शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा राजेन्द्र लिङ्देनदेखि प्रदीप गिरीसम्म कसले के भने ?

सोमबार, ०९ भदौ २०७६, १९ : २८
सोमबार, ०९ भदौ २०७६

काठमाडौं – नेपाली काँग्रेसले आगामी मंसिर १४ गतेको निर्वाचनलाई प्रभाव पार्ने गरि सहसचिवहरुको सरुवा गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा  काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले निर्वाचनलाई प्रभावित पार्ने गरि सरकारले सहसचिवहरुको सरुवा गर्ने काम गरेको भन्दै गम्भीर आपत्ति जनाएकी हुन् ।

श्रावण १६ गतेको मन्त्रिपरिषद् बैठकले आउदो मसिर १४ गते रिक्त रहेका ५० स्थानमा तीन तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार निर्वाचन आयोगले पनि आफ्नो तयारी सुरु गरिसकेको छ । निर्वाचनको तयारी भईरहेका बेला भदौ ४ गते सरकारले ७६ जना सहसचिवलाई सरुवा गरेको हो ।

सांसद गौतमले सहसचिवलाई वरिष्ठताको आधारमा प्रदेशको सचिव बनाएर पठाउने भनी निर्णय गरेपनि सरकारले कसैलाई काखा र कसैलाई पाखा लगाएर सरुवा गर्ने काम गरेको टिप्पणी गरिन् । 

निर्वाचन आयोगका कर्मचारीलाई सरुवा गराउने कार्यशैलीले सकारको नियतमाथि शंका उब्जाएको र निर्वाचनमाथि पनि प्रश्न उठाएको भन्दै उनले निर्वाचन आयोगका कर्मचारीको सरुवा अबिलम्ब रोक्न माग गरिन् ।

सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले सामाजिक सञ्जालमा अराजकता व्याप्त भएको, संवेदना हराएको र प्रधानमन्त्रीलाई स्वर्गवासको कामना गर्ने अपराधिक मनोवृत्ति देखिएको भन्दै त्यस्ता व्यवहार गर्नेप्रति घोर भत्र्सना गरे । उनले डेगुंको प्रकोपले मुलक नै आक्रान्त परेको भन्दै सम्पुर्ण संयन्त्र प्रयोग गरि डेंगु विरुद्ध मुलुकभर अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । 
सुरेश वाग्ले क्यान्सर अस्पताल शिघ्र निर्माण गर्ने व्यवस्था मिलाउन पनि उनले माग गरे ।

नेकपाका सांसद हृदयेश त्रिपाठीले नेपाल राष्ट्र बैकको प्रभावकारी नियमन नभएका कारण बैकहरुमाथि सर्वसाधरणको विश्वास गुम्दै गएको बताए । उनले बैकहरुले राम्रो धितोलाई जसरी पनि हात पार्ने र ऋण लगानी गरेर चर्को व्याज असुल गरि सर्वसाधरणदाई मारमा पार्ने गरेको बताए । विगतमा बैकिङ कसूरको आरोप लागेका व्यक्ति तीनवटा बैकका सिईओ भएको दाबी पनि उनले गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद  लिङ्देनले एक जना सांसदले ‘भारतले चाह्यो भने सकेको दिन नेपाललाई सिक्किम बनाउँछ या भुटान बनाउँछ’ भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसबारे थप स्पष्ट पारिनुपर्ने धारणा राखे । उनले यसबारेमा सरकारको पनि ध्यानाकर्षण गराए । 

केही दिनअघि काँग्रेसका सांसद प्रदीप गिरिले संसदीय समितिको बैठकमा नेपाल कुटनीति क्षेत्रमा असफल भएको भन्दै ‘भारतले चाह्यो भने सकेको दिन नेपाललाई सिक्किम या भुटान बनाउँछ’ भन्ने अभिव्यक्ति दिए थिए ।

सांसद लिङ्देनले पुर्व प्रधानमन्त्रीहरु तथा वर्तमान सरकारका उपप्रधानमन्त्री भारतीय विदेशमन्त्रीलाई भेट्न होटलमा जाने कुराले नेपाल र नेपालीको स्वभिमानमाथि प्रश्न उठाउने काम गरको भन्दै गम्भीर आपत्ति जनाए ।

काँग्रेसका सांसद प्रदीप गिरीले गलत कुटनीतिक समझदारीका कारण नेपालको भविश्य चिन्ताजनक अवस्थामा पुग्ने भन्दै कुटनीतिप्रति सही बुझाई राख्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराए । उनले समय, परिस्थिति र दुवै देशका सरकार बदलिएको अवस्थामा पनि दुई वर्षको तोते बालकले भाषा सिके जस्तो गरि कालापानी, लिपुलेक, सुस्ता र १९५० को सन्धिको पुनरावलोकन भन्ने शब्द दोहोर्याउने काम भएको टिप्पणी गरे । उनले नेपाल भारत संयुक्त आयोगको बैठकको उपलब्धि बारे परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संसदलाई दिएको जानकारी र मन्त्रालयले निकालेको प्रेश विज्ञप्ती मेल नखाएको भन्दै त्यसतर्फ मन्त्रीको ध्यानाकर्षण गराए ।

उनले भने,‘कुटनीतिको गलत समझदारी छ । यस्तै कुटनीतिलाई नबुझिकन तपाईले राजनीति र प्रचारमा मिसाउनुभयो भने नेपालको भाग्य पशुपतिनाथको हातमा छ ।’

उनले कुनै पनि राष्ट्रले आफ्ना कानुनी अधिकारलाई वास्तविक शक्ति सम्झन नहुनेतर्फ पनि सचेत गराए ।  उनले भने, ‘भाषण गर्दा, बोल्दा , कालापानी दोहोर्याउदा, चुनाबमा बोल्न ठिक हुन्छ तर सही अर्थमा कालापानी लिनु छ भने र १९५० को सन्धि फर्काउने हो भने कुटनीतिक पहल गर्नुपर्छ ।’

बलभद्र थापा र अमरसिंह थापाले बन्दुक बोकेर युद्ध गरेको जस्तो समय नभएको भन्दै उनले सघन संवादको कुटनीतिमा ध्यान दिन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप