बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा आइसोलेसन कक्षको अभाव

आइतबार, १४ भदौ २०७७, १० : ४१
आइतबार, १४ भदौ २०७७

पोखरा । संक्रमितको संख्या बढ्दै जाँदा पोखरामा आइसोलेसन बेडको अभाव देखिन थालेको छ । गण्डकी प्रदेश सरकारको कोरोना विशेष अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रष्तिठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हाल ४० बेड क्षमताको आइसोलेसन कक्ष रहेकोमा संक्रमति बढेपछि बेड संख्याको अभाव देखिएको छ ।

अस्पताल निर्देशक डाक्टर अर्जुन आचार्यले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोरोना अस्पतालको आइसोलेसनमा १० वटा आइसीयूको व्यवस्था पनि रहेको बताए ।  शिशुवामा पनि संक्रामक तथा सरुवा रोग अस्पताल निर्माण भएको र मालेपाटनमा पनि क्वारेन्टाइन रहेकोमा सँगसँगै अरु पनि बेड सङ्ख्या बढाउने तयारी भइरहेको उनले जानकारी दिए । संक्रमणपछि जटिल समस्या देखिएका बिरामीको भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले नै उपचार गरिरहेको उनले बताए ।

पछिल्लो समयमा स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भइरहेकाले नियमित सेवा दिन गाह्रो भइरहेको उनले बताए । ‘इमर्जेन्सी वार्ड र ओपिडीमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुँदा नियमित सेवा प्रदान गर्न एकदमै गाह्रो भई रहेको छ । तर, अस्पतालका अन्य सेवा पनि बन्द गरेका छैनौँ । कर्मचारीहरु कम भएको हुनाले वार्ड पनि मर्ज गरेका छौँ,’ उनले भने, ‘उहाँहरुलाई क्वारेन्टाइनमा लैजानु प¥यो । पीसीआर गर्नुप¥यो । त्यो गर्दा हामीलाई स्टाफ सर्टेज छ ।’

केही समय अघि मात्रै इमर्जेन्सी वार्डमा उपचारका लागि भर्ना भएका बिरामीमा संक्रमण पुष्टि हुँदा ३३ जना स्वास्थ्यकर्मी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।  उपचारका लागि आएका बिरामीमध्ये शंका लागेका बिरामीलाई प्रिआइसोलेसनमा राखेर उपचार गर्नु पर्नेमा कर्मचारीको अभाव हुँदा अस्पतालले प्रिआइसोलेसन तयार पारे पनि सञ्चालनमा आउन सकेको छैन । डाक्टर आचार्यले चाँडोभन्दा चाँडो प्रिआइसोलेनसनलाई सञ्चालनमा ल्याउने बताए ।

कास्की जिल्लाको हकमा सामाजिक विकास मन्त्रालय, महानगर प्रमुखको समन्वयमा आइसोलेसन कक्ष विस्तार गर्ने भनेर छलफल भइरहेको उनले जानकारी दिए । ‘त्यसको लागि हामीले प्रतिवेदन पनि बुझाइसकेका छौँ । त्यो कार्यान्वयन भयो भने मात्रै पनि यहाँ धेरै सहज हुन्छ,’ उनले भने ।

आइसोलेसन कक्ष विस्तारको लागि आइसियू र भेन्टिलेटरसहित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १५ बेड र मितेरी अस्पतालमा १० बेड थप्न सकिने प्रस्ताव आफूहरुले गरेको उनले बताए । यसका लागि चाहिने खर्च र जनशक्तिको विवरण पनि पेश गरेको उनले जानकारी दिए ।

महामारी आउँदा जनशक्ति पनि थिएन, मेसिन पनि थिएन

अहिले गण्डकीमा दैनिक १ हजार बढी स्वाब जाँच गर्ने मेसिन क्षमता छ । त्यही अनुसारको जनशक्ति पनि छन् । यद्यपि, महामारि आउनु अघि प्रदेश सरकारले शुन्यबाट महामारिसँग युद्ध सुरु गरेको प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले बताइन् । अहिले परीक्षणको क्षमता बढाउने काम भइरहेको उनले बताइन् ।

हिजो गण्डकी प्रदेशमा स्वाब कलेक्सन गरेर काठमाडौं पठाउनु पर्ने अवस्था रहे पनि आज दैनिक एक हजार बढी स्वाब जाँच्न सक्ने क्षमता रहेको उनले बताइन् । जनशक्ति र प्रयोगशाला बिना नै कोरोना महामारिसँग भिड्न अघि सरको गण्डकी सरकारसँग अहिले २ वटा प्रयोगशाला  र २८ जना प्रयोगशालामा काम गर्ने दक्ष जनशक्ति रहेको उनले सुनाइन् ।

‘बाहिरबाट आउनु भएको २ जना जनशक्तिले ४ जनालाई सिकाउनु भयो र ४ जनाले २८ जनालाई सिकाउनु भयो । अहिले हामीसँग २८ जना जनशक्ति छन्,’ उनले भनिन् ।

अहिले कम्युनिटी लेभलमा स्याम्पलिङको काम चलिरहेको उनले बताइन् । भीडभाड बढी हुने ठाउँहरुमा स्याम्पलिङको काम भइरहेको उनले जानकारी दिएन् । तर, मानिसहरुको जमघट हुने क्रम बाक्लिएका कारण प्रयास गरे जति प्रतिफल पाउन नसकेको उनले जिकिर गरिन् । ‘आम नागरिक सचेत भए मात्रै यो रोग नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने हामीलाई लागेको छ,’ उनले भनिन्, ‘धेरै नै परीक्षण गर्न सक्छौँ । तर, यसको आफ्नै प्रोटोकल पनि छ । सकिन्छ भन्दैमा सबैलाई परीक्षण गर्दा राज्यको ढुकुटी रित्तिन पनि सक्छ । अस्पतालमा अपरेशन गरि हाल्नुपर्ने बिरामी, सिकिस्त बिरामी, फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुको स्याम्पलिङ गरि रहेका छौँ ।’

आइसोलेसन कक्षको विस्तारमा प्रदेश सरकार लागिपरेको उनको भनाइ छ । ‘सात प्रदेशमध्ये गण्डकी प्रदेशले सरुवा रोग अस्पताल बनाउनुपर्छ भनेर आवाज उठायो । त्यही आवाजलाई नेपाल सरकारले स्वीकृत गरेर आफ्नो नीति तथा कार्यक्रममा हरेक अस्पतालमा संक्रामक रोग तथा सरुवा रोग अस्पताल बनाउनुपर्छ भनेर निर्णय ग¥यो,’ उनले भनिन्, ‘त्यो भन्दा पहिले लेखनाथ सामुदायिक लायन्स अस्पतालसँग छलफल गरेर यो अस्पताललाई हाम्रो प्रदेश सरकारको स्वामित्वमा ल्याइसकेका छौं । त्यहाँ कोरोना संक्रमितलाई राख्ने काम गरिरहेका छौँ ।’

अहिले प्रदेश सरकारको ३८ वटा आइसोलेसन कक्ष रहेको उनले बताइन् । जिल्ला जिल्लामा पनि आइसोलेसन विस्तार भइरहेका छन् । यद्यपि, गण्डकी सरकारले ९ जिल्लाका अस्पताललाई ३ वटा भेन्टिलेटर र ५ वटा आइसीयू शैय्या मनाङ र मुस्ताङ ३ वटा आइसीयू शैय्या र २ वटा भेन्टिलेटर व्यवस्थापन गर्ने बजेट व्यवस्थापन गरेको छ । तर, बजारमा अभावका कारण विभिन्न कारणले ४ वटा अस्पतालले सो कुरा प्राप्त गर्न नसकेको उनले बताइन् । अरु सबै अस्पतालमा यसको व्यवस्थापन भइसकेको उनले सुनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप