शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के थियो १९७४ एडीलाई एक गराउने त्यो ‘श्री’ संयोग ?

दुर्भाग्यपूर्ण त्यो ‘खतरा’ योजना जसले १९७४ एडीको सौभाग्यले पुनर्मिलन गरायो
आइतबार, ०५ साउन २०७६, १४ : १६
आइतबार, ०५ साउन २०७६

कुरा सन् २००८ तिरको हो । त्यो दिन अरु दिनजस्तै सामान्य नै थियो । त्यही भएर ठ्याक्कै मिति पनि याद छैन । तर, त्यही एक दिनले नेपालकै सबैभन्दा लोकप्रिय सांगीतिक समूहको भविष्य निर्धारण गर्दै थियो ।

त्यो दिन १९७४ एडी ब्याण्डका ड्रमर एवम् पर्कसनिष्ट सञ्जय श्रेष्ठले ब्याण्डका सदस्यहरुलाई आफ्नो घरमा डिनरका लागि आमन्त्रण गरेका थिए । ब्यान्डका सदस्यहरु एकै ठाउँ भएकाले माहौल रमाइलो थियो । तर, त्यो रमाइलो धेरै बेर टिक्न सकेन ।

‘ल केटा हो, म चाँहि अब अमेरिका जान्छु । तपाईंहरुले के गर्नुपर्छ गर्नुस्,’ भोकलिस्ट तथा गितारिस्ट फिरोज स्याङ्देन एकाएक सबैलाई ‘सक्ड’ बनाए ।

श्रेष्ठ त्यो दिन फिरोजले भनेको कुरा सम्झँदै भन्छन्, ‘एकछिन अगाडिसम्म मन पुलकित थियो, एकैछिनपछि भारी बन्यो ।’

यता, फिरोजले जीवनको नयाँ यात्रा थालनी गर्ने निर्णय लिइसकेका थिए ।

२५ वर्षअघि आफैले जन्माएको ब्यान्डलाई चर्चाको उत्कर्षमा रहेका बेला छाडेर बिरानो देशमा जानु फिरोजका लागि पनि कहाँ सजिलो थियो र ?

सञ्जयलगायत ब्यान्डका अन्य सदस्यहरुले फिरोजको बाध्यता बुझेका थिए । लामो समयको साथ जो थियो उनीहरुको । उनीहरुले पनि फिरोजलाई रोक्न चाहेनन् ।

फिरोजले पनि उतैबाट गीत पठाइदिने र ब्यान्डका लागि आफू सधैँ उपलब्ध हुने वाचा गरे ।

तैपनि त्यति लामो समय साथ बिताएको आफ्नो मनपरेको मान्छेलाई ‘गुडबाई’ भन्न सजिलो कहाँ हुन्छ र ? सञ्जयले बिदाईको त्यो पलमा भनेका थिए, ‘फिरोज दा, विस यु अल द बेस्ट । तपाईंहरुले बनाउनुभएको यो घरको ढोका तपाईंका लागि सदा खुल्ला रहनेछ ।’

फिरोज त परदेश लागे । यहाँ नेपालमा भने ब्यान्डका अन्य सदस्यहरु अब के गर्ने भन्नेमा अन्यौलमा थिए । ब्यान्डलाई निरन्तरता दिने कि अब पूर्णविराम लगाउने भन्ने विषयमा ब्यान्डका बाँकी सदस्यबीच विभिन्न चरणमा कुराकानी पनि भयो ।

तर, ब्यान्डको नेपालमा यति धेरै प्रशंसक छन्, उनीहरुका लागि भए पनि ब्यान्डलाई ‘ब्रेक’ हुन दिनुहुँदैन भनेर बाँकी चारजना (निराकार याक्थुम्बा, एड्रियन प्रधान, मनोज केसी र सञ्जय श्रेष्ठ) मिलेर ब्यान्डलाई अघि बढाउने निधो गरे ।

*****

‘स्याचुरेसन पोइन्ट’लाई बुझाउँदै उनी भन्छन्, ‘हामीमा सँगै अभ्यास गर्ने जाँगर थिएन, नयाँ सृजनाका लागि जोश पनि थिएन । एउटा ठाउँमा कन्सर्ट गर्यो । बजायो, पैसा लियो । हामी यत्तिमा नै सिमित भएका थियौं । हामी सबैलाई महसुस भइरहेको थियो कि हामी ब्यान्डलाई जबरजस्ती अगाडि बढाउन खोजिरहेका छौँ ।’

*****

‘आखिर फिरोज दाइ पनि ब्यान्डमा पछि आइहाल्नुहुन्छ नि भन्ने सोचेका थियौँ,’ सञ्जयले भने । 

फिरोजले छाडेर गए पनि केही वर्ष ब्यान्ड राम्रैसँग अघि बढ्यो । विभिन्न कार्यक्रममा ब्यान्डले प्रस्तुति दिइनै रह्यो ।

सन् २०१० मा ब्यान्डले नयाँ एल्बम पनि निकाल्यो – ८ः१८ । उक्त एल्बममा ब्यान्डका चार जनाबाहेक मनोज सिंहले पनि बाँसुरीको धुन दिएका थिए ।

तर, समय एकै नासले कहाँ अघि बढ्छ र ?

चार जनाले जसो तसो ब्यान्डलाई जीवित राखिरहेका थिए, तर विस्तारै आत्मा भने मरिरहेको थियो । ब्यान्ड अस्तित्वमा त थियो, तर अघि बढिरहेको थिएन । सञ्जयका अनुसार एक समय पुगेपछि ब्यान्डमा ‘स्याचुरेसन प्वाइन्ट’ आयो ।

‘स्याचुरेसन पोइन्ट’लाई बुझाउँदै उनी भन्छन्, ‘हामीमा सँगै अभ्यास गर्ने जाँगर थिएन, नयाँ सृजनाका लागि जोश पनि थिएन । एउटा ठाउँमा कन्सर्ट गर्यो । बजायो, पैसा लियो । हामी यत्तिमा नै सिमित भएका थियौं । हामी सबैलाई महसुस भइरहेको थियो कि हामी ब्यान्डलाई जबरजस्ती अगाडि बढाउन खोजिरहेका छौँ ।’

अब ब्यान्डबाट बिदा हुने पालो थियो एड्रियनको  ।

सायद सञ्जयले झैँ एड्रियनले पनि ब्यान्ड ‘स्याचुरेशन पोइन्ट’मा पुगेको महसुस गरे । र, अब आफ्नो सोलो करियरमा ध्यान दिन्छु भन्दै ब्यान्डबाट केही समयका लागि भन्दै बिदा लिए ।

एड्रियनले एकल गीतहरु रिलिज गरेपछि र आफ्नै समूहसँग कन्सर्टमा देखिन थालेपछि बजारमा हल्ला चल्न थाल्यो – १९७४ एडी अब सकियो । ब्यान्ड टुक्रिएको भन्दै थुप्रै अनलाइन र ब्लगमा समाचार छ्याप्छ्याप्ती आउन थाले ।

हुन पनि अब ब्यान्डमा तीनजना मात्र बाँकी थिए – निराकर, मनोज र सञ्जय । उनीहरु निराश थिए तर हारेका थिएनन् । ब्यान्डलाई अगाडि बढाउनै पर्छ भन्ने सोच उनीहरुबाट बिलिन भएको थिएन । उनीहरुले निधो गरे – अब नयाँ ढङ्गले अघि बढ्नुपर्छ । सोही मनसायसहित ब्यान्डमा रोहित जोन क्षेत्री, प्रज्जवल मुखियालगायतका नयाँ सदस्य भित्र्याए र नाम दिए १९७४ एडी – द न्यू लाइन अप ।

द न्यू लाइन अपसँग ब्यान्ड पुनः सक्रियो बन्यो । दुई वर्ष काम पनि गर्यो । यो अवधिमा उनीरुले विभिन्न कन्सर्टहरु गरे । ‘हजार सपना’ नामको एल्बम पनि निकाले ।

द न्यू लाइन अपसँगको सहयात्रा

द न्यू लाइन अपबारे १९८७४ एडीका समर्थकहरुको मिश्रित प्रतिक्रिया थियो । यसलाई रुचाउने र आलोचना गर्ने उत्तिकै थिए । सञ्जयका अनुसार उनीहरु यसका लागि पहिले नै तयार थिए । उनले भने, ‘हामी जुनसुकै टिकाटिप्पणीलाई पनि स्विकार्छौं भनेर नै अघि बढेका थियौँ ।’

उनी आफै पनि स्वीकार गर्छन्, ब्यान्डको नयाँ ढाँचाले पुरानो ब्यान्डको मौलिकता र पहिचानलाई बिर्सेको आरोप केही हदसम्म सही थियो । उनी भन्छन्, ‘यो कुरामा वास्तविकता पनि थियो । ब्यान्डमा दुईवटा ‘भ्वाइस’ नै पृथक थियो । यस्तो अवस्थामा पहिलाको १९७४ एडी जस्तो थियो त्यो  नयाँ आवाजसँग पक्कै पनि हुँदै हुँदैन नि । आवाज फरक भइसक्यो, मान्छे फरक भइसक्यो । यति भएपछि तत्त्व नै फरक भयो नि त ।’

न्यू लाइन अपसँग कतिपय ठाउँमा कन्सर्ट गर्न जाँदा ‘एड्रिन’, ‘फिरोज’ भनेर हुटिङहरु पनि आउँथ्यो,’ उनले भने, ‘कसैले गाली गर्दा मन ‘चस्स’ बिझ्थ्यो ।’

तर नकारात्मक कुरालाई आफूमाथि हावी हुन नदिएर, मात्र संगीतका लागि आफूहरुले ब्यान्डलाई अघि बढाएको सञ्जय बताउँछन् । 

ठूलो ‘रियलाइजेशन’

१९७४ एडी स्थापना भएकै २५ वर्ष बढी भइसकेको छ । ड्रमर एवम् पर्कसनिष्टको रुपमा सञ्जय ब्यान्डमा आबद्ध भएकै लगभग २० वर्ष हुनलाग्यो । सञ्जयलाई ब्यान्डको लामो इतिहास पल्टाएर हेर्दा आफूहरुले धेरै नयाँ ब्यान्डका लागि मार्ग प्रशस्त गरेको महसुस हुन्छ ।

‘नेपालबाट अमेरिका टुर गर्ने पहिलो नेपाली ब्यान्ड १९७४ एडी नै थियो । रङ्गशाला भर्ने नेपाली ब्यान्ड हामी नै थियौँ, त्यति ठूलो ठाउँ भरिएला भनेर हाम्रो कल्पना बाहिरको कुरा थियो,’ यति भनिराख्दा सञ्जयको आवाजमा गर्व मिसिएको थियो, आँखामा छुट्टै चमक थियो । 

नयाँ लाइन अपसँग अघि बढिरहँदा सञ्जयलाई मनको कुनै कुनामा सानो भए पनि ‘ग्लानी’ थियो । ‘एकजुट नहुँदा यति माथिसम्म उठेको र आफ्नै एउटा पहिचान बोकेको ब्यान्ड यत्तिकै थन्किँदैछ’ भन्ने उनलाई भित्रैबाट महसुस हुन थालेको थियो ।

केही कुराको महत्त्व त्यो आफूसँग नभएपछि बुझिन्छ नि ।  १९७४ एडीको वास्तविक महत्त्व त्यतिबेला नै थाहा भएको सञ्जयले बताए ।

‘मलाई पहिला देखि नै १९७४ एडी एकदमै राम्रो ब्यान्ड हो । धेरैले माया गर्ने नेपालको ठूलो ब्यान्ड हो भन्ने राम्रोसँग थाहा थियो, उनी भन्छन्, ‘जब त्यही ब्यान्ड सँगै भएन, सँगै बजाउन छाड्यो । अनि झन् धेरै मिस हुन थाल्यो,’ उनले प्रष्ट्याए ।

सञ्जयले आफ्नो ब्यान्ड एउटा ब्यान्डमात्र नभई परिवारजस्तो भएको बुझे । परिवारमा सानोतिनो मनमुटाव हुने, सँगै हिँड्दा, धेरै समयसम्म सहकार्य गर्दा एकजनाको कुरा अर्कोलाई चित्त नबुझ्ने पनि उनले राम्रोसँग मनन गरे । र, यस्ता स–साना कुरालाई बिर्सेर के कुरा महत्त्वपूर्ण हो, त्यतातिर लाग्नुपर्ने ठूलो पाठ सिके ।

तस्विर : मनोज कुमार केसीको फेसबुक

अनि पुनर्मिलन

ब्यान्ड छाडेका र ब्यान्डमा रहेका सबैले आ–आफ्नै स्तरमा संगीत क्षेत्रमा नै काम गरिरहेका थिए, सञ्जयलगायतले न्यू लाइन अपसँग, एड्रियन प्रधानले एकल, फिरोज स्याङ्देनले अमेरिकामा ।

तर यो अवधिमा १९७४ एडी भनेको त्यही पुरानै १९७४ एडी नै हो रहेछ भनेर सबैले महसुस गरिसकेका रहेछन् । सबैलाई त्यही पुरानो ब्यान्ड मिस भइरहेको सञ्जयले बताए । उनी भन्छन्, ‘ज–जसले जे गरेपनि भित्रीरुपमा यो कुरा चाँहि सबैलाई खट्किएको रहेछ । मात्र परिस्थिती र कुरा नमिलेर मात्रै हामी अलग्गिएका रहेछौँ ।’

एकपटक कुनै एउटा मिटिङमा एड्रियन र निराकार दाइको भेट भएको रहेछ । त्यहाँ उहाँहरुबीच ‘यत्रो भइसक्यो, बरु रियुनाइट हुने हो कि’ भनेर सानो सल्लाह भएको रहेछ । तर त्यतिबेला यो कुरा खासै अघि बढेन ।

खासमा १९७४ एडीका प्रशंसक, शुभचिन्तकहरुको पुनर्मिलन हुनुपर्यो भनेर मेसेज बारम्बार आइरहन्थ्यो । युट्युबमा कमेन्टहरु हेरेको बेला पनि धेरैले ‘रियुनाइट’ हुनुपर्ने सल्लाह दिने गरेका थिए । यसले पनि पुनर्मिलनको कुरा सबैको मनमा परेको थियो

तर एउटा घटना ब्यान्डलाई एक गराउने ‘टर्निङ पोइन्ट’ को रुपमा साबित भयो ।

उक्त घटनालाई याद गर्दै सञ्जयले भने, ‘मार्च तिरको कुरा हो, ‘पार्टी नेपालका श्री गुरुङ नाम भएका एकजना भाइले आफूसँग खतरा प्रोजेक्ट भएको तर उक्त प्रोजेक्टमा आफूलाई १९७४ एडी ओरिजिनल नै चाहिने बताए ।’

‘के हो त, बुझौँ न त भनेर उसलाई बखुण्डोलस्थित आफ्नो क्याफे एवम् अफिस म्युजिकोलोजीमा बोलाएँ । निराकार, मनोजलगायत बसेर छलफल गर्यौँ,’ सञ्जय भन्छन् ।

उनीहरुलाई प्रोजेक्ट राम्रो लाग्यो । यसबारे कुरा भइरहेकै थियो । अर्को महिना एप्रिलमा जोन मेयरको कन्सर्ट हेर्न सञ्जय र निराकार थाइल्याण्ड गए । उनी थाई एयरमा थिए भने निराकारको परिवार र एड्रिनको परिवार अर्को फ्लाइटमा सँगै परेका रहेछन् ।

फ्लाइटमा भएको संक्षिप्त जम्काभेटमा त्यो प्रोजेक्टको बारेमा पनि संक्षिप्त कुराकानी भएछ । बैङ्ककमा पनि भेट्ने चाहना भएपनि टाढा बसेकाले र समय छोटो भएकाले उनीहरुबीच भेट हुन पाएन । त्यसैले काठमाडौँ फर्किएपछि भेट्ने योजना तय भयो ।

त्यसपछि एड्रियन र निराकारले उक्त ‘खतरा’ प्रोजेक्टबारे कुरा गर्न भेटे । उनीहरु दुईजनाको कुरा मिल्यो । त्यसको भोलिपल्ट एड्रियन, निराकार, सञ्जय र मनोज बसेर फिरोजलाई अमेरिकामा स्काइपमार्फत् फोन गरे ।

*****

संगीत वा भनौँ समग्र १९७८ एडी भनेको उनीहरुको जीवनको महत्त्वपूर्ण अंग हो, यो बिना उनीहरु बाँच्नै सक्दैनन् । ‘हामीहरुको सम्बन्ध नङ र मासुको जस्तो भइसक्यो, छुटिनै सक्दैनौँ क्या ! जस्ट टु किप आवर लाइफ सेन, हामीले संगीत गरेका हौँ ,’ सञ्जय भन्छन् ।

*****

त्यो कुराकानी निकै लामो भयो । आखिर छुट्टिएको पनि लामै भएको थियो । अन्ततः फिरोज पनि पुनर्मिलनका लागि तयार भए । अब के गर्ने, कसरी गर्ने भनेर त्यसपछि थुप्रै चरणमा कुराकानी र भेटघाट हुनथाल्यो ।

दुर्भाग्यवश, जुन प्रोजेक्टका लागि १९७४ एडीको पुनर्मिलन हुनुपर्ने माग गरिएको थियो त्यो प्रोजेक्ट भने सफल हुन सकेन । तर त्यो दुर्भाग्य नै सौभाग्यमा परिणत भयो । अन्ततः दुई महिनासम्मको कुराकानी पश्चात् ब्यान्डको पुनर्मिलन भयो ।

पहिलाका नकारात्मक कुरालाई बिर्सिएर उनीहरु एक भएर अघि बढ्न तयार भए । ‘यसको कारण एउटै छ – ‘बिकज दे लभ प्लेइङ म्युजिक,’ सञ्जय गर्वका साथ भन्छन् ।

तस्विर : मनोज कुमार केसीको फेसबुक

संगीत वा भनौँ समग्र १९७८ एडी भनेको उनीहरुको जीवनको महत्त्वपूर्ण अंग हो, यो बिना उनीहरु बाँच्नै सक्दैनन् । ‘हामीहरुको सम्बन्ध नङ र मासुको जस्तो भइसक्यो, छुटिनै सक्दैनौँ क्या ! जस्ट टु किप आवर लाइफ सेन, हामीले संगीत गरेका हौँ ,’ सञ्जय भन्छन् ।

पुनर्मिलनपछि आनन्दित

ब्यान्ड पुनर्मिलन भएकोमा सञ्जय निकै फुरुङ्ग छन् । उनको मन आनन्दित छ ।  ‘१९७४ एडीसँग स्टेजमा बसेर बजाउन थाल्दा मलाई एक प्रकारको छुट्टै आनन्द दिन्छ,’ उनी बताउँछन् । कन्सर्टमा आफूले जन्माएको आवाज जब गुञ्जिन थाल्छ त्यो नै उनलाई सबैभन्दा मनपर्ने कुरा हो ।

मानिसहरुले शान्ति खोज्न ध्यान गर्छन् । तर, उनलाई चाँहि साउन्ड मिलेको, स्टेजको वातावरण मिलेको, अडियन्सले तारिफ गरेको वातावरणमा संगीत बजाउन पाउँदाको क्षणमा नै सबैभन्दा बढी शान्ति मिल्छ । उनको लागि त्यो नै सबैभन्दा प्रिय पल हो ।

तर लामो समयका लागि बाहिर कन्सर्टमा जानु पर्दा चाँही उनलाई ‘होम सिक’ हुन्छ । घर, छोरी र परिवार छोडेर लामो समयसम्म बाहिर बस्नुपर्ने समय उनको लागि ‘ब्याड मोमेन्ट’ हो ।

ब्यान्डको भावी योजना

अब फिरोज आगामी सेप्टेम्बरमा नेपाल आउँदैछन् । यसबीचमा उनीहरुले नयाँ गीतहरु बनाउन सुरु गरिसकेका छन् । सुरुमा ब्यान्डले काठमाडौँ र त्यसपछि नेपालका एक दुईवटा ठूला शहरमा कम ब्याक कन्सर्ट गर्नेछन् ।

यो वर्षको अन्त्यसम्ममा एउटा एल्बम निकाल्ने उनीहरुको योजना छ ।

‘वान्स अ १९७४ एडी इज अल्वेज अ १९७४ एडी’

सञ्जय भन्छन्, ‘वान्स अ १९७४ एडी इज अल्वेज अ १९७४ एडी’ । (एक पटक १९७४ एडी भएपछि ऊ सँधै १९७४ हुन्छ ।) अहिले  द न्यू लाइन अप सँगसँगै काम नगरेपनि दुई तीन वर्षसम्म १९७४ एडीलाई ज्युँदो राख्न रोहित, प्रज्जवल मुखियालगायतले जुन मेहनत गरे त्यसका लागि ब्यान्ड उनीहरुप्रति निकै आभारी छ ।’

सबैजना निकै प्रतिभावान संगीतकार भएकाले उनीहरुले जीवनमा धेरै नै प्रगति गर्नेबारे आफूलाई कुनै शंका नभएको सञ्जय बताउँछन् ।

रोचक कुरा, पुनर्मिलनको कुरामा रोहित निकै खुसी थिए । ‘रोहित पनि १९७४ एडी सुनेर हुर्केको मान्छे, ऊ पनि एकदम खुसी भयो,’ उनले भने । भविष्यमा केही चाँजोपाँजो मिलेको खण्डमा उनीहरुसँग काम गर्न पाउँदा निकै खुसी हुने कुरा राखेको उनले बताए ।

जे होस्, लामो समयसम्म नेपाली संगीतका पारखी र १९७४ एडीका फ्यानहरुले मिस गरेको संगीत पुनः एक पटक गुञ्जिने भएको छ ।

येस, द ब्वाइज आर ब्याक इन टाउन !

दे आर रेडी टु रक !!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप