केन्द्रीय संस्करण
लकडाउन डायरी

भीम रावलको लकडाउन डायरी : देश–विदेश नियाल्दै बित्छ दिन

person explore access_timeचैत २०, २०७६ chat_bubble_outline0

कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि मुलुकमा १० दिनदेखि लकडाउन जारी छ । यसले बाहिरी गतिविधि करिब ठप्प छ ।

सार्वजनिक कार्यक्रम र नेता कार्यकर्तासँग दिन बिताउने राजनीतिक दलका नेताहरुको दैनिकी घरभित्र सीमित हुन पुगेको छ । यो समयमा अधिकांश नेताले आफ्नौ दैनिकी अध्ययनसँग बाँधेको पाइन्छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य डा. भीम रावल पनि अध्ययनशील नेतामा गनिन्छन् । देश तथा विदेशका गतिविधिमा गहिरो अध्ययन गर्ने उनको स्वाभाव छ । 
लकडाउनपछिको दिनचर्या, कोरोना नियन्त्रण र भावी रणनीतिबारे विश्वस्तरमा भएका गतिविधिका साथै नेपालले गर्नुपर्ने कार्य नेता रावलले यसरी सुनाए  ः

लकडाउन घोषणा गर्नुभन्दा अगाडि हामीले पार्टीको कार्यक्रम कसरी अगाडि बढाउने भन्नेबारे परामर्श गरिरहेका थियौँ । त्यसको केही दिन अगाडि सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरीय कार्यकर्ता भेला गरेका थियौँ । त्यसपछि थप कार्यक्रम बनाउँदै थियौँ । पार्टीका सदस्यहरुको सदस्यता नवीकरण गर्ने र नयाँ वितरणका साथै यो हिउँदमा पार्टीका विभिन्न तहको अधिवेशन गर्ने योजना थियो ।

तर नेपालमा पनि कोरोना सङ्क्रमणको उच्च जोखिम देखिन थालेपछि हामी पार्टीका सबै कार्यक्रम तत्काल बन्द गर्ने अवस्थामा पुग्यौँ । 

साथै पार्टीका सबै कार्यकर्तालाई आ–आफ्नो ठाउँबाट आफू जोगिने, जनतालाई जोगाउने, त्यहाँ कसैलाई समस्या परेको छ भने सम्बन्धित निकायमा खबर गरेर समाधानका लागि पहल गर्ने र सही सूचना प्रवाह गर्ने काममा लार्गौँ भनिरहेका छौँ ।


म आफूले विश्वका विभिन्न देशमा कोरोना कसरी फैलिरहेको छ ? त्यसको रोकथाम गर्न केके उपाय तीव्रतरले अपनाएका छन्, हाम्रोमा केके भइरहेको छ ? हाम्रो देशका विभिन्न भू–भाग र विशेषगरी सुदूरपश्चिम प्रदेशका सीमा नाकामा उत्पन्न समस्याहरुलाई समाधान गर्नका लागि प्रदेश सरकार, स्थानीय तह, पार्टी पङ्क्ति र केन्द्रीय सरकारसँग कुराकानी गर्ने काममा व्यस्त छु । दिनचर्या यसरी नै वितिरहेको छ ।
साथै कोरोना सङ्क्रमणबाट जनतालाई जोगाउन नेपाल सरकारको तर्फबाट जेजति घोषणा भएका छन् तिनको कार्यान्वयन र तलदेखिएका समस्या समाधान गर्ने सन्दर्भमा समन्वय गर्दा, विश्वमा कोरोना प्रभाव र रोकथामका लागि भइरहेका प्रयासमा अध्ययन गर्दागर्दै म त लकडाउनमा पनि व्यस्तै बनेको छु ।

किनभने ती कुराको अध्ययन गर्दा पनि समय लाग्ने भयो । साथै विभिन्न ठाउँबाट मानिसहरुले समस्या भएको भन्दै फोन गर्नुहुन्छ । त्यसलाई समाधान गर्नुपर्यो । लकडाउनमा मेरो व्यक्तिगत कुराभन्दा पनि यी कामहरुमा समय वितिराखेको छ ।

घरमा बसिएको छ, फुर्सद भयो भन्ने अवस्था बनिराखेको छैन । तर पनि केही गरी समय निकाल्न सकियो भने राजनीतिक आन्दोलन सम्बन्धीका किताबहरु पढ्ने काम पनि गरिहेको छु । तर लकडाउन भएयता चिकित्सकले फोन गर्नुहुन्छ, यता र उता सुदूरपश्चिम कार्यकर्ताका फोन आउँछन् ।

उनीहरुको समस्या समाधान गर्नतिर लाग्नुपर्यो । यहाँ कहाँ केके भइरहेको छ, समाचार पनि हेर्नै पर्यो । अन्तर्राष्ट्रिय समाचार पनि हेर्नुपर्यो । एउटा किताब हिजो (मङ्गलबार) यसो पल्टाएर मात्र हेरेँ । पढ्ने समय नै पाइहिरहेको छैन ।

कार्य क्षेत्रमा काम गर्न नगएर व्यस्त नभए पनि मैले अघि उल्लेख गरेका विभिन्न विषय र समस्याले गर्दा लकडाउनमा पनि साह्रै व्यस्तता छ । समय कसरी विताउने भन्दा पनि समय वितेको अत्तोपत्तो नहुने स्थिति छ ।

 कोरोना रोकथाममा विश्वनजर
विभिन्न देशहरुले कोरोना भाइरसबाट उत्पन्न हुने राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र रणनीतिक प्रभावबारे चिन्तन गरेको र त्यसको विश्लेषणमा मान्छेहरुलाई लगाएको देखिएको छ ।

सँगसँगै यो भाइरसबाट कसरी जोगिने भनेर खोप पत्ता लगाउन ठूला सङ्ख्यामा वैज्ञानिकलाई अध्ययन अनुसन्धानमा लगाइएको देखिन्छ । अमेरिका र चीनले यसमा केही प्रगति गरेको दाबी गरेका छन् । 

विश्व स्वास्थ्य सङ्गठन, विश्व बैङ्क, संयुक्त राष्ट्र सङ्घ लगायतका अन्तर्राष्ट्रिय संस्थाले मानव जाति ठूलो सङ्कटमा परेको छ । त्यसको कसरी रक्षा गर्ने भन्नेबारे देशहरुले बुझेर काम गर्नुपर्छ भनेर जोड दिइरहेका छन् ।

सँगसँगै उनीहरुले यो भाइरस कम भए पनि भविष्यमा वर्तमान अवस्थाबाट आउने आर्थिक मन्दीबारे समयमै सोच्नुपर्छ भनिरहेका छन् । यी सबै कुरा अध्ययन गरेर हामीले पनि आफ्नो बारेमा सोच्नुपर्ने बेला आएको छ ।

नेपालमा पनि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र रणनीतिक प्रभाव पर्नेछ । त्यसैले हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका गतिविधिलाई नेपाल सरकारका तर्फबाट एउटा विशेष टोली नै बनाउनुपर्छ । त्यसले विशेष रूपमा अध्ययन गर्छ । तिनै अन्तर्राष्ट्रिय अनुभवबाट हामीले सिक्नुपर्छ ।


रोग प्रतिरोधका लागि, नियन्त्रणका लागि र समग्रमा यसबाट कसरीमाथि उठ्ने भन्नेबारे अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै कुरा सिक्न सकिन्छ ।

कोरोना नियन्त्रणमा समयमै ध्यान नदिने देशहरुमा भयावह अवस्था आएको हामीले देखिरहेको छौँ । यसबारे समयमै ठोस कदम चाल्न सक्नुपर्छ । होइन भने स्थिति नियन्त्रणभन्दा बाहिर जाने खतरा हाम्रो देशमा पनि देखिएको छ ।

 कतिपयले यसबारे आतङ्क फैलाइयो भन्ने खालका कुरा गरेको सुनिन्छ । नेपालमा हाल्ला फैलाउने काम भएको मलाई लाग्दैन । यो रोगको प्रकृति नै व्यापक तीव्ररूपमा फैलिने, मानिसहरु अलग अलग बस्नुपर्ने हुनाले यस्तो देखिएको हो ।

सँगसँगै यसरी कति दिन जाने हो भन्ने केही टुङ्गो नभएकाले हामीले दैनिक जीवनलाई कसरी नियमित पार्ने त्यतातिर साच्नुपर्ने अवस्था छ ।

उत्पादनका क्षेत्रलाई कसरी नियमित पार्ने, आर्थिक गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा पनि गम्भीर रूपमा सोच्नुपर्ने अवस्था विश्व मानव जातिमा देखिएको छ । विशेषगरी नेपाल जस्तो देशले त्यसलाई अझै गहिरिएर हेर्नुपर्ने अवस्था छ । 

नेपालमा नजर
कोरोना रोकथाममा हामी झनै पछाडि छौँ । हामीसँग यसविरुद्ध लड्न चाहिने स्वास्थ्य सामग्रीको उत्पादन छैन । साथै अहिलेसम्म हामी तम्तयार पनि देखिएका छैनौँ ।

हामीले जुनबेला चीनको उहानबाट नेपालीलाई उद्धार गरेर ल्यायौँ त्यो बेलादेखि नै स्वास्थ्य उपकरणहरु कहाँकहाँ पाइन्छ ? खोजी गरी त्यसलाई भित्र्याएर ७७ वटै जिल्ला अस्पताल तथा धेरै मानिसले उपचार गर्ने अस्पतालमा पुर्याको भए यो अवस्था आउने थिएन । त्यो बेलाको समय उपयोग गरेनौँ जस्तो लाग्छ । अहिले नेपाल सरकारबाट जेजस्ता निर्देशन र उपाय अवलम्बन गरिएको छ त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग राजनीतिक दल सबैले सहयोग गर्नुपर्छ । किनभने यो हाम्रो साझा चुनौती हो ।

यसमा राजनीति विचार र दृष्टिकोण लिएर अलग अलग हिँडेर साध्य हुनेवाला छैन । साथै अहिले स्वास्थ्य सामग्री उपलब्ध गराउँदा कतै अनियमितता नहोस् भनेर सचेत हुने, कसैबाट जनताको विश्वास टुटाउने कुरा आए त्यसलाई रोक्ने यो संवेदनशील बेला हो ।

साथै भारतबाट आएका नेपालीलाई सिमानामा अलपत्र पर्ने कुराको समाधान खोज्नुपर्छ । मैले धेरै पहिलेदेखि नै भन्दै आएको थिएँ । सुदूरपश्चिम प्रदेशमा भारतबाट ठूलो सङ्ख्यामा नेपालीहरु आउँछन् । त्यसका लागि ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको व्यवस्था मिलाइयोस् भन्दा बेवास्ता गरियो, सुनिएन । म अहिले पनि भन्छु, आफ्ना देशका नागरिकहरु सिमानामा जम्मा भइसकेपछि जतासुकै जाउन् भन्न मिल्दैन ।


नेपाली जम्मा भएका सिमानामा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरण पठाएर तिनीहरुको स्वास्थ्य अवस्था हेरेर नेपालमा ल्याएर क्वारेन्टाइनमा राख्दै व्यवस्था राज्य छ भन्ने अनुभूति दिलाउनुपर्छ । 

हामीले देखिरहेका छौँ, सबै बन्द गरिएको बेला पनि अन्य मुलुकले आफ्ना नागरिकलाई उद्धार गरी लगिएको छ । हामी चाहिँ सिमानामा बसेको नागरिकलाई तिमीहरु जहाँसुकै जाओ भन्न मिल्दैन । भारतसँग समन्वय गरेर बाँकीलाई सिमानामा जम्मा हुन दिनुहुँदैन । त्यहाँ आइसकेकालाई स्वास्थ्य सुरक्षा मिलाएर नेपाल भित्र्याउनुपर्छ ।

यस्तो बेलामा उनीहरुमाथि राज्यले दुव्र्यवहार गर्यो भने मानसिक असन्तुलन हुने खतरा हुन्छ । उनीहरुलाई नेपाल भित्र्याउनुको विकल्प देखिँदैन ।

हामीले सोच्नुपर्ने अर्को विषय के भने अब हिउँदे बाली भित्र्याउने समय आयो । यस्तो अवस्थामा पाकेको अन्न बालीलाई कसरी भित्र्याउने ? हाम्रो देशको जनसङ्ख्याको ठूलो हिस्सा कृषिमा आधारित छ । मकै बाली लगाउने दिन पनि धेरै टाढा छैन ।

कतिपय ठाउँमा बीउ राख्नुपर्ने बेला भएको छ । कतिपय ठाउँमा चैते धान लगाउने बेला हो यो । त्यसैले कृषिको क्षेत्रतिर ध्यान दिएर अब कसरी जाने भनेर जनतालाई विश्वस्त पार्न आवश्यक छ । उत्पादन हुन सकेन भने भोलिका दिन हाम्रा लागि कष्टकर हुन सक्छन् । यो कुरातिर ध्यान दियौँ भने कोरोना भाइरसबाट बाहिर निस्किएपछि सहजै उठ्न सक्छौँ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.