शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेकपा विवाद : कार्यदलले शनिबार प्रतिवेदन बुझाउने

शुक्रबार, ०५ भदौ २०७७, १४ : ५१
शुक्रबार, ०५ भदौ २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको समस्या समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले शनिबारसम्ममा  आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने भएको छ ।

तर अपेक्षाकृत पार्टीका तमाम समस्या सम्बोधन गर्नेभन्दा पनि झिनामसिना कुरालाई समेटेर कार्यदलले औपचारिकता पूरा गर्दै प्रतिवेदन बुझाउन लागेको स्रोतले बताएको छ ।

‘शुक्रबार बेलुकासम्म सम्भव भए शुक्रबारै र नभए भोलिसम्ममा प्रतिवेदन अध्यक्षलाई बुझाउछौँ,’ कार्यदलका एक सदस्यले रातोपाटीलाई भने, ‘आजै बुझाउने भनिएको थियो तर एक सदस्य काठमाडौँ बाहिर जानुभएको छ । आज उहाँ कतिबेला आउनुहुन्छ बैठक बस्न सम्भव नहुन पनि सक्छ । त्यसैले शनिबारसम्ममा प्रतिवेदन बुझाउने तयारी छ ।’

कार्यदलको बैठक शुक्रबार बसेर शुक्रबारै प्रतिवेदन बुझाउने तयारी भए पनि एक कार्यदल सदस्य भीम रावल शुक्रबार अछाम गएकाले शुक्रबारको बैठक बस्ने नबस्ने अनिश्चित बनेको हो ।

‘उहाँ छिटै आउनुभयो र बैठक बस्न सम्भव भयो भने आजै बैठक बस्ला नत्र भोलि मात्रै बैठक बसेर अन्तिम रूप दिन्छौँ’, ती सदस्यले रातोपाटीसँग भने ।

कतिपयले कार्यदलभित्रै विवाद भएका कारण प्रतिवेदन बनाउन ढिलाई भएको आशङ्का गरिरहेका बेला ती सदस्यले भने कार्यदलभित्र कुनै विवाद नभएको दाबी गरे  । उनले भने, ‘बाहिर आएका कुरामा कुनै सत्यता छैन । कार्यदलमा कुनै विवाद छैन ।’

कार्यदललाई कुनै समयसीमा नतोकिए पनि छिट्टै प्रतिवेदन बुझाउने नेताहरुले बताएका थिए ।

नेकपाको समग्र विवाद समाधान गर्न भन्दै गत शुक्रबार गठन भएको कार्यदलले शनिबारबाट आफ्नो काम सुरु गरेको थियो । पहिलो दिन शनिबार र दोस्रो दिन आइतबार राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीको घरमा कार्यदलको बैठक बसेको थियो । तेस्रो दिनको बैठक नेकपा कार्यालय धुम्बराहीमा बसेको कार्यदलको बैठक चौथो दिन बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको थियो ।

पार्टीभित्रको समस्या समाधान गर्न कार्यदल गठन गरेर काम भइरहेका बेला सरकारले भटाभट राजनीतिक नियुक्ति गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुले असन्तुष्टि जनाएका थिए । सोही क्रममा अध्यक्ष प्रचण्डले बिहीबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेटेर कार्यदल गठनपछि गरिएका नियुक्तिहरु सच्याउन सुझाव दिएका थिए ।

एकातिर कार्यदल गठन गरेर निकास खोज्ने भन्ने अर्कोतिर नियुक्ति गर्दै गएपछि प्रचण्ड–माधव समूह ओलीको कार्यशैलीप्रति सशङ्कित हुन पुगेको थियो । बुधबार नेता नेपालसहितका नेता ओलीको कार्यशैलिमा सुधार नआएको भन्दै अध्यक्ष प्रचण्डलाई भेटेर अर्का अध्यक्ष ओलीसँग कुरा गर्न सुझाव दिएका थिए ।

कार्यदलले दुई अध्यक्षको कार्यविभाजन, महाधिवेशन, मन्त्री  र मुख्यमन्त्रीहरुको हेरफेर, महत्त्वपूर्ण राजनीतिक नियुक्ति लगायतका यावत समस्यालाई सम्बोधन गर्न निश्चित विधि बनाउने बुझिएको छ । यसक्रममा अध्यक्ष ओलीले यो कार्यकालभरी सरकार चलाउने र प्रचण्डले पूर्ण अधिकारसहित पार्टी सञ्चालन गर्ने दुई अध्यक्षबीच लगभग सहमति भइसकेको छ ।

त्यसमा सरकारले गर्ने महत्त्वपूर्ण निर्णय पार्टीसँगको छलफल र सुझावका आधारमा गर्ने पनि नेताहरुबीच सहमति जुटेको छ ।

ठोस निकास आउनेमा आशङ्का

नेकपाका एक स्थायी समिति सदस्यका अनुसार कार्यदलबाट समस्या समाधानका लागि जति अपेक्षा गरिएको हो त्यति ठोस ढङ्गको प्रतिवेदन आउने सम्भावना छैन ।

उनका अनुसार तर तत्कालका लागि भने नेकपा विवाद साम्य भएर जानेछ । तर पनि ठोस विषय नआए दीर्घकालीन समस्याको समाधान हुने देखिँदैन ।

‘दुई अध्यक्षको कार्यविभाजन, केही मन्त्रीको हेरफेर र केही मुख्यमन्त्री हेरफेर गर्नेबाहेक खासै ठोस कुरा आउलाजस्तो छैन’, वरिष्ठ नेता नेपाल निकट ती स्थायी समिति सदस्यले भने, ‘पार्टी एकतालाई बलियो बनाउने, महाधिवेशन चैतमा गर्ने लगायतका कुरामा कसैको विवाद छैन । त्यस्तै मन्त्रीहरुको हेरफेर पनि स्वाभाविक नै हो । जटिल विषयका रूपमा रहेको एक व्यक्ति एक जिम्मेवारी र विधि पद्धतिको कुरामा प्रतिवेदन बोल्ला जस्तो लाग्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप