बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : नेपालमा पक्राउ परेका नागरिकलाई चीनले लग्यो, बूढानीलकण्ठ दुर्घटनाका आरोपी थुनामा

बुधबार, २३ पुस २०७६, १९ : ०५
बुधबार, २३ पुस २०७६

काठमाडौँ । नेपालमा पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई बुधबार चीन पठाइएको छ । उनीहरुलाई लिन दुई वटा चिनियाँ चार्टड विमान नेपाल आएका थिए । 

पहिलो जहाजमा पक्राउ परेकामध्ये ४२ जना र बाँकीलाई अर्को जहाजमा लगिएको थियो ।  चिनियाँ नागरिकमध्ये ४२ जनालाई प्रहरीले भाडाको बसमा विमानस्थल पुर्याएको थियो भने अरुलाई प्रहरीको भ्यानमा राखेर लगिएको थियो । 

उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्ज, सोह्रखुट्टे सिंहदरबार र महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको थियो । जिल्ला अदालत काठमाडौँबाट १ हजार धरौटीमा रिहा भएका उनीहरुलाई यहाँको कानुनी प्रक्रिया पूरा भएपछि चीनले स्वदेश फिर्ता लगेको हो । चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गरिने बताइएको छ ।
गत पुस ७ गते चिनियाँहरु राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका थिए । 

यसो त ३ दिनअघि नै चिनियाँ प्रहरीको ८ जनाको टोली नेपाल आइसकेको प्रहरी स्रोतले जनाएको छ । ती प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद भएका सामानहरु त्रिभुवन विमानस्थलमा बुधबार बुझेका थिए ।  प्रहरीले बरामद भएका सामानहरु गाडीमा हालेर विमानस्थलमा पुर्याइ चिनियाँ टोलीलाई बुझाएको थियो । 

पक्राउ परेकामध्ये ३१ जना चिनियाँसँग मात्र पासपोर्ट भेटिएको छ । उनीहरूको समेत पासपोर्ट रद्द गरी सबैको ट्राभल डकुमेन्ट काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरेको छ । 


प्रदेश ३ बैठक
प्रदेश–३ को नाम र राजधानीबारे प्रदेशसभामा छलफल सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी हेटौंडामा सुरु बैठकमा बुधबारबाट प्रदेशको स्थायी राजधानीबारे औपचारिकरुपमा छलफल सुरु भएको हो । 

यसअघि प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशको स्थायी राजधानी र नाम टुंग्याउन बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन छलफलका लागि प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका संयोजक दीपक निरौलाले प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सांसदहरुले प्रतिवेदनमाथि आआफ्ना धारणा राखेका थिए । सांसदहरुले प्रदेशको राजधानी आफूअनुकुल हेटौंडा, काभ्रे, भक्तपुर चितवन र नुवाकोट राजधानी राख्नुपर्ने धारणा राखेका छन् ।

बूढानीलकण्ठ दुर्घटना

बूढानीलकण्ठमा पैदलयात्रुको ज्यान जाने गरी दुर्घटना गराउने  चालक पृथ्वी मल्ललाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक कुमार दाहालको इजलाशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनले मादक पदार्थ सेवन गरेर लापरबाहीपूर्वक सवारी चलाएको पाइएको आदेशमा उल्लेख छ । गत मङ्सिर २८ गते बूढानिलकण्ठमा भएको कार दुर्घटनाका मुख्य प्रतिवादी पृथ्वी मल्ल हुन् । काठमाडौँ जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा उनीमाथि ३ देखि १० वर्षको सजाय माग गरिएको छ । 
मल्ललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा ९२० बमोजिमको कसूर अपराधमा सोही ऐनको दफा १६१ को उपदफा (२) बमोजिम सजाय हुने माग दाबी गरिएको हो । मल्लले मादक पदार्थ सेवन गरी चलाएको कारले सडकको पेटीमा हिँडिरहेकी पैदलयात्रु लिला देवकोटाको मृत्यु भएको थियो ।

ठगी प्रकरण
सर्लाहीका रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बनेका स्थानीयहरु न्याय खोज्दै राजधानी आइपुगेका छन् ।

 ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडप्ने गरेको आरोप स्थानीयले लगाएका छन् । फिर्ता नगर्ने राय र रौनियारका सावाँ ब्याजसहित पैसा चुक्ता गर्दा समेत घरजग्गा फिर्ता नदिने गरेको स्थानीयको भनाई छ । प्रहरी प्रमुख सर्वेन्द्र खनालको टोलीले राजपाका केन्द्रीय सदस्य समेत रहेका रामबाबु राय यादवलाई भने प्रहरीले पक्राउ गरेको छ । 

राष्ट्रिय सूचना आयोग

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले जनतालाई गुमराहमा राखेर लोकतन्त्रलाई अगाडि बढाउन नसकिने भन्दै सूचनाको हकको पूर्ण प्रत्याभूतिमा प्रतिवद्ध हुन सरकारलाई सुझाव दिएका छन् । 
आयोगको ५ वर्षे पदावधि सकिँदै गर्दा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले सरकारले गरेका सबै कामकारवाही पारदर्शी बनाउन पनि आग्रह गरे । 
 सूचनाको हकका सम्बन्धमा नेपालको संविधानमा नै अपूरो व्यवस्था गरिएको दाबी गर्दै उनले ‘जस्केला’बाट नागरिकको मौलिक हकलाई कुठाराघात हुने गरि कानून बनाईएको आरोप लगाए । 

राष्ट्र बैंक

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ । पुष १ गते यता बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेप बढेको हो । 
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बैंक तथा वित्तीय क्षेत्रमा ३३ खर्ब रुपैयाँ भन्दा बढी निक्षेप पुगेको बताए ।  यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा बढी आक्रामक देखिएका छन् ।
 पुष १ यता बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २९ अर्ब ९३ करोड रुपैयाँले बढेर ३१ खर्ब ९ अर्ब  रुपैयाँ पुगेको छ ।  निक्षेप भन्दा कर्जा लगानी झण्डै २ अर्बले बढी छ । प्रवक्ता भट्टले निक्षेप भन्दा कर्जा लगानी केही बढी भएपनि वित्तीय प्रणालीमा प्रयाप्त तरलता रहेको बताए । 

दुर्गा प्रसाईँको आरोप

वि एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइले वि एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन घुस मागिएको आरोप लगाएका छन् । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक प्रसाइले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफूसँग २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका हुन् । उनले मंसिर १५ गते मेडिकल कलेजको सम्बन्धनका लागि निवेदन दिएपछि द्वारीकाज होटलमा बोलाई २० करोड रुपैयाँ घुष माग गरेको आरोप लगाए । 

 उनले उक्त रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसम्म पुग्ने भएकाले मेडिकल कलेजको सम्बन्धन २० करोड रुपैयाँ पाएमात्र दिने प्रस्ताव गरेको आरोप लगाए । 

चिकित्सा शिक्षा ऐन आइसकेपछि बनेको आयोगमा नियम अनुसार मेडिकल कलेज सञ्चालन सम्बन्धनको प्रकृया अगाडी बढाउन दिइएको निवेदन कार्यकारी उपाध्यक्षकै कारण दर्ता हुन नसकेको बताए । 
यता, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले भने दुर्गा प्रसाईको आरोपको खण्डन गरेका छन् । 

बुधबार नै पत्रकार सम्मेलन गरेर गिरीले आरोप सुनेर आश्चर्यमा परेको बताए । उनले यो विकृत मनस्थिति भएका व्यक्तिले लगाएको आरोप भएको पनि बताए ।  उपाध्यक्ष गिरीले आफू १५ मंसिरमा द्वारिका होटल नै नगएको र प्रसाईंसँग भेट नभएको बताए ।

इरानद्वारा मिसाइल हमला
इराकमा तैनाथ अमेरिकी सेनाको कम्तिमा दुईवटा एयरबेसमा एक दर्जनभन्दा बढी बलिस्टक क्षेप्यास्त्र प्रहार भएको अमेरिकी रक्षा विभागले जनाएको छ ।

यता, इरानको राष्ट्रिय टेलिभिजनले बग्दादमा अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पको निर्देशनमा भएको ड्रोन हमलामा मारिएका शीर्ष कमान्डर कासेम सुलेमानीको हत्याको बदलामा उक्त हमला गरिएको भन्दै जिम्मेवारी लिएको छ ।

इर्बिल र अल असादमा रहेको दुईवटा बेसमा आक्रमण भएको अमेरिकाले जनाएको छ । क्षेप्यास्त्र आक्रमण के कस्तो क्षति भयो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

‘इराकमा रहेको अमेरिकी ठेगानाहरुमा आक्रमणको रिपोर्टहरुको बारेमा हामी जानकारी छौँ । राष्ट्रपतिलाई यसबारे जानकारी गराइएको छ । वहाँले पछिल्लो अवस्थालाई नजिकबाट नियाली रहनुभएको छ र राष्ट्रिय सुरक्षा टोलीसँग सल्लाह गरिरहनुभएको छ,’ ह्वाइट हाउसकी प्रवक्ता स्टेफनी ग्रिसमले एक वक्तव्य मार्फत जानकारी दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप