मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दशक बित्दा पनि खुलेन लोकमार्गको ट्रयाक

बिहीबार, ३० साउन २०७६, १४ : ०६
बिहीबार, ३० साउन २०७६

कञ्चनपुर– कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिङ्करसम्म उत्तर–दक्षिण सडक सञ्जाल विस्तार गर्न वि.सं २०६६ मा महाकाली लोकमार्गको काम अगाडि बढाइएको थियो । चार सय २५ किलोमिटर लम्बाइको उक्त लोकमार्ग निर्माण आर्थिक वर्ष २०७३/०७४ देखि शुरु गरिए पनि  कञ्चनपुरमा भने अहिलेसम्म ट्रयाक खोल्ने कुनै सुरसार नै छैन ।

ट्रयाक खोल्ने क्रममा दार्चुला, बैतडी र डडेल्धुरासम्म केही प्रतिशत काम भएको छ तर कञ्चनपुरको ब्रह्मदेवमा तीन वर्षअघि १० किलोमिटर ट्रयाक खोल्ने सम्झौता भएकामा अहिलेसम्म काम शुरुभएकै छैन ।

‘लोकमार्गमा पर्ने चारवटै जिल्लामा ट्रयाक खोल्न तीन वर्षअघि रु ५२ करोडमा ठेक्का सम्झौता भएको थियो ।’ महाकाली लोकमार्ग दार्चुला तिङ्कर सडक आयोजनाका प्रमुख अच्युत विलास पन्तले रासससँग भने , ‘कञ्चनपुरको क्षेत्रमा पर्ने लोकमार्गमा वनको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन नआउँदा काम गर्न सकिएन ।’

गत आर्थिक वर्षमा भने लक्ष्यभन्दा भौतिक प्रगति भने बढी भएको उनले जानकारी दिए । वि.सं २०६६ देखि लोकमार्गको काम थालिए पनि विसं २०७२ सम्म खासै प्रगति भएको थिएन । पहाडी चट्टान फुटाउनका लागि विष्फोटक पदार्थको अभाव रहँदा पनि काम अघि बढाउन कठिन भएकोे उक्त आयोजनाका कर्मचारीको भनाइ थियो ।

लोकमार्गको हालसम्म १५१ किलोमिटर लामो सडकका  लागि बोलपत्र आह्वान गरिए पनि  २७४ किलोमिटर लामो सडकका लागि भने बोलपत्र हुन नसकेको आयोजना प्रमुख पन्तले बताए । कूल रु एक अर्ब ३३ करोड लागत अनुमान गरिएको लोकमार्गको काम अगाडि बढाउन चालू आर्थिक वर्षमा सङ्घीय सरकारबाट रु ३२ करोड विनियोजन भएको छ ।

‘अघिल्लो आवमा रु ३१ करोड आएको थियो’, उनले  भने, ‘ठूलो लागत भएको सो आयोजनालाई बेलैमा निकासा नहुँदा  पनि कामले तीव्रता लिन नसकेको हो ।’ कञ्चनपुरमा ट्रयाक खोल्नुपर्ने ठाउँमा चुरे पहाडका रुख पर्ने भएकाले ‘इआइए रिपोर्ट’ नआए सम्मका लागि पनि पर्खिनु परेको हो  ।

‘ब्रह्मदेव क्षेत्रमा पनि चालू आर्थिक वर्षभित्रै ट्रयाक खोल्ने काम हुन्छ’, आयोजना प्रमुख पन्तले भने, ‘दार्चुला, वैतडी र डडेल्धुराका विभिन्न भागमा नयाँ ट्रयाक खोल्ने काम धमाधम हुँदैछ ।’ दुई लेनको उक्त लोकमार्गअन्तर्गत गत आर्थिक वर्षमा दार्चुलामा आठ किलोमिटर, बैतडीमा पाँच र डडेल्धुरामा १२ किलोमिटर ट्रयाक खोल्ने काम भएको थियो । 

‘गत वर्ष दार्चुला–तिङ्कर जोड्ने २० किलोमिटर सडकमा नयाँ ट्रयाक खोेल्ने लक्ष्य राखिएको थियोँ, उनले भने, ‘तर हामी २५ किलोमिटर नयाँ ट्रयाक खोल्न सफल भएका छौँ ।’ त्यस्तै गत वर्ष नै २५ किलोमिटर सडक चौडा गर्ने लक्ष्य लिएकामा ३८ किलोमिटर सडक चौडा भएको थियो ।

उक्त आयोजना अन्तर्गत हालसम्म डडेल्धुरामा ११, दार्चुलामा ५२ र वैतडीमा ६२ किमी ट्रयाक खोलिएको छ । लोकमार्गअन्तर्गत दार्चुलामा २१२, वैतडीमा १४४, डडेल्धुरामा ५८ र कञ्चनपुरमा ११ किमी सडक निर्माण गर्नुपर्ने छ । हालसम्म खोलिएको १५१ किमी सडकको  ट्रयाकमा उक्त आयोजनाको रु ३३ करोड खर्च भइसकेको छ ।

निर्माणको जिम्मा पाएको लामा, चन्द्रा एण्ड वसन्ता जेभीले पनि कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको ‘इआइए रिपोर्ट’का कारण काममा ढिलाइ भएको जनाएको छ । चीनको सिमाना तिङ्करसम्म सडक सञ्जाल विस्तार गरी व्यापारिक नाकाका रुपमा महाकाली लोकमार्गलाई विकास गरिने विषय बेलाबखत चर्चामा आउने गरे पनि सडक निर्माणको गति सन्तोषजनक नभएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले बताए । 

‘छेउमा भारत र उत्तरमा चीनको नाकासित जोड्न सके सुदूरपश्चिमको आर्थिक समृद्धिको सेती महाकाली लोकमार्ग बन्न सक्छ’, उनले भने, ‘सुदूरपश्चिम प्रदेशकै विकाससित जोडिएको उक्त आयोजनाको काम चाँडो सक्न प्रदेश सरकारको पनि ध्यान जानुपर्छ ।’ लोकमार्गको विस्तारपछि तिङ्कर नाकालाई नेपाल, भारत र चीनको त्रिदेशीय व्यापारिक नाकाका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

‘तिङ्करलाई त्रिदेशीय नाकाका रुपमा बनाइने  राजनीतिक दलको एजेण्डाले दुई तिहाइको सरकार भएका बेला पूर्णता पाउनुपर्छ’, अध्यक्ष मल्लले भने, ‘लोकमार्ग चाँडो बनाउन निजी क्षेत्रको पनि लामो समयदेखिको माग छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप