सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोशीतटमा बाह्रवर्षे महाकुम्भ

बिहीबार, २७ वैशाख २०८१, ११ : ३१
बिहीबार, २७ वैशाख २०८१

कुम्भको अर्थ हुन्छ, कलश अर्थात् जलपात्र । कुम्भको पर्याय पवित्र वा धार्मिक कलश हो । हिन्दु सभ्यतामा कलशको विशेष महत्त्व छ । कलशको मुखलाई भगवान् विष्णु, घाँटीलाई रुद्र, आधारलाई ब्रह्मा, मध्य भागलाई समस्त देवी र कलशको जललाई सम्पूर्ण सागरको प्रतीक मानिन्छ । 

कलश चारवटै वेदको सङ्गम हो । यस प्रकार कुम्भ शब्दले आफ्नो अर्थ र औचित्य ग्रहण गरेको देखिन्छ ।

वास्तवमा कुम्भ हाम्रो सभ्यताको सङ्गम हो । यो आत्मजागृतिको प्रतीक हो । यो मानवताको अनन्त प्रवाह हो । प्रकृति र मानवताको सङ्गम हो । कुम्भ ऊर्जाको स्रोत हो, यसले मानव जातिलाई पाप–पुण्य र प्रकाश–अन्धकारको अनुभूति गराउँछ । नदीले जीवनरूपी जलको अनन्त प्रवाहलाई दर्शाउँदै आएको छ । मानव शरीर पञ्चतत्त्वबाट निर्मित छ । यी तत्त्वहरू हुन्— अग्नि, वायु, जल, पृथ्वी र आकाश ।

हिमालयलाई देवताहरूको निवास स्थान मानिन्छ । गङ्गाको उद्गम हिमालयबाट भएको हो; जुन गङ्गा पर्वत, जङ्गल र समतल मैदान हुँदै अन्ततः सागरमा गएर मिल्छ । गङ्गाले सूर्यवंशी राजा सगरका श्रापित पुत्रहरूलाई मोक्ष गर्न धर्र्तीमा अवतरण लिएकी थिइन् । तदनन्तर युगौँदेखि मानिसले आत्ममुक्तिका निमित्त गङ्गामा डुबुुल्की लगाउँदै आएका छन् ।

माता गङ्गालाई मोक्षदायिनी भनिन्छ । किनभने गङ्गास्नान गर्दा सबै पाप नष्ट भएर अनन्त पुण्य प्राप्त हुन्छ । आमावास्य, पूर्णिमा वा अन्य तिथि विशेषमा गङ्गास्नान गर्नाले मानिसले आत्मशुद्धि प्राप्त गर्छ । गङ्गा महात्म्य वर्णनातीत विषय हो तर गङ्गास्नानको कुरा गर्ने हो भने यसको लामो र विशाल परम्परा छ । सामूहिक गङ्गा स्नानका लागि समय–समयमा आयोजना गरिने घटनालाई कुम्भमेलाको नाम दिइएको छ ।

पाँच स्थानमा कुम्भमेला

कुम्भमेला हिन्दु धर्मावलम्बीको एक महानस्नान पर्व हो । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रले इङ्गित गरेका छन् । हालसम्म जम्मा पाँच स्थान मात्र पत्ता लागिसकेका छन् । चतराधाम (बराहक्षेत्र, सुनसरी नेपाल) मा १२–१२ वर्षमा, भारतका चार स्थान इलाहावाद, उज्जैन, नासिक (महाराष्ट्र) र हरिद्वारमा प्रत्येक तीन–तीन वर्षको अन्तरालमा कुम्भस्नान आयोजना गरिन्छ ।

चतराधाममा २०५९ वैशाख १ गते पहिलोपटक कुम्भमेला आयोजना गरियो । तत्पश्चात् निरन्तर १२–१२ वर्षमा पूर्ण कुम्भमेला र ६–६ वर्षमा अर्ध कुम्भमेला लाग्ने गर्छ । यस्तै, चतराधाममा बर्सेनि कात्तिक पूर्णिमामा मेला लाग्ने लाग्छ, मेलामा नेपाल र भारतबाट ठुलो संख्यामा साधु, संन्यासी तथा भक्तजन सहभागी हुन्छन् । विशेष उत्सवका साथ औलिया बाबाको निसान बराहक्षेत्र पु¥याउँछन् । उक्त निसानलाई तीन दिनसम्म बराहक्षेत्र मन्दिरभित्र राखी कात्तिक पूर्णिमाको भोलिबाट चतराधाम फिराएपछि कात्तिक मेलाको समापन हुने परम्परा छ ।

चतराधाम सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकामा पर्छ । 

यो ठाउँ धरानदेखि करिब १३ किलोमिटर पश्चिममा सप्तकोशी नदीको किनारामा पर्छ । बराहक्षेत्र जाने बाटोमा पर्ने चतराधाम पनि प्राचीन तीर्थस्थल मानिन्छ । चुरिया पर्वत शृङ्खलाको फेदीमा अवस्थित चतराधामका प्रमुख धार्मिकस्थलमा औलिया बाबा मठ र सर्वेश्वर राधाकृष्ण मन्दिर पर्छन् । औलिया बाबा मठ क्षेत्रमा औलिया बाबाको गुदरी घरसहित भैरव, काली, शिव, गणेश र हनुमानका मन्दिर छन् । 

कुम्भ मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रले इङ्गित गरेका छन् । हालसम्म जम्मा पाँच स्थान मात्र पत्ता लागिसकेका छन् । चतराधाम (बराहक्षेत्र, सुनसरी नेपाल) मा १२–१२ वर्षमा, भारतका चार स्थान इलाहावाद, उज्जैन, नासिक (महाराष्ट्र) र हरिद्वारमा प्रत्येक तीन–तीन वर्षको अन्तरालमा कुम्भस्नान आयोजना गरिन्छ ।

उक्त मठ राजा मनमुकुन्द सेनको शासनकालमा स्थापना भएको हो । चतरामा एक वृद्धाश्रम छ, जसको रेखदेख पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी आमा मिथिला पाण्डेले गर्दै आएकी छन् । यहाँ सेनकालीन दरबारको अवशेष र छिन्नमस्ता मन्दिर पनि छन् ।

जगद्गुरु पीठ (राधाकृष्ण आध्यात्मिक भक्ति साधना आध्यात्मिक प्रतिष्ठान) पनि छ । यिनीहरूमध्ये यहाँको पुरानो मठ भने औलिया बाबा मठ हो । चतराधामको अर्को आकर्षण नेपालको एक मात्र जगद्गुरु बालसन्त आश्रम (जगद्गुरु पीठ तथा राधाकृष्ण भक्ति साधन आध्यात्मिक प्रतिष्ठान) हो । अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यजी महाराजले २०५१÷५२ सालतिर यहाँ दुर्वासाघाट नजिक स्थापना गरेका हुन् । 

२०६७ वैशाख १ गते महाराजश्रीले काशी पण्डितसभाद्वारा जगत्गुरुको उपाधि प्राप्त गरेपछि उक्त आश्रम जगद्गुरु पीठको रूपमा स्थापित भएको पाइन्छ ।

जगत्गुरु पीठ परिसरमा विभिन्न मन्दिर, वृद्धाश्रम, वेदविद्यालय, कुम्भ स्मारक तथा आकर्षणका थुप्रै विषयवस्तु रहेका छन् । कुम्भ स्मारक नेपालको प्रथम कुम्भमेलाको प्रतीकका रूपमा रहेको छ । त्यहाँ आयुर्वेदिक विश्वविद्यालय, धर्मशाला, गौशाला, यज्ञशाला र थप मन्दिर समेत हाल निर्माणाधीन छन् । महाराजश्रीले चतराधाम प्राचीन हरिद्वार हो भनी प्रमाणित गरी प्रचार गरेपछि पर्यटकीय दृष्टिले थप महत्त्वपूर्ण हुँदै गएको हो ।

चतराधाम सप्तकोशी नदीको किनारमा अवस्थित छ । तीन दशकअघि अहिलेको चतरा कुम्भक्षेत्र आर्यघाट थियो । सप्तकोशीका सेता बालुवा उड्ने उराठलाग्दो आर्यघाटलाई दुर्वासाघाट पनि भनिन्छ । बालसन्त महाराजश्रीले चतराका बारेमा खोज–अनुसन्धान गरी चतरालाई प्राचीन हरिद्वारको मान्यता पुनस्र्थापित गरेका हुन् । 

पर्यटकीय सम्भावना

चतराधाम क्षेत्र कुम्भस्नान र धार्मिक अभीष्टका लागि मात्र होइन, कोशी नदीमा जलक्रीडा तथा नौका विहारका दृष्टिले समेत महत्त्वपूर्ण छ । दोलालघाटबाट आउने ¥याफ्टिङ सेवा टुङ्गिने अन्तिम बिन्दु चतरा नै हो । जङ्गल सफारी, मनोहर चराहरूको चिर्बिर र रमणीय पहाडी दृश्य अवलोकनका लागि पनि चतरा आकर्षक थलो हो ।

पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गका रूपमा चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि यस क्षेत्रको पर्यटकीय सम्भावना बढेर गएको छ । 

२० किलोमिटर दक्षिणमा महेन्द्र राजमार्ग, आठ किलोमिटर उत्तरमा मध्य पहाडी लोकमार्ग र पूर्व–पश्चिम आवागमनको मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौँडा सडक)को उपलब्धताले गर्दा चतरा अब चारैतिरबाट संसारसँग जोडिन पुगेको छ । मध्यपहाडी लोकमार्गसँग जोडिने कोसी करिडोरको नामले परिचित उदयपुरको–घुर्मी–चतरा सडकले झन्् सुनमा सुगन्ध थपेको छ ।

बराहक्षेत्र एक नगरपालिका हो, जसमा ११ वटा वडा पर्छन् । बराहक्षेत्र धाम र चतरा धाम वडा १ अन्तर्गत पर्छन् । त्यस्तै, वडा २ मा लक्ष्मीनारायण मन्दिर र बौद्ध बिहार गुम्बा रहेका छन् । पहिलेको भरौल गाविस अहिले वडा ३, ४ र ५ मा विभाजित छ, जहाँ बेलहा मन्दिर र टेगने पोखरी रहेका छन् । वडा ९, १० र ११ मा कोशी टप्पु वन्यजन्तु आरक्ष पर्छ । 

बराहक्षेत्रदेखि सात किमि तल चुरेको फेदमा चतरा अवस्थित छ । बराहक्षेत्रको हरेक गतिविधि पारम्परिक रूपमा चतरा (द्वार) हुँदै पूरा हुने गरेको छ ।

बराहक्षेत्रलाई भगवान् विष्णु अर्थात् श्रीहरिको १० अवतारमध्येको तेस्रो भगवान् बराहको अवतरण स्थल र श्रीहरिको दरबार समेत मानिन्छ । प्राकृतिक र भौगोलिक अवस्थाका आधारमा चतरालाई श्रीहरि दरबारको द्वार अर्थात् ‘हरिद्वार’ भन्ने गरिन्छ । 

बराहक्षेत्र मन्दिर परिसर सप्तकोशी र कोकाखोला सङ्गमको पूर्वी तटमा अवस्थित छ । बराहक्षेत्र सत्य युगकालीन तीर्थस्थल हो । चतरा यस तीर्थस्थलको आधार शिविर हो ।

बराहक्षेत्र र चतराधामबिच विशेष सम्बन्ध रहेको छ । हरेक वर्ष कात्तिक पूर्णिमामा चतराको औलिया बाबा मठबाट उनको निशान बराहक्षेत्र पु¥याउने र ल्याउने प्रथा छ । यसले चतरा र बराहक्षेत्रलाई परस्परमा जोडेर राखेको छ । जगद्गुरु बालसन्तको नेतृत्वमा बर्सेनि चतराबाट बराहक्षेत्र यात्रा गरेर त्यहाँस्थित कोका–कौशिकी सङ्गममा स्नान गर्ने चलन छ ।

Kunbh_Mela_Picture (5)

बराहक्षेत्रको महात्म्य विभिन्न पुराण, वाल्मीकि रामायण र महाभारत महाकाव्यमा वर्णित छ । पुराणानुसार भगवान् विष्णुले बराहको रूप अवतरित भएर धर्तीलाई हिरण्याक्ष जलप्रपातबाट जोगाएका थिए । बराह भगवान् अवतरित स्थान नै बराहक्षेत्र हो ।

पौराणिक कथा

पौराणिक कथाका अनुसार हिरण्याक्षले ब्रह्म साधना गरेर अमरत्वको वरदान मागे तर ब्रह्माले जनावरबाहेक मनुष्य, देवता, यक्ष, किन्नर कसैको हातबाट मृत्यु नहुने वरदान दिए । हिरण्याक्षले उक्त वरदानमा केही सच्याउँदै आमाको कोखबाट पैदा नभएको जनावरले मात्र मार्न सक्ने वचन लिए । 

वरदान पाएर हिरण्याक्षले जताततै उत्पात मच्चाउँदै जनावरहरू यसै पृथ्वीमा छन् । यस धर्तीलाई नै जलमा डुबाइदिँदा आफू स्वतः अमर हुने मनसायले विशाल ताललाई फुटाएर जलप्रपात मच्चाइदिए । जगतमा त्राहिमाम मच्चियो । यो देखेर ब्रह्मादी देवताहरू चिन्तित भएर भगवान् विष्णुको आराधना गरे । त्यसैबेला भगवान् विष्णु वाराही रूप लिएर अवतरित भए । उनले हिरण्याक्षको वध गरेर जगत्को रक्षा गरे । 

बराहक्षेत्रलाई हिन्दु र किराँत धर्मावलम्बीले आफ्नो तीर्थ मान्छन् । बराहक्षेत्र धाममा १५ सय वर्ष पुराना पुरातात्त्विक महत्त्वका मूर्ति छन् । बराहक्षेत्र पितृश्राद्ध, मकर स्नानका साथै अन्य धार्मिक अभीष्टका लागि गन्तव्य हो । बराहक्षेत्र नेपालको सय पर्यटकीय स्थलको सूचीमा समाविष्ट धार्मिक गन्तव्य हो ।

प्राचीनकालदेखि गङ्गा, गोदावरी र शिप्रा नदीमा कुम्भस्नानको आयोजना हुँदै आएकामा तीन दशकअघि कोशी नदीमा कुम्भस्नान प्रारम्भ भएको हो । सप्तकोशी नदीमा तीन दशकअघि कुम्भस्नान प्रारम्भ भएको हो ।

चतरामा २०५९ मा पहिलो र २०७० मा दोस्रो पूर्ण कुम्भ सम्पन्न भयो । प्रत्येक १२ वर्षमा आयोजना हुने पूर्ण कुम्भमेला यस वर्ष २०८० को चैत २७ गते प्रारम्भ भएर यही २०८१ वैशाख २८ गते सम्पन्न हुँदै छ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले चतरा पुगेर महाकुम्भमेलाको तयारीबारे जानकारी लिएका थिए । 

बालसन्त महाराजश्रीले कुम्भमेलाको परिकल्पना र भौतिक संरचना निर्माण, विद्युत्, खानेपानी, सरसफाइको व्यवस्थापन, सुरक्षा प्रबन्ध, बसोबासस्थल जस्ता आधारभूत तयारीलाई मार्गदर्शन गरेका हुन् । 

चैतको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म एक महिना चल्ने पूर्ण महाकुम्भमेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । चतरा कुम्भमेलामा नेपालका विभिन्न स्थानका साथै भारतबाट पनि उल्लेख्य सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी भए । महाकुम्भमा भक्तजनका लागि पाँचवटा स्नान स्थल निर्माण गरिएको छ । भक्तजनका लागि खानाको निःशुल्क व्यवस्था धरान र विराटनगरका मारवाडी समुदायले गरेका छन् ।

सप्तकोशी बराह र कुम्भको जननी हो । कोशी क्षेत्र किराँत सभ्यताको जननी हो । बराहक्षेत्र भगवान् बराह र किराँतेश्वर महादेवको अवतरण भूमि हो ।

सप्तकोशी हिमालबाट उत्पत्ति भएका सात प्रमुख र अनेक सहायक नदीहरूको समूह हो । यस क्षेत्रहरूमा कोशी कौशिकी देवीको रूपमा पुजित छिन् । कोशी नदी आफैँ गङ्गा नदीको सबैभन्दा ठुलो सहायक नदीमध्ये एक हो । सुनकोशी, तामाकोशी, दूधकोशी, इन्द्रावती, लिखु, अरुण र तमोर नै समुच्यमा सप्तकोशी हो ।

केहीअघि मेलामा भक्तजनलाई आमन्त्रण गर्ने उद्देश्यले बालसन्त महाराजश्रीले १५ दिने पदयात्रा गरेका थिए । बराहक्षेत्रसँगै आसपासका धार्मिकस्थलको पहिचान गरी सम्भावनाको अध्ययन गर्ने र सुनसरी, उदयपुर र धनकुटामा रहेका धार्मिक क्षेत्रको विकासका लागि के गर्न सकिन्छ भनेर अध्ययन गरिएको थियो ।

चतरामा कुम्भमेलाको सफल आयोजनाले देश विदेशमा रहेको हिन्दुहरूको मात्र नभई सारा जगत्कै ध्यान चतरा धाममा लागेको कुम्भमेलाले खिचेको छ ।

कुम्भमेलाको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बराहक्षेत्रको गुरुयोजना तयार गरी दीर्घकालीन विकासमा योगदान गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताएका थिए । 

उनले तीनै तहका सरकारले बराहक्षेत्रको विकास गर्न वार्षिक नीति तथा कार्यक्रममा समेटेर आकर्षक धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्नु सुझाव दिए । कुम्भमेलाले बराहक्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न उनले बताएका थिए । राष्ट्रपतिको मार्गदर्शनको पालना भएमा निश्चय नै यस क्षेत्रको कायाकल्प हुनेछ ।

(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दख्खल राख्छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप