आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएलमा आज

चेन्नईलाई पहिलोपटक उसैको मैदानमा हराउने धुनमा हैदराबाद

आइतबार, १६ वैशाख २०८१, ११ : २३
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा आइतबार दुई खेल हुँदैछ । पहिलो खेल गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच खेलिने छ । उक्त खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो ३ः ४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको दोस्रो खेल चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबिच खेलिने छ । उक्त खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७ः ४५ बजे सुरु हुनेछ । चेन्नई र हैदराबादबिचको खेल जारी आईपीएलको ४६ औँ खेल हो । 

जारी सिजनको आईपीएलमा चेन्नई र हैदराबाद दोस्रो पटक भिडन्त गर्न लागेका हुन् । यसअघि खेलिएको पहिलो खेलमा हैदराबादले चेन्नईलाई ६ विकेटले हराएको थियो । यी दुवै टोलीले यो सिजनको आईपीएलमा आफ्नो नवौँ खेल खेल्न लागेका हुन् । 

सनराइजर्स हैदराबादले यसअघि खेलिएको आठमध्ये पाँच खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । हैदराबाद १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ । १६ अंकसहित राजस्थान रोयल्स पहिलो र १० अंकसहित कोलकाता नाइट राइडर्स दोस्रो स्थानमा छन् ।

चेन्नईले भने यसअघि खेलिएको आफ्नो आठमध्ये चार खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । चेन्नई आठ अंकसहित तालिकाको छैटौँ स्थानमा आसिन छ । 
००
हेड टु हेडमा चेन्नई अगाडि 

इन्डियन प्रिमियर लिगमा हालसम्म सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबिच कुल २० खेल खेलिएको छ । त्यसमध्ये १४ खेलमा चेन्नईले हैदराबादलाई हराएको छ । बाँकी ६ खेलमा भने हैदराबाद विजयी भएको छ । 

चेन्नईमा यसअघि यी दुई टोलीबिच चार खेल खेलिएको छ । चारवटै खेलमा चेन्नईले हैदराबादलाई हराएको छ । त्यसैले आइतबारको खेलमा चेन्नई घरेलु मैदानमा आफ्नो अपराजित यात्रा कायम राख्ने धुनमा हुनेछ । हैदराबाद भने चेन्नईलाई पहिलो पटक उसैको मैदानमा हराउने योजनामा रहने छ ।
००
चेन्नईको सर्वाधिक रन कप्तान गायकवाडको नाममा

इन्डियन प्रिमियर लिगको १७ औँ संस्करणमा चेन्नई सुपर किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान ऋतुराज गायकवाड हुन् । उनले टोलीका लागि तीन सय ४९ रन बनाइसकेका छन् । शिवम दुबेले पनि टोलीका लागि तीन सयभन्दा बढी रन बनाएका छन् । चेन्नईका लागि सर्वाधिक विकेट लिने बलर मुस्तफिजुर रहमान हुन् । उनले सात खेलमा १२ विकेट लिएका छन् ।
००
नटराजन हैदराबादका सर्वाधिक सफल बलर
जारी सिजनको आईपीएलमा सनराइजर्स हैदराबादका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ट्राभिस हेड हुन् । उनले सात खेलमा तीन सय २५ रन बनाइसकेका छन् । टोलीका लागि अभिषेक शर्मा र हेनरिच क्लसनले पनि उल्लेख्य संख्यामा रन बनाएका छन् । 

अभिषेकले दुई सय ८८ र दुई सय ७५ रन बनाएका छन् । हैदराबादका लागि सर्वाधिक विकेट लिने बलर भने टी. नटराजन हुन् । उनले टोलीका लागि १२ विकेट लिइसकेका छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा प्याट कमिन्स दोस्रो स्थानमा छन् । उनले १० विकेट लिएका छन् । 
००
स्पिनरलाई सहयोग गर्ने पिच

सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबिच आइतबारको खेल हुने एमए चिदम्बरम स्टेडियमको पिच खासगरी स्पिनरलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ८० खेल खेलिएको छ । त्यसमध्ये ४७ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । 

बाँकी ३३ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा बनको उच्च स्कोर पाँच विकेट गुमाएर दुई सय ४६ रन हो । उक्त स्कोर सन् २०१० को आईपीएलमा चेन्नईले राजस्थान रोयल्सविरुद्ध बनाएको थियो । 
००
छैन वर्षाको सम्भावना

इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबिच खेल हुने दिन आइतबार चेन्नईको मौसम सफा रहने छ । आइतबार चेन्नईमा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार चेन्नईको तापक्रम २९ देखि ३५ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।
००
सम्भावित टोली 

चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), अजिनक्या रहाणे, मोइन अली, ड्यारल मिचेल, शिवम दुबे, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी (विकेटकिपर), मुस्तफिजुर रहमान, दीपक चाहर, मथिशा पाथिराना र तुषार देशपाण्डे । इम्प्याक्ट प्लेयर : समिर रिजवी ।
सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, एडन मारक्रम, हेनरिच क्लासन (विकेटकिपर), नितिशकुमार रेड्डी, अब्दुल समाद, शाहबाद अहमद, भुवनेश्वर कुमार, टी. नटराजन, जयदेव उनादकट र मयंक मारकंडे । इम्प्याक्ट प्लेयर : ट्राभिस हेड ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप