मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नौतले दरबार पुनःनिर्माण : नेपाल र चीनका उपप्रधानमन्त्रीले गरे शुभारम्भ

मङ्गलबार, ३१ साउन २०७४, १२ : ४५
मङ्गलबार, ३१ साउन २०७४

काठमाडौँ-विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित पुरातात्विक महत्वको नौतले दरबार पुनःनिर्माण शुभारम्भ भएको छ  । 

विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएको सो दरबार दुईवर्ष बितेपछि चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा बल्ल पुनःनिर्माण अगाडि बढेको हो । 


उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेपाल भ्रमणमा रहेका जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले वसन्तपुर दरबारमा आयोजित कार्यक्रममा आज संयुक्तरुपमा पुनःनिर्माण शुभारम्भ गरे । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले भूकम्पले क्षतिग्रस्त बनेको नौतले दरबार र नुवाकोटको साततले दरबार चिनियाँ सरकारले पुनःनिर्माण गर्न लागेको जानकारी दिए । 

चीनका वाणिज्य उपमन्त्री तथा अन्तरराष्ट्रिय व्यापार उपप्रतिनिधिले नेपालको ऐतिहासिक सम्पदा पुनःनिर्माणको अवसर पाएकामा खुशी व्यक्त गरे ।  

चीनले पाँच वर्षमा करिब १५ करोडको लागतमा नौतले दरबार पुनःनिर्माण सम्पन्न गर्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।  

उनले  भूकम्पले क्षतिग्रस्त हनुमान ढोका दरबार क्षेत्रको आगम्छे घर र पाटन दरबार क्षेत्रको देगु तलेजु मन्दिर जापान सरकारको सहयोगमा पुनःनिर्माण गर्ने गरी सम्झौता भएको बताए ।  दुवै सम्पदा पुनःनिर्माणमा रु ३३ करोड लाग्ने विभागले जनाएको छ । 

पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत नेपाल भ्रमणमा रहेका चिनियाँ प्रतिनिधिमण्डलको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप