आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नगद दिन नपाएपछि लाभांश घटाउँदै विदेशी लगानीका बैंक

एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांशबाट लगानीकर्ता निराश
मङ्गलबार, २५ कात्तिक २०७७, ११ : ५५
मङ्गलबार, २५ कात्तिक २०७७

काठमाडौं । असार मसान्तसम्म कारोबारमा आधारित वित्तीय विवरणमा अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था राम्रो थिएन । कुनै बैंकको नाफा नै सन्तोषजनक देखिएको थिएन । कुनै बैंकको नाफा नै कम थियो । कुनै बैंकको नाफा धेरै भए पनि शेयरधनीलाई लाभांश बाँड्न मिल्ने वितरणयोग्य नाफा कम थियो । 

बैंकहरुले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणलाई आधार मान्दा त्योबेला सबैभन्दा बढी वितरणयोग्य नाफा नबिल बैंकको थियो । सो बैंकले ३०.१३ प्रतिशत लाभांश दिनसक्ने उल्लेख गरेको थियो । 
नबिलपछि दोस्रोमा एभरेष्ट बैंकले १९.६६ प्रतिशत नाफा वितरणको क्षमता रहेको जनाएको थियो । तेस्रोमा रहेको नेपाल बैंक १९.५९ प्रतिशत र चौथोमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता १८.९२ प्रतिशत रहेको जनाएको थियो । यी ४ वटाबाहेक बाँकी सबै बैंकको लाभांश क्षमता १५ प्रतिशत भन्दा कम नै थियो । ११ बैंकको यस्तो दर एकल अंकमा सीमित थियो । 

तर, नेपाल राष्ट्र बैंकले बैंकहरुलाई असार मसान्तसम्मको ऋणको सावाँ तथा ब्याज असोज मसान्तसम्म उठाए पनि त्यसलाई अघिल्लो वर्षको नाफामा समावेश गर्न पाउने सुविधा बैंक तथा वित्तीय संस्थाहरुलाई दियो । यही सुविधाको फाइदा उठाउँदै धेरै बैंकले आर्थिक वर्ष २०७६÷७७ को कारोबारबाट उच्च लाभांश प्रस्ताव गर्न सफल भएका छन् । 

बजारमा सूचीकृत २६ वटा वाणिज्य बैंकमध्ये हालसम्म ९ वटा बैंकले यो वर्ष लगानीकर्तालाई दिने लाभांश घोषणा गरिसकेका छन् । त्यसरी लाभांश घोषणा गरेका बैंकहरुले असार मसान्तमा देखाएको लाभांश क्षमताभन्दा धेरै लाभांश घोषणा गरेका छन् । 


हालसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंकमध्ये ६ वटा बैंकको लाभांश दर असार मसान्तको वित्तीय विवरणमा आधारित लाभांश क्षमताभन्दा धेरै छ । बाँकी ३ वटाको लाभांश दर वित्तीय विवरणमा उल्लेखित क्षमताभन्दा कम देखिए पनि माछापुच्छ्रे बैंकको हकमा त्यो लागु हुँदैन । किनकी माछापुच्छ्रे बैंकले गत जेठमै २.८५ प्रतिशतको अग्रिम लाभांश दिएको थियो । यो लाभांश पनि सोही वर्षको नाफाबाट वितरण गरिएकोले कुल लाभांश १२.५९ प्रतिशत बराबर हुन आउँछ जुन लाभांश क्षमता भन्दा बढी नै हो । 

बाँकी २ बैंकहरुले भने घोषित लाभांश क्षमताभन्दा कममात्रै लाभांश प्रस्ताव गरेका छन् । त्यसरी कम लाभांश प्रस्ताव गर्ने बैंकहरु एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक हुन् । यी दुवै विदेशी समेतको लगानी भएका बैंक हुन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ७०.२१ प्रतिशत लगानी स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको छ । एभरेष्ट बैंकमा २० प्रतिशत लगानी पञ्जाब नेशनल बैंकको छ ।

क्षमताभन्दा कम लाभांश किन ?  
असोज मसान्तसम्म बैंकहरुले कर्जाको सावाँब्याज उठाउन पाएको समय राष्ट्र बैंकले बैंकहरुलाई दिएको एकप्रकारको सहुलियत हो । अघिल्लो वर्षमा यस्तो सहुलियत १५ दिनसम्मको लागि मात्रै दिइन्थ्यो । कोरोनाभाइरसको महामारीसँगै व्यवसायिक क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै बैंकहरुलाई थप साढे २ महिनाको लागि यस्तो सुविधा दिइएको हो । 

यो व्यवस्थाले असार मसान्तसम्ममा उठाउनुपर्ने कर्जाको सावाँब्याज असोज मसान्तसम्म उठ्यो भने त्यसलाई अघिल्लो वर्षको नाफामा गणना गर्न पाइन्छ । तर त्यस्तो कर्जा उठ्न सकेन र त्यसबापत कर्जालाई तल्लो वर्गमा राखेर थप राइटब्याक गर्नुपर्यो भने पनि त्यो चालु वर्षबाटै गर्न सकिन्छ । यसकारण लेखापरीक्षणको क्रममा ठूलै त्रुटी भेटिएको अवस्थामा बाहेक बैंकहरुले असार मसान्तको वित्तीय विवरणमा उल्लेख गरेबराबर लाभांश क्षमता सामान्यतया घट्दैन । 

तर, लाभांश क्षमता बराबर नै लाभांश दिनुपर्छ भन्ने चाहिँ होइन । नियमनकारी निकायले तोकेको सीमामा रहेर सञ्चालक समिति जतिसुकै लाभांश प्रस्ताव गर्न पनि सक्छ । यही व्यवस्था अनुसार एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयरधनीलाई कममात्रै लाभांश दिएका हुन् ।

आखिर क्षमता धेरै भएर पनि यी बैंकहरुले किन कम लाभांश प्रस्ताव गरे त ? यसको कारण भने अर्कै छ । त्यो हो राष्ट्र बैंकले लिएको लाभांश नीति । 
सामान्यतया विदेशी लगानीकर्ताहरु आफ्नो लगानीबाट नगद लाभांश लिन चाहन्छन्, जुन लाभांश परिवत्र्य विदेशी मुद्राको रुपमा आफ्नो देशमा लैजान पाइयोस् । तर, यो वर्ष राष्ट्र बैंकले बैंकहरुलाई जथाभाबी नगद लाभांश वितरणमा बन्देज लगाइदिएको छ । 

राष्ट्र बैंकले यसका लागि २ वटा व्यवस्था गरेको छ । पहिलो, बचत निक्षेपको भारित औसत ब्याजदरभन्दा नगद लाभांशदर धेरै हुन नपाउने । दोस्रो, नगद लाभांशको हिस्सा बढीमा ३० प्रतिशत मात्रै हुन पाउने । मौद्रिक नीतिमा भएको यो व्यवस्थाकै कारण उनीहरुले सीमित मात्रै लाभांश घोषणा गरेका हुन् । 

एभरेष्ट बैंकले ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै स्ट्यान्डर्ड बैंकले ७ प्रतिशत बोनस शेयर र ४.८४ प्रतिशत नगल लाभांश प्रस्ताव गरेको छ । यद्यपि दुवै बैंकको लाभांशमा अधिकतम ३० प्रतिशत नगद लाभांश दिन सकिने प्रावधान कार्यान्वयन भएको देखिँदैन । यस्तो अवस्थामा राष्ट्र बैंकले यो व्यवस्था परिमार्जन गर्न निर्देशन दिनसक्ने देखिन्छ ।  

लाभांशमा लगानीकर्ता ‘विरोधाभास’
सूचीकृत कम्पनीको लाभांश वितरणमा लगानीकर्ताहरुबीच सधैं मतैक्य हुँदैन । बजारमा कारोबारयोग्य शेयर भएका साधारण शेयरधनीहरु अधिकतम बोनस शेयरको अपेक्षा गर्छन् । तर, संस्थापक समूहका शेयरधनीहरु बोनस शेयरभन्दा नगद लाभांलाई बढी महत्व दिन्छन् । संस्थापक समूहको शेयर तत्कालै बजारमा बेच्न नसकिने भएकोले उनीहरुले नगद लाभांशलाई नै बढी महत्व दिने गरेका हुन् । 

तर, नेपाली लगानीकर्ताले भने नाफाको पुनर्लगानी गर्ने उपयुक्त क्षेत्र बैंकलाई नै मान्ने भएकोले अझै पनि नगद लाभांश र बोनस शेयरलाई उत्तिकै महत्व दिने गरेका छन् । विदेशी लगानीकर्ताको जोड भने अहिले पनि नगद लाभांशमै बढी हुने गरेको छ । 

अर्को वर्ष राष्ट्र बैंकको लाभांश नीति परिवर्तन भएपछि नगद लाभांश दिने उद्देश्य अहिले थोरैमात्र लाभांश दिएको आरोप ती बैंकमाथि लगानीकर्ताले लगाउँदै आएका छन् । बैंकहरुले थोरै मात्र लाभांश प्रस्ताव गरेपछि यी बैंकहरुको शेयरमूल्यमा तीव्र गिरावट आएको छ ।


कात्तिक १४ गते लाभांश घोषणा गरेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य ६ सय ८३ रुपैयाँबाट घटेर सोमबार ६ सय २३ रुपैयाँमा सीमित भएको छ । कात्तिक २० गते लाभांश घोषणा गरेको एभरेष्ट बैंकको शेयरमूल्य ७ सय १७ रुपैयाँबाट घटेर ६ सय ४७ रुपैयाँमा झरिसकेको छ । जबकी यो अवधिमा समग्र बजार परिसूचक सकारात्मक देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप