शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा जोर बिजोर प्रणाली मिचेर चल्न थाले सवारी–साधान (तस्बिरहरु)

अत्यावश्यक बाहेकलाई छाड्दैनौँ : ट्राफिक प्रहरी
सोमबार, १२ असोज २०७७, १६ : १८
सोमबार, १२ असोज २०७७

काठमाडौं । कोभिड–१९ (कोरोनाभाइरस) संक्रमणको जोखिमबाट बच्न काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोर बिजोर लागू गरिएको छ । गृह–मन्त्रालयको निर्देशनमा काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागू हुनेगरी सो निर्णय लागु गरेका हुन् । 

स्थानीय प्रशासनले निर्णय गरेपनि व्यवहारमा जोर–बिजोर प्रणालीमा कडाइ गरिएको देखिँदैन । उपत्यकाका सडकमा जोर र बिजोर दुवै नम्बरका सवारी सवारी गुँडिरहेका छन् । कार्यालय समयमा काठमाडौंका मुख्य चोकमा सवारी चर्को जाम नै हुन्छ । 

स्थानीय प्रशासनले जोर बिजोर कार्यान्वयनको जिम्मा ट्राफिक प्रहरी महाशाखालाई दिएको छ । महाशाखाले जोर बिजोरको नियम मिच्ने दैनिक ७ देखि ८ सय सवारी साधनलाई होल्ड (दिनभर रोकेर राख्ने) गर्दै आएको दावी गरेको छ । तर, सडकमा दुबै नम्बरको सवारी सराबरी गुँडिरहेकोे भेटिन्छ । 

जोर बिजोर प्रणाली खुकुलो नबनाएको दावी गर्छन्, ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकाल । ‘दैनिक ठूलो संख्यामा सवारी साधन होल्ड गरेका छौं’ ढकालले भने, ‘अत्यावश्यक सेवा वस्तुसँग सम्बन्धित सवारीलाई चाहिँ जोर बिजोर नम्बरका कारण रोक लगाएका छैनौं ।’ 

सोमबार अपरान्हसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक प्रहरीले बिजोर नम्बर भएपनि नियम मिचेर चलेका ३ सय ४४ सवारीलाई होल्ड गरेको छ । ‘साँझसम्म सो संख्या बढेर करिब ८ सय पुग्छ,’ एसएसपी ढकालले भने–‘जनशक्तिले भ्याएसम्म हामीले होल्ड गरेका छौं ।’ 

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार अत्यावश्यक सेवा–वस्तुसँग सम्बन्धित सवारीलाई जोर बिजोरको नियम लाग्दैन । मेडिकल सामग्री, खाद्यान्न, तरकारी, फलफूल र इन्धन बोक्ने सवारीलाई जोर बिजोरका आधारमा ट्राफिक प्रहरीले होल्ड गरेको छैन । ‘सरकारी कर्मचारी र बैंकमा कार्यरत कर्मचारीलाई पनि सहजिकरण गरेका छौं’ एसएसपी ढकालले रातोपाटीसँग भने,‘अत्यावश्यक काममा प्रयोग भएका सवारीलाई छाड्दा बाक्लै चलेको चस्तो देखिन्छ, तर हामीले जोर बिजोरमा कम्प्रमाइज गरेका छैनौं ।’ 

जोर–बिजोर प्रणाली मिचेर चल्ने सवारीलाई तत्काल होल्ड गरेर साँझ ८ बजेपछि मात्र छाड्ने गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । हाल जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बर प्लेटका सवारीसाधन चल्ने नियम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप