भिडियो समाचार : गुण्डा नाइकेलाई गोली हान्दा विवादमा तानियो प्रहरी
काठमाडौँ । बौद्धको जोरपाटीस्थित जम्बुडाँडामा प्रहरीले गुण्डा नाइके भनेर चिनिएका सिन्धुपाल्चोकका विष्णु लामामाथि गोली चलाएको विषय विवादमा तानिएको छ । गोली लागेर घाइते भएका लामा राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् ।
लामाले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाइएको प्रहरीले दावी गरेको छ । तर लामाले भने प्रहरीले घरमा समातेर योजनाबद्ध रुपमा जम्बुडाँडा लगेर गोली हानेको दावी गरेका छन् । सोमबार रातोपाटीसँगको कुराकानीमा लामाले आफुमाथि सुनियोजित रुपमा गोली चलाइएको दावी गरेका छन् ।
लामालाई महानगरीय प्रहरी वृत्त, बौद्धबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले गोली हानेर नियन्त्रणमा लिएको थियो ।
अस्पतालमा महानगरीय प्रहरी वृत्तका सादा पोसाकमा खटिएका एक जवानले लामाको निगरानी गरिरहेका छन् । लामाको दुवै खुट्टामा गोली लागेको छ ।
लामाका अनुसार सादा पोसाकमा पुगेको प्रहरी टोलीले बौद्धस्थित मेडिकल कलेज नजिकै रहेको कोठाबाट समातेको थियो ।
घरबाट नियन्त्रणमा लिने बित्तिकै हत्कडी लगाएर ट्याक्सीमा राखिएको लामाले बताए । ‘२ घण्टा बौद्ध आसपासमै ट्याक्सीमा घुमाएर ५ बजेतिर मात्र जम्बुडाँडा पुर्याइएको लामाको दावी छ ।
गोली हानेलगत्तै प्रहरीले उनलाई अस्पताल लैजानुको साटो बौद्ध वृत्त लगेको र त्यसपछि मात्रै उपचारको लागि भन्दै ट्रमा सेन्टर पुर्याएको लामाले बताए । यस्तै आफन्तले पनि सोमबार पत्रकार सम्मेलन गरेर प्रहरीले पक्राउ गरेर लगी गोली हानेको दावी गरेका छन् ।
यता, प्रहरीले भने लामालाई समाएको २ घण्टापछि गोली हानिएको आरोपको खण्डन गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले अभियुक्त लामाले प्रहरीमाथि आक्रमण गर्न खोजपछि प्रहरी टोलीले गोली चलाउन बाध्य भएको दावी गरे ।
डीआईजी पोखरेलले आक्रमण गर्न खोजेपछि लामामाथि गोली चलाएको दावी गर्दैगर्दा यता बौद्धका डीएसपी रमेश बहादुर सिंहले भने भाग्न खोजिएकाले लामामाथि गोली चलाउनुपरेको बताए । यसले पनि प्रहरीले लामामाथि गोली चलाएको प्रकरणमा शङ्का पैदा गरेको छ ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार लामाको अवस्था खतरामुक्त छ । लामामाथि ज्यान मार्ने उद्योगमा सिन्धुपाल्चोक प्रहरीमा उजुरी छ ।
ट्राफिक प्रहरीको अभियान
ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काट्ने, जेब्राक्रसबाट बाटो नकाट्ने, आकाशे पुल प्रयोग नगर्नेहरु अव सचेत हुनु जरुरी छ ।
ट्राफिक प्रहरीले अब सडक नियम पालना नगर्ने पैदलयात्रीलाई सचेतना कक्षा दिने भएको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालका अनुसार पैदलयात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे त्यस्ता बटुवाले २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था आजदेखि शुरू गरेको बताए । एसएसपी ढकालले सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइने र उनीहरूकै माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिने बताए ।
उपत्यकामा दुर्घटनामा पैदलयात्रीको धेरै ज्यान जान थालेपछि नै ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पैदलयात्री सुरक्षा अभियान सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीले जथाभावी बाटो काट्दा हुने सवारी जाम हटाउनको लागि पनि यो अभियान प्रभावकारी देखिने प्रवक्ता श्रेष्ठले बताए । यस आर्थिक वर्ष मात्रै उपत्यकामा ७६ मध्ये ३२ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको छ । गत वर्ष भने २५४ मध्ये ९३ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारलाई ‘रोग’को संज्ञा दिँदै सबै मिलेर यसलाई निको पार्नुपर्ने खाँचो औँल्याएकी छिन् ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औँ वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाअनुसार आयोगले सुशासनका लागि भ्रष्टाचारजस्तो कठिन कार्य अघि बढाइरहेको भन्दै प्रशंसा गरिन् ।
आयोगको २९ औं वार्षिक प्रतिवेदन पेश गर्दै आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आर्थिक वर्ष २०७५÷७६ मा आयोगले गरेका प्रमुख काम कारवाहीको प्रस्तुतिकरण गरे ।
आयोगमा आर्थिक वर्ष २०७५–७६ मा १४ हजार एक सय ७१ र मातहतका कार्यालयहरुमा ९ हजार ९ सय १४ गरी कुल २४ हजार ८५ उजुरी विभिन्न माध्यमबाट आएको जनाइएको छ । ६४ दशमलव ४७ प्रतिशत उजुरी फछ्र्यौट भएको र फछ्र्यौट भएका उजुरीमध्ये ६ हजार ४७ उजुरी प्रारम्भिक छानविनबाट तामेलीमा राखिएको छ भने ५९० उजुरीलाई सुझावसहित तामेलीमा पठाइएको आयोगले जनाएको छ । फछ्र्यौट भएका उजुरीमध्ये ८ सय ८१ वटालाई विस्तृत अनुसन्धानमा तानिएको छ भने ८ हजार ९ उजुरीलाई अन्य आवश्यक कारवाहीका लागि पठाइएको आयोगको भनाइ छ ।
यसैबीच आयोगले राष्ट्रसेवक कर्मचारीको तलब कम भएको कारण भ्रष्टाचार बढेको भन्दै कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ ।
सोमबार आयोगले पत्रकार भेटघाट गर्दै आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्दै राष्ट्रसेवक कर्मचारीको तलबमान कम हुँदा भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको बताएको हो ।
नेपाल सरकारलाई ८१ वटा सुझाव दिँदै आयोगले राष्ट्रसेवक कर्मचारीको तलबमानमा पुनरावलोकन गर्न सुझाव दिएको हो । महङ्गी र खर्चभन्दा आम्दानी कम भएको कारण राष्ट्रसेवक कर्मचारीले घुस रिसवत लिने गरेको भन्दै तलबमानमा वृद्धि गर्न सकिए भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने अख्तियारको दाबी छ ।
त्यसैगरी, आयोगले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अख्तियार दुरुपयोग अनुसन्धान आयोग मातहत रहने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । हाल सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलय मातहत राखिएको छ ।
त्यस्तै आयोगले निजी तथा सहकारी क्षेत्रको भ्रष्टाचारको परिणाम सम्बोधन गर्न आयोगको क्षमता सुदृढ गरी आयोगले हेर्ने कानुनी व्यवस्था गर्न माग गरेको छ ।
देव गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले उपसभामुखको हैसियतामा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्वार बन्न नपाउने बताएका छन् ।
काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता गुरुङले उपसभामुख पदमा रहेर सभामुखको उम्मेद्वारी दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको दावी गरेका हुन् ।
उनले उम्मेद्वार बन्नका लागि उपसभामुखबाट अनिवार्य राजिनामा दिनुपर्ने बताउँदै पछिल्लो समय विकास भइरहेको घटनाक्रममले संवैधानिक संकट आउनसक्ने बताए ।
मन्त्री प्रदीप ज्ञवाली
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले मानव अधिकार हनन हुनेगरी कुनैपनि विधेयक नल्याएको बताएका छन् ।
संसदमा पेस भएको सूचना प्रविधि सम्बन्धी विधेयकलाई संकेत गर्दै मन्त्री ज्ञवालीले मानव अधिकारका सिद्धान्त, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने मनसाय सरकारको नभएको बताएका हुन् ।
सोमबार राष्ट्रिय मानवअधिकार आयोगले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा अर्काको मानव अधिकारलाई हनन गर्ने अधिकार संविधानले पनि नदिएको बताए ।
सूचना प्रविधि विधेयक
पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सूचना प्रविधि विधेयकका विरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।
विधेयकका केही बुँदाहरुले मौलिक हक सम्बन्धि व्यवस्थाहरुलाई कटौती गरी कठपुतलि अदालत गठन गर्न खोजेको भन्दै यसको विरुद्ध अदालत जाने चेतावनी दिएका हुन् ।
सूचना प्रविधि विधेयक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा विषयक कार्यक्रममा आचार्यले समितिमा संशोधन भएका केही बुँदाहरु राम्रा भएपनि केही बुँदाहरुमा सजाय थपको व्यवस्था भएकोप्रति आपत्ति समेत जनाए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले सत्तापक्ष र प्रतिपक्षले यो विषयमा सहकार्य गरेर टुंगो लगाउनुपर्ने बताए ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सरकारमा गएपछि प्रेसलाई थुनिहाल्नु पर्ने, प्रेसलाई बन्देज लगाउनुपर्ने कस्तो मानसिकता हो भन्दै प्रश्न गरे ।
दीगो विकास
राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरुले दिएको निर्देशन सरकारका मन्त्री र कर्मचारीहरुले पालना नगरेको भन्दै सांसदहरुले स्पष्टीकरण माग गरेका छन् ।
दिगो विकास तथा सुशासन राष्ट्रियसभाका सांसदहरुले राष्ट्रियसभाबाट हुने कुनै पनि निर्देशन सम्बन्धित मन्त्री र सचिवहरुले पालना नगर्ने बताएका छन् । सांसद विमला राई पौडेलले सम्बन्धित मन्त्रालय र विभागका मान्छे बोलाएर अनुगमनका क्रममा पसलेहरुले राखेका समस्या समाधान गर्न डेटलाईन दिने र त्यसपछि मात्रै अनुगमनमा जानुपर्ने बताइन् ।
सांसद दिनानाथ शर्माले समितिले दिएको निर्देशन अनुसार भएको कामहरुको बारेमा स्पष्टिकरण लिने काम भएमात्रै परिणाम आउने बताए ।
हाइड्रो इलेक्ट्रीसिटी
सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ५ वर्षे व्यवसायीक योजनालाई कार्यान्वयनमा जोड दिएको छ ।
कम्पनीको आठौं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष तथा उर्जा सचिव दिनेशकुमार घिमिरेले ५ वर्षे व्यवसायीक योजनाअन्तर्गत निजी तथा सरकारी स्तरबाट विकास गरिने जलविद्युत कम्पनीमा ३६ अर्ब २६ करोड रुपैयाँ लगानी गर्न लागिएको बताए ।
भिडियो हेर्नुहाेस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
-
राजनीतिक नेतृत्वले राज्यप्रति जनविश्वास बढ्ने काम गर्नुपर्छ : सांसद गुरुङ
-
राजधानीमा ‘खजुरे ब्रो’ प्रिमिएर
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)
-
न्यायमा सबैको सहज पहुँच पुर्याउन सूचना प्रविधिको प्रयोगलाई अझ बढाउनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
देउवाले बोलाए शीर्ष नेताको बैठक