केन्द्रीय संस्करण

छानाबिनाको खाना !

person explore access_timeकात्तिक १२, २०७७ chat_bubble_outline0

-सुरेन्द्र नेपाल श्रेष्ठ

संविधान दिवस मनाउने क्रममा सरकार सैनिक मञ्चमा आकाशबाट पुष्पवृष्टि गर्दै थियो । नजिकै खुलामञ्चको चौरमा लाइन लगाएर कुनै दानवीरहरूले आफूले सकेजति खाना खुवाउँदै थिए । उक्त दृश्यलाई कैद गरिएका तस्बिर भाइरल हुनपुगे । लगत्तै भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मजदुरहरूलाई खाना खुवाउँदै गरेको तस्बिर सामाजिक सञ्जालभरी व्याप्त देखिन्छ । त्यसले पनि क्रिया प्रतिक्रिया पाइरहेकै छन् । केही समय अगाडि प्रधानमन्त्रीले बडो जोडका साथ बाँच्नै पाइन्न भने खाना खान सोध्यो भने पनि खान्छु भन्दैन पहिला बाँच्ने उपाय खोज्छन् भन्दै खै कुन चाहिँ चराको उदारहण दिएको जस्तो लाग्छ । त्यो सायद कोरोनाबाट सुरक्षा दिने प्रसङ्गमा बोलिएको हुनपर्छ ।

खानलाई बाँच्ने कि बाँच्नलाई खाने भन्ने विषय पनि सर्भाइभल फर दी फिटेस्टको एकपाखे बोध डार्बिन पहिले हाम्रो समाजमा व्याप्त अण्डा पहिला कि चल्ला पहिला भने जत्तिको तर्कविलासतर्फ जान पनि आवश्यक छैन । अहिलेको प्रसङ्गमा सुरक्षाभन्दा खाना पहिला नभन्ने हो भने थप समस्या निम्त्याउने छौँ । लामो समयको बन्दाबन्दीको कारण काम गुमेका मानिस थपिँदै गएका छन् । आफूसँग भएको बचत सकिनु समस्याको अर्को कारण बनेको छ । कोही कसैले पनि सरकारलाई असफल बनाउन सडकमा आएर आँधीहुरीबीचमा चौरमा (माटोमा) बसेर एकछाक खान जम्मा भएको पक्कै हैन । यो समस्यालाई बुझ्न नखोज्नु नागरिकप्रति उत्तरदायी नहुनु हो ।
सडकमा मागेरै खान बस्न बाध्य भएका मानिसलाई मानव सेवा आश्रमले सक्दो सङ्कलन गरेर देशका विभिन्न ठाउँमा सेवा प्रदान गर्दै आएको छ । सिबिनले धेरै वर्षदेखि सडक बालबालिकाहरूको हेरचाहा गर्दै आएको छ । अन्य धेरै

सङ्घसंस्थाहरू पनि सक्रिय भएको पाइन्छ । अहिले विशेषगरी काठमाडौँमा देखिएको यो नयाँ समस्यालाई आफूले सकेसम्म केही व्यक्ति वा सङ्घसंस्थाले सहयोग गर्दै आएका छन् । मानवीयताको हातेमालो यो आफैँमा दिव्य काम हो । आफैले पहलकदमी लिनुपर्नेमा केही ठाउँमा सरकारले त्यस्तो काममा रोक लगाइएको खबर पनि सार्वजनिक भएको देखिन्छ ।

संसारभरि नै भोकमारीको समस्या बढ्दो छ । गरिब वा विकासोन्मुख मात्रै हैन अति विकसित देशहरूमा पनि घरबारविहीन मानिसको सङ्ख्या धेरै हुने अनुमान छ । अमेरिका युरोपमा अहिले यो डरलाग्दो समस्याका रूपमा लिइन्छ । धेरैलाई लाग्न सक्छ विकसित देशमा त त्यस्तो समस्या नहुनुपर्ने हो । मलाई पनि सुरुसुरुमा त्यस्तै लाग्थ्यो । बाटोमा बस्ने खाने रहर भएर आएको होला जस्तो लाग्थ्यो । उमेर पुगेका हृष्टपुष्ट मान्छे देख्दा त काम गर्नको दुःखले माग्दै हिँडेका होलान् भन्ठान्थेँ । कतिपय त जोडाजोडी मात्रै हैन बिरालो, कुकुरसहित बाटोमा नै दिनरात कटाउँछन् । हिजोसम्म आलिसान घरमा सपरिवार बसेका मान्छे भोलिपल्टदेखि सडकमा बास भएका कथा पढ्न थालेपछि यसबारे बिस्तारै बुझ्न थालियो ।

बेलायतमा हामीले रेस्टुरेन्ट चलाएको घर पछाडि प्रत्येक सोमबार ठूलो जमघट हुन्थ्यो । एक वृद्ध महिलाले धेरै लामो समयदेखि त्यहाँ हप्ताको एक दिन बेलुकी खाना बाँड्ने गरेकी रहिछन् । साथीभाइ इष्टमित्रबाट  जेजे मिल्छ त्यो त्यहाँ ल्याएर बाँड्ने उनको नित्य कर्म रहेछ । बजारभरिका घरबारविहीन मान्छे आउने अनि आफ्नो भागमा परेको सामान खानापिन लिएर जाने रहेछन् । गजबको दृश्य चाहिँ कोही कसैले नपुगेर वा ढिलो गरेर केही पाएन भने पहिला पाउनेहरूले उनीहरूलाई पनि दिने गर्दारहेछन् । समयसमयमा हामीले पनि रेस्टुरेन्टबाट सबैलाई पुग्ने छुट्टाछुट्टै बट्टामा खाना बनाएर दिने ग¥यौ । परिचय हुँदै जाँदा झण्डै ९० वर्ष पुग्न लागेकी ती वृद्ध महिला दुई पटक नेपाल पनि पुगिसकेकी रहिछन् । साथमा दुईवटी छोरीले पनि सहयोग गर्दै आएका थिए । करिब तीस वर्ष भइसकेको रहेछ, यसरी सेवा गर्दै आएको ।

बेलायतका प्रत्येक सहरहरूमा घरबारविहीनहरूलाई सेवा दिने कुनै न कुनै संस्था सञ्चालनमा रहेकै हुन्छन् । फुडबैङ्क भनेर खाना पनि जम्मा गर्ने गरिन्छ । ठूलठूला खानाका सपिङ सेन्टरहरूमा फुडबैङ्कका लागि भनेर निश्चित ठाउँ तोकिदिएको हुन्छ । आफ्नो सामान किन्दा जसलाई जे मन लाग्यो जति सक्छ त्यति त्यहाँ छोडेर आउने चलन पनि छ । घरबारविहीनहरूको समस्यासँग एकाकार हुन प्रायः वर्षको एकपटक त्यो पनि सबैभन्दा जाडोको मौसम क्रिसमसको छेउछाउ ठूला नेता, सांसदहरू सडकमा सुत्ने पनि गर्छन् ।

बेलायतकी महारानी वर्षको दुई महिना आधिकारिक रूपमा बसोबास गर्ने विन्जर दरबार अगाडि धेरै घरबारविहीनहरूको बास हुने गर्दछ । नाति राजाको विवहाको बेलामा पनि त्यहाँबाट ती घरबारविहीनहरूलाई धपाउने काम गरिएन । त्यतिबेला राजतन्त्रको गुणगान गाउनेहरू पनि टाढाटाढाबाट आएर बाटोमा, पेटीमा नै ओढ्ने ओछ्याउने बिछ्याएर रात कटाए अनि जयजयकार पनि गरे । मलाई अझै पनि लाग्छ, किन सरकारले ती सबैको बसोवासको व्यवस्था नगरेको होला ? पैसा नपुगेर त पक्कै पनि हैन होला ? त्यसो त आफ्ना नागरिकको बसोबास, खानपिन सबैको लागि सरकारले पुग्दो सामाजिक सुविधा दिँदै आएको पनि छ । एक रिपोर्टअनुसार युरोपियन युनियनका मानिस बिना रोकतोक बेलायत पस्न पाएपछि सडकमा ह्वात्तै धेरै मानिस थपिएका थिए । विशेषतः मद्यपान धूमपानको समस्या हुनेहरू समूह समूहमा सडकका पेटीहरूमा देख्न सकिन्छ । हल्यान्डमा त लागू पदार्थ दुव्र्यसनमा परेकाहरूलाई स्थानीय सरकारले निश्चित समय तोकेर आवश्यकता अनुसारको डोज दिने गरेको कुरा पनि त्यहाँका स्थानीय साथीहरू मार्फत सुनेको थिएँ । धेरैजसो सडकमा बस्ने मानिसमा विभिन्न किसिमका कुलतमा फस्नु स्वाभाविक पनि हो । कतै केही काम गर्न नसक्नु, परिवारबाट छुट्टिनु, जागिर जानु, सजाय भोगेर जेलबाट निस्कनु र अन्य कारणहरू हुने गर्छन् घरबारविहीन हुनुमा ।

विकसित देशहरूमा झन बढी घरबारविहीनहरू देखिनु नयाँ समस्या नै हो । सन् ९० को दशकतिर संसारभरि नै सरकारले आफ्नो नागरिकको यथोचित व्यवस्था गर्न नसकेको प्रमाणित हुँदै आएको थियो । सबै अधिकार सरकारलाई मात्रै भएकाले दायित्व पनि सरकारकै हो भन्ने मान्यतालाई यसैताकाबाट पूर्ण सही नभएको ठम्याइएको थियो । कुनै देश वा संसारको समस्या अब सरकारले मात्रै समाधान गर्न सक्दैन, समाजको पनि त्यतिकै भूमिका रहने मान्यताले काम गर्न थाल्यो । व्यवसायमा निजीकरण हुनु त्यसको एक उदारहण हो । ठूलाठूला साहुहरू सरकारलाई कर मात्रै तिरेर बस्नुभन्दा आफ्नै तरिकाबाट पनि समाजका विपन्न क्षेत्रमा सक्दो सहयोग गर्दै जाने प्रक्रिया सुरु भयो । आफूले गर्ने व्यवसाय र त्यहाँबाट प्राप्त मुनाफालाई पुनः समाजमा लगानी गर्ने नयाँ अवधारणाको जन्म भयो । अहिले यो प्रक्रिया झन् द्रुत गतिमा अगाडि बढिरहेको छ । सामाजिक उत्तरदायित्व सहितका व्यवसाय संसारभरि नै सञ्चालित छन् ।
न्युयोर्कको सडकमा बस्नेहरूलाई स्वावलम्बी बनाउन पत्रिका बेच्ने व्यवसायमा संलग्न गराउने सुरुवात सन् १९८९ बाट भएको देखिन्छ । त्यसैको अनुसरण लन्डनमा पनि ठूलो व्यवसाय चलाएका बडिसपका मालिक ग्रोडन रोडिकको ५० हजार पाउन्ड सहयोगमा जोनबर्डले सन् १९९१ देखि बिग इस्युज प्रकाशनमा ल्याएको थियो । सन् १९९५ मा यसले दी बिग इस्युज फाउन्डसेन नै स्थापना गर्यो । निश्चित मापदण्ड पूरा गरी यो मासिक म्यागेजिन बेच्न पाउने भयो । बेचेर आएको केही पैसा काटेर धेरै अंश बेच्नेले नै राख्ने व्यवस्था मिलाइएको थियो । यो अभियानले धेरैलाई सकारात्मक सन्देश समेत प्रवाह भयो । सडकमा बस्नेहरू पनि व्यवसायमार्फत आफूले आफैलाई स्वावलम्बी बनाउन सक्नुको कारण अहिलेसम्म पनि यो सञ्चालनमा छ । अहिले कोरोनाले केही समय रोकिए पनि साप्ताहिक रूपमा छापिने यो म्यागेजिन किनेर सहयोग गर्नु यहाँका नागरिकको एउटा दायित्व जस्तै बनेको छ ।
घरबार नभएका सडकमा रहने, अस्थायी बासस्थानमा बस्ने, घर गुम्ने खतरा रहेका, काम नभएका र आर्थिक समस्या भएका मानिस यस संस्थामा रजिस्टर हुन सक्छन् । सुरुमा पाँच प्रति म्यागेजिन निःशुल्क दिनेछ । त्यसपछि एक प्रतिको १.५० मा किनेर ३.०० मा बेचेर आएको मुनाफाले गुजारा चलाउँछन् । अहिले देशभरिका ६३ स्थानबाट यो प्रकाशन वितरण हुन्छ र प्रायः सबै स्थानमा यसरी नै बेच्ने गरिन्छ । यसरी सडकमै बस्नेहरूले समेत पत्रिकामार्फत आफूलाई व्यस्त राखी उद्यमशीलता सञ्चालन गरी स्वावलम्बी बन्ने गरेको पाइन्छ । धेरैले यसैको सहयोगमा आफूलाई फेरि समाजमा स्थापित गरेको मात्रै हैन, आपराधिक क्रियाकलापमा संग्लग्न भई पुनः जेल जान पनि ठूलो सङ्ख्यामा रोकेको छ ।

विभिन्न स्रोतहरू अध्ययन गर्ने हो भने पछिल्लो तथ्याङ्क अनुसार विश्वका करिब एक अर्ब पचास लाख मानिसहरू घरबारविहीन छन् । यो सङ्ख्या बढ्दो देखिन्छ । बेलायतको एक संस्था सेल्टरका अनुसार तीन लाख बीस हजार मानिस घरबारविहीन छन् । यो सङ्ख्या अप्रत्यक्ष घरबारविहीनहरू पनि थप गर्ने हो भने धेरै माथि पुग्न सक्छ । अरूको सोफामा, आफ्नै गाडीमा, सेडमा र अस्थायी बासस्थानमा बस्ने पनि धेरै नै छन् । सन् २०१८ मा मात्र इङ्ल्यान्ड र वेल्समा गरी ७२६ घरबारविहीनहरूको मृत्यु भएको थियो ।

प्रसङ्ग फेरि नेपालमा खाना बाँड्न परेको अवस्थातिर फर्कौं । अहिले जुन किसिमले  स्वतः स्फूर्तरूपमा सहयोग कार्यहरू भइरहेका छन् त्यसलाई मान्नु नै पर्दछ । तर यसलाई अलि ठूलो रूपमा देशका ठूला व्यावसायिक घरानियाहरूले चासो लियो भने अझै व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ । धूलो, धुवाँ, हावाहुरी, झरीको बीच खुल्ला आकाशमुनि त्यसरी नै सधैँ यी अभियान अगाडि बढाउनु राम्रो हैन । सरकारले नै पहलकदमी लिएर सहरका विभिन्न क्षेत्रमा सामूहिक मेस सञ्चालन गर्नु कुनै ठूलो विषय हैन । प्रयोगमा नरहेका सार्वजनिक स्थलहरूमा व्यवस्थित ढङ्गले खाना खुलाउन त्यति अप्ठ्यारो हुन्न होला । प्रहरी सेनाका त्यति ठूलाठूला मेसहरू अहिले पनि सञ्चालनमा छन् । हामीले त्रिवि कीर्तिपुरमा पढ्दा त्यति धेरै विद्यार्थीलाई सुपथ मूल्यमा खाना खुवाउने व्यवस्था थियो । अहिले पनि होला । सडकमा खाना बाँडेर फोटो खिच्दै सरकारको खिल्ली उडाएका मात्रै हुन् भनेर सरकार मुकदर्शक भएर बसेको पटक्कै सुहाउँदैन । पार्टीका त्यति धेरै भ्रातृ संस्था कहाँ के गरिरहेका छन् ? यसलाई व्यवस्थित गर्दै लानुपर्छ । कहाँ कति खर्च आवश्यक हुन्छ त्यही अनुसार दैनिक दाताहरू खोज्न पनि खासै गाह्रो हुँदैन । 

चन्दा वा सहयोगका लागि अमार्यदित र धम्कीको भाषा प्रयोग गरेर ठाडै सहयोग माग्ने यावत् नामका सङ्गठनहरूले देउसी भैलो, महाधिवेशन भेलाको नाममा आतङ्क सिर्जना गरेर हप्कीदप्कीको शैलीमा रकम असुल्ने पनि गर्दथे ती सङ्गठन समूहहरू यो राष्ट्रिय विपतमा काम नआए कहिले आउने ? राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालीले धेरै परोपकारी र सहयोगी काम गर्दै आएका छन् । अहिले केवल नेतृत्वको सचेत पहलकदमी मात्र कमी भएको हो । आफ्नो कमाइको झन्डै पचास प्रतिशत सरकारलाई कर तिर्ने देशका नागरिकहरूले आफ्नो देशमा मात्रै हैन संसारको भोकमरीको समस्या हल गर्न कति सहयोग गरिआएका छन् तथ्याङ्क साक्षी  छँदैछ । हामी नेपालीमा पनि यो भावना जागृत भएको छ । यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउनु हामी सबैको कर्तव्य र दायित्व पनि हो ।

यसले भविष्यमा आउने आपत्कालीन सङ्कटका समयमा एकताबद्ध भई आडभरोसा दिन र दिलाउनमा ठूलो भूमिका बहन गर्नेछ । हाम्रै जीवनकालमा भूकम्पको पीडा सहन सक्यौँ, भारतले लगाएको नाकाबन्दी छल्न सक्यौँ, हरेक वर्ष आउने बाढीपहिरोको समस्या र लोडसेडिङको बिगबिगी पनि निरन्तर सहँदै आएका छौ । अहिले कोरोनाको विश्वव्यापी पीडा थपिएको छ, ठूलो जनसङ्ख्या भएका दुई ठूला मुलुक चीन र भारतको माझमा रहेर उम्लिइरहेको व्यवधानलाई पनि आत्मसाथ गर्दै सुरक्षा नीति अपनाउनुपर्ने बखत हो यो । हरेक पल्टको समस्याले सम्भावित अज्ञात समस्याका बारेमा सङ्केत दिने गर्दछ । यो समयमा हुनेले नहुनेलाई सहयोग गर्ने हो । स्वस्थ व्यक्तिले नजिकमा रहेकालाई स्वस्थ राख्न मद्दत पुर्याउने बेला हो र जो अस्वस्थ छन् । तिनलाई मानवीय व्यवहार गरिनुपर्नेमा कुनै कसर बाँकी नराख्नु हाम्रो दायित्व र कर्तव्य दुवै हो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.