सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तेह्रौँ साग : बिच भलिबलमा नेपाललाई कास्य पदक

आइतबार, २२ मङ्सिर २०७६, २० : ३८
आइतबार, २२ मङ्सिर २०७६

नेपालमा जारी तैह्रौैँ दक्षिण एशियाली खेलकूद(साग) मा पहिलो पटक समावेश गरिएको बिच भलिबलमा नेपाली महिला टोलीले कास्य पदक जितेको छ ।

फेवाताल किनारस्थित बाराहीघाटमा सञ्चालन भएको प्रतियोगितामा आजको खेलमा नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनिषा चौधरीको जोडीलाई २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरी कास्य जितेको हो ।

पुरुषतर्फ नेपालका दुवै टोली लिग चरणबाट बाहिरिएका थिए भने महिलाका दुवै टोली समूह उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेर नेपाललाई बिच भलिबलमा पदक विहीन हुनबाट जोगाएका थिए ।

 महिला तथा पुरुष दुई विधामा गरी दुई स्वर्ण, दुई रजत र दुई काश्यका लागि भएको स्पर्धामा श्रीलङ्काको महिला र पुरुषको दुवै टोली समूह विजेता बन्दै फाइनल प्रवेश गरेका थिए । 

बिच भलिबलको महिला तथा पुरुष दुवैतर्फको स्वर्ण र रजत पदक श्रीलङ्काले जित्न सफल भयो । पुरुषतर्फ श्रीलङ्काका प्रदीप आसङ्का र असेन कुमाराको जोडीले इन्डिका टिरोन र जायन सनुजाको जोडीलाई २४–२२ र २१–१३ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जित्न सफल भयो । 

महिलातर्फ श्रीलङ्काकै दीपिका जेडेरा र मधुशानी वीरासिङ्गेको जोडीले लक्षिनी थारुका र दिनेशा प्रसादनीको जोडीलाई १९–२१, २१–१५ र १५–८ को सेटमा हराएर स्वर्ण जिते । 

पुरुषतर्फ पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीले पाकिस्तानकै जस्नव खान र अफाख खानको जोडीलाई २१–१५ र २१–१४ को सेटमा हराएर पाकिस्तानले कास्य पदक जित्न सफल भयो । 

यही मङ्सिर १९ गतेदेखि शुरु भएको बिच भलिबलको स्पर्धामा महिलातर्फ आयोजक नेपालसहित श्रीलङ्का र माल्दिभ्स सहभागी थिए भने पुरुषतर्फ नेपालसहित श्रीलङ्का पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप