मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

विश्व बैंकले नेपाललाई भन्यो–‘ऋणको ब्याज स्थगन गर्न सहयोग गरिदिनुस्’

शुक्रबार, ०५ भदौ २०७७, १७ : ४७
शुक्रबार, ०५ भदौ २०७७

काठमाडौ । विश्व बैंकले विभिन्न दातृ निकायबाट लिएको ऋणको ब्याज स्थगनका लागि सहयोग गर्न नेपाललाई आग्रह गरेको छ । शुक्रबार अर्थमन्त्री डा.युवराज खतिवडासँग विश्व बैंकको दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष हार्टबिग सेफरले भर्चुअल संवाद गर्दै यस्तो सहयोग मागेका हुन् । कोरोना महामारी बढ्दै जाँदा नेपालजस्ता कम विकसित मुलुकमा स्रोतको अभाव देखिनसक्ने अवस्था रहेको भन्दै त्यसका लागि त्यसको वृद्धि गर्नका लागि सन् २०२१ सम्म ब्याज स्थगन गर्न विश्व बैंकले दातृ राष्ट्रहरुसँग प्रस्ताव गरेको छ । विश्व बैंकको सदस्य राष्ट्रको रुपमा बैंकले यसमा समर्थन खोजेको हो ।

 सो छलफलमा नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा कोभिडले पारेको र पार्नसक्ने प्रभाव, यसको रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले चालेका कदम तथा विश्व बैकको सहयोगमा सञ्चालित आयोजनाको बारेमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ । 

सो छलफलमा अर्थमन्त्रीले विश्व बैंकले कोभिडको असर न्यूनीकरणका लागि गरेको सहयोगप्रति धन्यवाद दिँदै स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका लागि थप सहयोगको लागि अपेक्षा गरेको बताएका थिए । नेपालले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सो को लागि आवश्यक श्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको अर्थमन्त्रीको भनाई थियो । 

खतिवडाले कोभिडको कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले नेपालको आर्थिक वृद्धिदर गतवर्ष न्यून हुन गएको भएपनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचकहरु सकारात्मक रहेको बताएका थिए । उनले मुद्रास्फीति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १.६ अर्बभन्दा बढी रहेको, सरकारको ट्रेजरी सकारात्मक रहेको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको बताएका थिए । 

उनले विषम परिस्थितिमा पनि विश्व बैकको सहयोगमा सञ्चालित आयोजनाहमा राम्रो प्रगति रहेको र आईडा मुलुकहरुमा नेपालको कार्य सम्पादन उत्कृष्ट हुनुले द्धिपक्षीय सहयोग थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा रहेको समेत बताए । वित्तीय दबाबका बावजुद नेपालले आईएफसीको शेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैकबीच समूहबीच लामो समयदेखि रहेको  न्यानो सम्बन्धलाई जीवन्त राखेको समेत बताए । 

विश्व बैंकसँग हालै सम्झौता भएको रणनैतिक सडक आयोजना हालसम्मकै ठूलो एकल आयोजना रहेको र गत बर्ष सो लगायत अन्य महत्वपूर्ण आयोजना सम्झौता भई करिब १ अर्ब डलर थप प्रतिबद्धता प्राप्त भएको बताए । छलफलमा उपाध्यक्ष सेफरले नेपालको सार्वजनिक ऋण व्यवस्थापनको साथै समष्टिगत आर्थिक अवस्था पनि राम्रो रहेकोले कोभिडको प्रभाव कम हुने बित्तिकै नेपालको अर्थतन्त्र आफ्नो लयमा फर्कने विश्वास व्यक्त गरे । 

उक्त छलफलमा विश्व बैंकका तर्फबाट कन्ट्री डाईरेक्टर फारिश हदाद जेरभोस, अपरेसन म्यानेजर लाडा स्ट्रोलकोभा सहभागी थिए भने अर्थ मन्त्रालयबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल समेत सहभागी थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप