आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सरकार परिवर्तन गर्न अनेक षड्यन्त्र भइरहेका छन् : महासचिव पोखरेल

मङ्गलबार, २५ वैशाख २०८१, ०८ : ४७
मङ्गलबार, २५ वैशाख २०८१

ताप्लेजुङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकार परिवर्तन गर्न अनेक षड्यन्त्रहरू भइरहेको बताएका छन् । उनले जसपा विभाजनको उदाहरण दिँदै त्यस्ता षड्यन्त्रको प्रतिरोधमा सांसदहरू नै उत्रिएर पहल लिन थालेको समेत बताए । 

मंगलबार बिहान ताप्लेजुङमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकार ढाल्न भएका प्रयासलाई सांसदहरूले नै असफल पार्न सक्रिय भएको दाबी गरे । ‘अहिले पनि सरकार परिवर्तन गर्नका लागि अनेक षड्यन्त्र भइरहेका छन् । तर त्यस्तो कार्यको प्रतिरोधमा सांसदहरू आफैँले पनि सङ्गठित भएर प्रयास गर्न थालेका छन् । जसपाका सांसदहरूले त संगठितरुपमा नै एउटा प्रयास गरिसक्नुभएको छ,’ उनले भने, ‘मलाई लाग्छ, त्यो क्रम अझै बढ्न सक्छ ।’

जसपाका सांसदहरूको विद्रोहलाई उनले विधिसम्मत र स्वाभाविक भएको टिप्पणी गरे । ‘जनता समाजवादी पार्टीका सांसदले विद्रोह गरेर सरकार र वर्तमान सत्ता गठबन्धन जोगाउन पहल लिनुभएको छ । यो सकारात्मक पहल हो,’ उनले भने, ‘लोकतन्त्रमा दलहरूभित्र कुनै समस्या भयो भने विधिसम्मत डङ्गबाटै अघि बढ्नुपर्छ । त्यस कारण अहिले जे भयो, त्यो कानूनीरुपमा प्राप्त अधिकारको उपयोग गरेर गरिएको कार्य हो ।’

उनले मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ एमालेले मिसन–०८४ को अभियान चलाएको बताए । ‘जब राजनीतिक दलहरू धेरै हुन्छन्, कमजोर हुन्छन्, त्यसबेला बाह्य शक्तिहरूको हस्तक्षेप बढ्ने रहेछ,’ उनले भने, ‘त्यस कारण हामी नेकपा एमालेलाई यो देशको ठुलो शक्ति, बलियो शक्ति बनाएर देशलाई निकास र विकास दिन चाहन्छौँ । त्यसैकालागि पार्टीले मिसन ०८४ लाई एउटा अभियानकोरुपमा अघि बढाएको छ ।’

उनले अहिले एमालेले भागबन्डाको राजनीतिभन्दा पनि तत्काललाई स्थायी सरकार र मिसन–०८४ मा ध्यान लगाएको बताए । ‘हामीले भागबन्डाको राजनीतिलाई महत्त्वपूर्ण विषय ठानेका छैनौँ । हामी मिसन ०८४ मा छौँ । त्यही कारण अहिले एमालेले सरकारमा महत्त्वपूर्ण मन्त्रालय बुझ्ने भन्दा पनि सरकारलाई निरन्तर चलाउने हिसाबले अघि बढेका छौँ,’ उनको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप