिडियोमा भने अभिनेत्री आँचल शर्मा र विजु पार्कीसँगै स्मिता पनि देखिएकी छिन् ।
कार्यक्रममा खानेपानी मन्त्री विना मगरले गीतको सफलताको लागि शुभकामना दिइन् । ‘हाम्रो परिवारको सबै राजनीतिमै छौ । स्मिताले छुटै बाटो रोजेकी छिन्’ नातामा माइजु पर्ने मन्त्री मगरले भनिन् ‘उनले निकै मेहनत गरिरहेकी छिन् । सफलता मिल्नेमा दुइमत छैन ।’
भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पनि स्मिताले विस्तारै सफलता हाँसिल गर्दै गएको बताइन् । गायक रामकृष्ण ढकाल, जितु नेपाल लगायतले स्मिताल धेरै अगाडी बढ्ने विश्वास व्यक्त गरे ।
सबैको माया र हौसला पाएकी स्मिताले आफु सिक्ने क्रममा रहेको बताइन् ।