सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाका गम्भीर बिरामीका लागि एयर लिफ्टिङ मापदण्ड तयार

आइतबार, २५ असोज २०७७, १७ : ५३
आइतबार, २५ असोज २०७७

काठमाडौं । सरकारले कोभिड १९ (कोरोना) ले गम्भीर बिरामी भएकाहरुको थप उपचारका लागि एयर लिफ्टिङ सेवा उपलव्ध गराउने उद्धेश्यले नयाँ मापदण्ड तयार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ भएर गम्भीर अवस्थामा पुगेका बिरामीको जीवन रक्षाका तत्काल उपचार गर्न (एयर एम्बुलेन्स) एयर लिफ्टिङमार्फत सेवा दिनको लागि ‘कोभिड १९ बिरामीलाई लिफ्टिङ गर्ने सम्बन्धी मापदण्ड ०७७’ तयार गरेको हो ।

मापदण्डअनुसार कोभिड १९ ले गम्भीर बिरामी भएकाहरको उपचारमा संलग्न चिकित्सकले रिफर गरेको खण्डमा मात्रै लिफ्टिङमार्फत सेवा लिन पाइन्छ । गम्भीर अवस्था पुुगेको बिरामीको उपचार गरिरहेको अस्पतालले बिरामीको एकिन गरेपछि मात्रै एयर लिफ्टिङका लागि प्रक्रिया अगाडि बढाउन सकिने जनाइएको छ । 

त्यस्तै, विमान अवरतरण गर्ने स्थानबाट बिरामीलाई अस्पतालसम्म पुर्याउनका लागि मापदण्ड पुरा गरेका एम्बुलेन्सहरु पनि तयारी अवस्थामा हुनुपर्ने जनाइएको छ  । एम्बुलेन्सको व्यवस्थापन सम्बन्धित अस्पतालले गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । तर सामान्य र मध्यम प्रकृतिका बिरामीले एयर लिफ्टिङको सेवा भने पाउने छैनन् ।

बिरामी ओसारपसार गर्ने हवाइजहाज, हेलिकप्टर र एयर एम्बुलेन्सले जनस्वास्थ्यका मापदण्ड अप्नाउनुपर्छ । बिरामीलाई एयर लिफ्टिङ गर्न चाहने विमान कम्पनीलाई मन्त्रालयले सूचना प्रकाशित गरेर सूचिकृत गर्न सक्ने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

एयर लिफ्टिङका लागि नेपाली सेनाबाट सञ्चालनमा आएका विमानलाई प्राथमिता दिइने समेत मन्त्रालयले जनाएको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाले समन्वय गरेर छिटोभन्दा छिटो बिरामीलाई सेवा दिने तयारी छ । एयर लिफ्टिङका लागि प्रयोग गरिएको विमानमा एकजना मेडिकल अफिसर सहित कम्तीमा दुईजना स्वास्थ्यकर्मी अनिवार्य व्यवस्था विमान कम्पनीले गर्नुपर्छ । त्यस्तै विमानमा अक्सिजनका साथै लाइफ सेभिङ मेडिसिन, प्रर्याप्त मात्रामा पिपिइ, सेनिटाइजर आदि औषधिजन्य सामाग्रीको अनिवार्य रुपमा व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । 

त्यस्तै विमान चालक दलका कर्मचारी, स्वास्थ्यकर्मी, बिरामी तथा बिरामीका आफन्तले अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पलना गर्नुपर्नेछ भने बिरामीलाई उत्तारी सकेपछि विमानलाई निसंक्रमण गरेर मात्र दोस्रो उडान भर्नुपर्छ । चार्टर गरेको विमानको भाडा भुक्तानीको जिम्मेवारी बुकिङ गर्ने व्यक्ति वा उसको हेरचाह गर्ने व्यक्ति वा संस्थाको हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै चालक दलका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको वीमा तथा जोखिम भत्ताको व्यवस्था खटाएको निकायले गर्नुपर्नेछ । मापदण्डअनुसार विमान कम्पनीहरूले तोकिएको प्रचलिन शुल्कभन्दा बढी भाडा लिन पाउने छैनन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप