बागमती प्रदेश : संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक
हेटौँडा । बागमती प्रदेशसभा सचिवालयले संसदीय समितिको सभापति निर्वाचनका लागि कार्यक्रम निर्धारण गरी सूचना प्रकाशन गरेको छ । सचिवालयले बिहीबार प्रदेशसभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम १४९ को उपनियम (१) बमोजिम समितिको सभापति पदको निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरेको हो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको स्वीकृतिमा प्रदेशसभाका प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचनका कार्यक्रम निर्धारण गरिएको हो ।
सम्बन्धित समितिको सभापति पदमा निर्वाचनमा उम्मेदवार बन्न सो समितिका सदस्यले एक जना सदस्यको समर्थन समिति समितिको सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावमा प्रदेशसभा नियमावली (पहिलो संशोधन). २०७४ को अनुसूची– ३ बमोजिमको ढाँचामा पेश गर्नुपर्ने हुन्छ । उक्त प्रस्तावको आधारमा सचिवालयले निर्वाचन कार्यक्रम अनुसार प्रक्रिया अघि बढाउने छ ।
सूचनामा उल्लेख भएअनुसार प्रदेश मामिला समितिको सभापतिका लागि जेठ ३ गते मतदाताको नामावली प्रकाशन बिहान ११ बजे, मतदाता नामावली माथि दाबी विरोध जेठ ३ गते बिहान ११ बजेदेखि दिउँसो १ बजे सम्म प्रदेशसभा सचिवालयको कोठा नम्बर १२ मा हुने गरी कायम गरिएको छ । मतदाताको अन्तिम नामावली प्रकाशन जेठ ३ गते दिउँसो २ बजे कायम गरिएको छ भने मनोनयन दर्ताका लागि प्रदेशसभा सचिवालयको कोठा नम्बर १२ मा जेठ ४ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म कायम गरिएको छ ।
मनोनयन फिर्ताका लागि ४ गते साँझ ५ बजेदेखि ६ बजेसम्म कायम गरिएको छ भने साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । निर्वाचनको कार्यक्रम भने जेठ ५ गते शनिवार दिउँसो २ बजेदेखि सचिवालयको कोठा नम्बर ७६ मा हुनेछ ।
सार्वजनिक लेखा समिति सभापतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन जेठ ३ गते बिहान ११ बजे कायम गरिएको भने प्रदेशसभा सचिवालयको कोठा नम्बर ७६ मा मतदाता नामावली माथि दाबी विरोध बिहान ११ बजेदेखि १ बजेसम्म र मतदाताको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने कार्यक्रम रहेको छ ।
सो समितिको सभापतिका लागि मनोनयन दर्ता प्रदेशसभा सचिवालयको कोठा नम्बर ७६ मा जेठ ४ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म, मनोनयन फिर्ताको समय साँझ ५ बजेदेखि ६ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे निर्धारण गरिएको छ । निर्वाचनको कार्यक्रम जेठ ५ गते दिउँसो २ बजेदेखि प्रदेशसभा सचिवालयको कोठा नम्बर ७६ मा हुनेछ ।
अर्थ तथा विकास समितिको सभापतिको निर्वाचनका लागि जेठ ३ गते ११ बजे मतदाता नामावली प्रकाशन ११ बजेदेखि १ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध सचिवालयको कोठा नम्बर ३४ मा हुनेछ भने मतदाताको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुनेछ ।
सो समितिको सभापतिको लागि जेठ ४ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रदेशसभा सचिवालय कोठा नम्बर ३४ मा मनोनयन दर्ता, मनोनयन फिर्ताका लागि दिउँसो ५ बजेदेखि ६ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गर्ने कार्यक्रम रहेको छ । उक्त समितिको सभापतिका लागि निर्वाचनको कार्यक्रम प्रदेशसभा सचिवालय कोठा नम्बर ३४ मा जेठ ५ गते मध्यान्ह १२ः३० मा हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन जेठ ३ गते ११ बजे, मतदाता नामावलीमाथि दाबी विरोधका लागि ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालय कोठा नम्बर ३७ मा हुनेछ भने दिउँसो २ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
सो समितिको सभापतिका लागि जेठ ४ गते ३ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता, मनोनयन फिर्ताका लागि साँझ ५ बजेदेखि ६ बजेसम्मको समय निर्धारण गरिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन निर्वाचन जेठ ४ गते ६ बजे हुनेछ । प्रदेशसभा सचिवालयको कोठा नम्बर ३७ मा जेठ ५ गते उक्त समितिको सभापतिका लागि दिउँसो ३ः३० बजे निर्वाचनको कार्यक्रम हुनेछ ।
उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिका लागि जेठ ३ गते बिहान ११ बजे मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमाथि दाबी विरोधका लागि बिहान ११ बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ भने मतदाताको नामावली प्रकाशन दिउँसो २ बजे गरिने छ ।
सो समितिको सभापतिको निर्वाचनका लागि जेठ ४ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रदेशसभा सचिवालयको कोठा नम्बर ७१ मा मनोनयन दर्ता, ५ बजेदेखि ६ बजेसम्म मनोनयन फिर्ता, ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । उक्त समितिको सभापतिका लागि जेठ ५ गते दिउँसो ३ः३० बजे निर्वाचनको कार्यक्रम तोकिएको छ ।
निर्वाचित समितिका सभापतिहरूको शपथ ग्रहण भने जेठ ६ गते बिहान १०ः३० बजे निर्धारण गरिएको छ ।