शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अलपत्र अवस्थामा भेटिएकी एक किशोरीको उद्दार

बुधबार, १२ कात्तिक २०७७, १४ : ०७
बुधबार, १२ कात्तिक २०७७

म्याग्दीको धौवलागिरि गाउँपालिका–२ लुलाङमा अलपत्र अवस्थामा भेटिएकी एक किशोरीको उद्दार गरेर परिवारको जिम्मा लगाइएको छ । 

पाँच महिनादेखि सम्पर्कबिहीन मालिका गाउँपालिका–५ जुग्जाकी १४ वर्षीया जयन्ती गिरीलाई स्थानीय युवा क्लबले सोमबार लुलाङबाट उद्दार गरेर परिवारको जिम्मा लगाएका हुन् । 

गत असार महिनामा घरबाट निस्किएकी गिरी लुलाङमा अलपत्र अवस्थामा भएको सूचना पाएपछि देवीस्थान घरिथोकको सूर्यमुखी युवा क्लब र धवलागिरि गाउँपालिका–७ काफलडाँडाको देवीदेउराली युवा क्लबको टोलीले उद्दार गरेको हो । 

आमाको मृत्यु भएपछि परिवारमा बस्ने र पढ्ने वातावरण नभएका कारण विरक्तिएर घरबाट निस्किएकी गिरीलाई पाँच महिनापछि परिवारलाई जिम्मा लगाएको क्लबका सचिव दिल रानाले बताए । 

उद्दारका लागि सचिव राना, सल्लाहकार बालकुमार फगामी, देवीदेउराली युवा क्लबका लेखबहादुर पुनलगायतको टोली लुलाङ पुगेका थिए । लुलाङका युवा रेशमबहादुर विक, वडाध्यक्ष गमप्रसाद विक, गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले युवतीको उद्दारमा सहजीकरण र समन्वय गरेका थिए । 

जयन्तीलाई बुबा कुलबहादुर र दाजु ओमकार गिरिको जिम्मा लगाएका हुन् । जयन्तीको पढाइमा क्लबले सघाउने जनाएपछि अभिभावकले पढाउने प्रतिबद्धता जनाएका छन् । जयन्तीले ताकम, मुना र लुलाङमा मागेर खाने र बस्ने गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप