बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
cover-story
चेन्नई

एम. ए. चिदम्बरम स्टेडियम

मुथैया एनामलाई चिदम्बरम स्टेडियमलाई चेपुक स्टेडियमको नामले पनि चिनिन्छ । यो क्रिकेट स्टेडियम तमिलनाडुको चेन्नईमा रहेको छ । यो एक सय वर्षभन्दा पुरानो क्रिकेट स्टेडियम हो । यो स्टेडियमको निर्माण सन् १९१६ मा गरिएको हो । 

यो भारतको तेस्रो सबैभन्दा पुरानो क्रिकेट रंगशाला हो । भारतको सबैभन्दा पुरानो क्रिकेट स्टेडियम भने कोलकातास्थित इडेन गार्डेन्स हो । यो क्रिकेट रंगशालालाई पहिले मद्रास क्रिकेट स्टेडियमको नामले सम्बोधन गरिन्थ्यो ।  पछि स्टेडियमको नाम परिवर्तन गरेर एम. ए. चिदम्बरम स्टेडियम राखिएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पूर्वअध्यक्ष एम. ए. चिदम्बरम चेट्टियरको सम्मानमा यो स्टेडियमको नाम राखिएको हो ।  यो क्रिकेट स्टेडियम तमिल नाडु क्रिकेट टोलीको घरेलु मैदान पनि हो । इन्डियन प्रिमियर लिग क्लब चेन्नई सुपर किङ्सले पनि यो स्टेडियमलाई आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गर्छ । यो स्टेडियमको दर्शक क्षमता ५० हजार रहेको छ । 

यो रंगशालामा सन् १९३४ को फेब्रुअरी १० तारिखमा पहिलो टेस्ट क्रिकेट खेलिएको थियो । उक्त टेस्ट भारत र इङ्ल्यान्डबीच खेलिएको थियो । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल भने सन् १९८७ को अक्टोबर ९ मा खेलिएको थियो । उक्त खेल भारत र अस्ट्रेलियाबिच खेलिएको थियो । यो स्टेडियममा अन्तिम एकदिवसीय खेल पनि यसै वर्षको मार्चमा भारत र अस्ट्रेलियाबिच नै खेलिएको थियो । यसैगरी यो रंगशालामा सन् २०१२ को सेप्टेम्बर ११ मा भारत र न्युजिल्यान्डबीच पहिलो टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको थियो । सन् २०१८ को नोभेम्बर ११ पछि भने यो स्टेडियममा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छैन । 

यसैगरी यो स्टेडियममा सन् १९३६ मा पहिलो पटक रणजी ट्रफी पनि खेलिएको थियो । यो स्टेडियममा आगामी विश्वकपको पाँचवटा खेल खेलाइने कार्यक्रम रहेको छ । सन् २०१० मा एक अर्ब ७५ करोड भारतीय रुपैयाँ खर्च गरेर यो स्टेडियमको पुनःनिर्माण गरिएको थियो । 

त्यसपछि पनि यो स्टेडियममा विभिन्न सुविधा थपिँदै आएको छ । यो क्रिकेट स्टेडियम सात लाख ५२ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । यो रंगशाला तमिलनाडु राज्य सरकारले तमिलनाडु क्रिकेट एसोसिएसनलाई सन् २०३६ सम्मका लागि लिजमा दिएको छ । यसअघि भारतले तीनपटक एकदिवसीय विश्वकप आयोजना गर्दा यो रंगशालामा सातवटा खेल खेलाइएको थियो । सन् १९९७ मा एकदिवसीय महिला विश्वकपको सेमिफाइनल खेल पनि यो स्टेडियममा खेलाइएको थियो । 

यो स्टेडियममा हालसम्म भारतले १३ वटा एकदिवसीय खेल खेल्दै सातवटामा जित हासिल गरेको छ । पाँचवटा एकदिवसीय खेल खेलेको अस्ट्रेलियाले चारवटामा जित हात पारेको छ । तीनवटा खेल खेलेको इङ्ल्यान्डले दुईवटामा सफलता हात पारेको छ । दुई खेल खेलेको पाकिस्तान भने दुवै खेलमा विजयी भएको छ ।

खेल तालिका