सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युवाले ‘वैकल्पिक शक्ति’को साटो किन रोजे राजतन्त्र ?

युवाहरु विकल्पहीन भएर राजावादी प्रदर्शनमा जोडिए : पहाडी
शनिबार, २० मङ्सिर २०७७, ११ : ४४
शनिबार, २० मङ्सिर २०७७

काठमाडौं । राजावादीहरुको देशव्यापी प्रदर्शनले वर्तमान व्यवस्था, नेतृत्व र वैकल्पिक राजनीतिमाथिको बहसलाई निम्तो दिएको छ । साथै प्रदर्शनमा देखिएको उल्लेख्य युवा सहभागिता पनि सोचनीय पक्ष बनेको छ, जसले दुईवटा प्रश्न जन्माएको छ । राजनीतिक नेतृत्वसँग रुष्ट युवाहरुले विकल्पका रुपमा ‘वैकल्पिक शक्ति’ को साटो किन राजतन्त्र रोजे ? के यो वैकल्पिक शक्तिको असफलता हो ? 

वैकल्पिक राजनीतिक शक्तिको वकालत गर्ने विवेकशील नेपाली दलका महासचिव निर्देश सिलवालले वैकल्पिक राजनीति रक्षात्मक अवस्थामा रहेको स्वीकारे । उनले भने, ‘वैकल्पिक राजनीतिक दलले आफूलाई बलियो गरि स्थापित गर्न नसकेकै कुरा सत्य हो । अहिले वैकल्पिक राजनीतिक दल आफ्नो आन्तरिक कुराले गर्दा रक्षात्मक अवस्थामा छन् । वैकल्पिक राजनीतिक दल भनिरहेकाहरुले आफ्नो प्रस्ट एजेण्डा ल्याउन सकिरहेका छैनन् । अझै पनि धेरै वैकल्पिक राजनीतिक दलले आफ्नो एजेण्डा वा सिद्धान्त स्पष्टता ल्याउन नसक्दा समस्या आएको छ ।’

नेकपा, नेपाली काँग्रेस र सरकारबाट डेलिभरी गर्न नसक्दा असन्तुष्ट जमात राजावादी आन्दोलनमा सामेल हुनुमा उनले आफूहरुको पनि कमजोरी भएको सुनाए ।
‘अबको केही समयमा वैकल्पिक राजनीतिक शक्ति सफल भए भने यो आन्दोलन निस्तेज भएर जान्छ । यदि वैकल्पिक राजनीतिक दलहरुले दिशा लिन सकेनन् भने यो आन्दोलन झन् झन् बढ्दै जान्छ । वैकल्पिक पार्टीहरुले सांगठनिक रुपमा बलियो भएर वैचारिक स्पष्टताका साथ यो आन्दोलन भड्किन दिनु हुँदैन,’ सिलवालले भने ।


उनका अनुसार राजावादी आन्दोलनमा प्रोग्रेसिभमात्र होइन रिग्रेसिभ मान्छे पनि छन् । ‘रिग्रेसिभ मान्छेहरुको आफ्नो कुरा गुम्दा पहिचानको संकट छ । अहिले उनीहरु हौसिए पनि यतिमै हामी आत्तिनु पर्ने अवस्था छैन । तर यसले गरेको संकेत डरलाग्दो छ,’ उनले कारण देखाउँदै भने, ‘नेकपा विभाजनको डिलमा छ, काँग्रेस सुतेको अवस्था छ ।’ 

यसमा मूलधारका पार्टीले लिने अडान र वैकल्पिक पार्टीहरुले राख्ने एजेण्डाको स्पष्टताले धेरै कुरा निर्धारण गर्ने बताए । साथै उनले आगामी दिनमा यो आन्दोलनलाई कस्तो खालको शक्तिले लिड गर्छ भन्ने कुरा पनि मुख्य भएको बताए ।

‘पश्चगामीभन्दा अग्रगामी शक्तिले आशाको दियो जगाउन सक्यो भने राम्रो हुन्छ । त्यसका लागि वैकल्पिक शक्ति आउन सक्छन् । त्यो सम्भावना म देख्छु । नत्र यो आन्दोलन अर्को दिशामा जान सक्छ,’ सिलवालको भनाइ छ । 
तर राजावादी आन्दोलनले नेपाली समाज काँग्रेस र कम्युनिस्टको विकल्प खोज्दैछ भन्ने प्रस्ट पारेको उनले बताए । फ्रान्सको उदाहरण दिँदै सिलवालले भने, ‘फ्रान्समा पहिलो र दोस्रो ठूलो दल अहिले तेस्रो र चौथो दल भए । त्यहाँको प्रोग्रेसिभ र रिग्रेसिभ पार्टी पहिलो र दोस्रो भए । इम्मानुएल म्याक्रोंको प्रोग्रेसिभ एन मार्चो पार्टी पहिलो भएको थियो । यस्तै कट्टर दक्षिणपन्थी मारिन लपनको नेशनल फ्रन्ट पार्टी दोस्रो भएको थियो ।’

उनका अनुसार नेपालमा एउटा प्रोग्रेसिभ एजेण्डा बोक्ने पार्टी सत्तामुखी र रिग्रेसिभ पार्टी (राजावादी)जस्तो दोस्रो हुन सक्छ भने काँग्रेस र कम्युनिस्ट तेस्रो र चौथो पनि हुन सक्छन् । यद्यपि नेपालको संरचना र वर्तमान राजनीतिक परिस्थिति हेर्दा झ्याप्पै त्यो होला जस्तो भने उनलाई लागेको छैन । 

वैकल्पिक राजनीतिक शक्तिकै वकालत गर्ने साझा पार्टीकी नेतृ समीक्षा बाँस्कोटाले राजावादी प्रदर्शन भिड हो कि युवा हो भनेर पहिचान गर्नुपर्ने तर्क राखिन् । ‘यस्ता किसिमका भिड ज्ञानेन्द्र शाहका लागिमात्र होइन, ज्ञानेन्द्र शाहीका लागि पनि आउँछन् । अरु कसैले अभियान चलाउँदा पनि भिड जम्मा भइरहेको हुन्छ । तर भिडले नै निर्देशित गर्छ भन्ने हुँदैन,’ उनले भनिन् ।

क्षणिक रुपमा मान्छेलाई एकीकृत पारेर भिड जम्मा गर्न साझाले उत्ताउलो किसिमको एजेण्डा अगाडि नसार्ने उनको भनाइ छ । साझामा युवा आकर्षण बढेको दाबी गर्दै उनले उदाउँदो वैकल्पिक शक्ति साझा भएको दावी गरिन् ।
उनले भनिन्, ‘हामीमा युवाहरुको आकर्षण एकदमै बढिरहेको छ । कोभिडका बेला हाम्रो संगठन विस्तार भएको छ । अबको उदाउँदो वैकल्पिक शक्ति साझा नै हो भनेर आइराखेको छ ।’

उनका अनुसार साझाको संगठन विस्तार, युवा आकर्षणमा मान्छेको ध्यान गएको छैन । ‘राजावादी कति संगठित भए, कति नारा जुलुस निकाले र कोभिडको बेलामा पनि भिड प्रदर्शन गरे भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ । वैकल्पिक पार्टी आजको भोलि सल्बलाएर मात्र पुग्दैन । यसका लागि हामी संगठित हुनुपर्छ । विस्तार काम गर्नुपर्छ । हामी काम गर्दैछौँ,’ बाँस्कोटाले भनिन् ।


सडकको रिक्ततामा आफ्नो उपस्थिति हुन नसकेको भने उनले स्वीकार गरिन् । ‘कतिपय कुरामा सामाजिक परिवेशले पनि असर गर्छ । समाजमा राजनीतिक दलले विकास गरेका मनोविज्ञान अनुसार संस्था, व्यवस्था परिवर्तनको मुद्दा उठाइदियो भने दह्रो भएर आएको भन्ने लाग्छ । हामी जनतासँग जोडिएका सुक्ष्म मुद्दा उठाउँछौँ । त्यो मुद्दा खासै कसैलाई फरक गर्दैन भनेको जस्तो हुन्छ,’ बाँस्कोटाले भनिन् ।

राजनीतिक विश्लेषक मुमाराम खनालले भने नेपालमा विकल्पका प्रयासहरूले राजनैतिक वैधता नपाउँदै विघटन भएर विलाएको बताए । ‘रित्तो राजनीतिमा ठडिएको व्यक्तिवादले कहिल्यै पनि राजनीतिक विकल्पको उठान गर्न सक्दैन । त्यसैले नेपालमा विकल्पका प्रयासहरू राजनैतिक वैधता नपाउँदै विघटन भए र बिलाए । तैपनि प्रयासहरू भए र भइरहनेछन्,’ उनले भने । 

काँग्रेस र कम्युनिस्ट हुँदासम्म राजावादीहरूले नाराबाजी, जुलुस र भाषण गर्ने दुःख गर्न आवश्यक नभएको उनले बताए । ‘जबकि राजा आउने उनीहरूको बेफ्वाँकको दुःखले होइन, नेकपा र काँग्रेसको मुर्खता, भ्रष्टाचार र असफलताले हो । यो भइरहेकै छ, अलिदिन प्रतीक्षा गरे भइहाल्यो,’ खनालले भने ।

राजनीतिक विश्लेषक विष्णु सापकोटा भने नेपाली समाज विकल्पका लागि तयार नभएको बताउँछन् । ‘भनेजस्तो विकल्प नभएर हो वा समाज तयार नभएर हो, भन्न गाह्रो छ । वैकल्पिक शक्तिका रुपमा आएका मान्छे पनि उनै उनै मान्छे भए । बाबुराम भट्टराई माओवादीको नेता हुँदा वैकल्पिक शक्ति हुनुहुन्थ्यो । नयाँ शक्ति हुँदै जनता समाजादी पार्टीसम्म हुँदा त्यो रहेन,’ उनले भने, ‘रवीन्द्र मिश्रहरुको त्यस्तै हो । बरु विवेकशील अलि वैकल्पिक जस्तो बनेको छ । तर संगठन बन्न सकेन ।’

उनका अनुसार दुई सय ३८ वर्ष लामो राजसंस्थामा अहिलेका पुस्ताका लागि जीवित यथार्थ थियो । पुरातनवादी सोच भएको तप्का पनि ठूलो छ । सापकाटोलाई सडकमा आएका युवा कुनै न कुनै हिसाबले त्यही तप्काका हुन् जस्तो लाग्छ ।

यस्तै नेकपा र काँग्रेसमा रहेका संघीयता, धर्मनिरपेक्षता लगायतका परिवर्तन मन नपराउनेहरु पनि यो आन्दोलनमा मिसिएको उनको बुझाइ छ । उनले भने, ‘परिवर्तन मन नपराउनेहरु पनि विवेकशील, साझामा जान सक्दैनन् । रवीन्द्र मिश्रहरुले सोझै यो परिवर्तन मान्दैनौँ भनेका छैनन् । त्यसैले परिवर्तन मन नपराउनेहरु जाँदा संख्या ठूलो भयो ।’ 


राजतन्त्रसँग फाइदा लिएको कुलीन वर्ग नै आन्दोलनको मुख्य तप्का भएको उनको बुझाइ छ । ‘२०४७ पछि लोकतन्त्र आए पनि ०६५ सम्म राजतन्त्र रहुन्जेल त्यसको छहारीबाट फाइदा लिएका कथित कुलीन वर्ग थिए । तिनका छोराबुहारी र नातिनातिनाको परिवारहरुको जमात नै दसौँ हजार छ । अरु केहीलाई परिचालित गर्न सकिहालिन्छ । पञ्चायतको युवा संगठन, किसान संगठनलगातय देशभरी संगठन थियो,’ उनले भने ।

उनका अनुसार राजतन्त्रको विरासतमा जोडिएकाको एउटा दह्रो जमात छ । त्यो गणतन्त्रको आन्दोलन बढ्दा, लोकतान्त्रिक आन्दोलन, संविधान सभा हुँदा ओझेल रहेर नैतिक रुपमा बोल्न नसक्ने स्थिति थियो । यसमा लोकतन्त्रवादी गणतन्त्रवादी सर्वाङ्ग हुँदा उनीहरुलाई राहत भएको सापकोटाको बुझाइ छ । बढ्दो भ्रष्टाचार र अकर्मण्यताले लोकतन्त्र र गणतन्त्रवादीले वैधता गुमाएपछि राजावादीलाई आत्मबल प्राप्त भएको उनको तर्क छ ।
सापकोटाका अनुसार गणतन्त्रवादीले जति शासकीय वैधता गुमाए, त्यति नै राजावादीको आत्मबल बढ्ने देखिन्छ ।

नागरिक अभियन्ता कृष्ण पहाडी युवाहरु विकल्पहीन भएर आफैलाई चिर्थोदै राजावादी प्रदर्शनमा जोडिएको बताउँछन् । ‘शेरबहादुरजी भ्रष्टाचार र अकर्मण्यतामा खड्गप्रसादजीको सहयोगी जस्तो देखिँदा नेकपा र नेपाली काँग्रेसतिर जाने युवाको बाटो रहेन । बाबुरामजीको जसपा पनि अहिले फुट्छ, भरे फुट्छ अवस्थामा छ । सत्तामा जान खुट्टा उचालेर बसेको छ । आफ्नै पार्टी जोगाउन कसरत गर्नुभयो । त्यहाँ पनि एउटा रिक्तता पैदा भयो । अनि मानिस कहाँ जाने ?,’ उनको प्रश्न छ, ‘यता साझा र विवेकशील आफै फुटेपछि जुटेर कहिले आउँछन् भन्नेबारे युवाको ध्यान नै गएन । दरवारियाले पोल्टो थापेका थिए । त्यहाँनिर ठोक्किन पुग्यो ।’
प्रधानमन्त्री केपी ओलीमा राजनीतिक नैतिकता समाप्त हुँदा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध नेकपाको पंक्ति पक्षघात भएको पहाडीको बुझाइ छ ।

उनले भने, ‘राजनीतिमा नैतिक शक्तिको ठूलो अर्थ हुन्छ । पुष्पकमल दाहालले भ्रष्टाचारीको संरक्षक भनेर प्रधानमन्त्रीविरुद्ध सचिवालयमा प्रस्ताव लगे । प्रस्ताव लगिसकेपछि नेकपाका स्वाभिमानी युवाहरु ठिक हो कि बेठिक हो भनेर जुर्मुराउनु पथ्र्यो ।’

विकृतिबारे स्वतन्त्र नागरिकहरु सडकमा जाँदा प्रधानमन्त्रीले तेजबोध गर्दा राजावादी आन्दोलनमा सहभागिता बढेको उनको बुझाइ छ ।उनले भने, ‘हामीहरुले राज्यसत्ता परिवर्तनको माग गरेका थियौँ र ? विकृतिबारे हामी सडकमा जाँदा खड्गप्रसादजीले हाम्रो तेजबोध गर्नुभयो । गोविन्द केसीलाई छलछाम गर्नुभयो । सत्याग्रहीलाई पनि अपमानित गरियो । त्यसपछि ल त भन्दै युवाहरु व्यवस्थाका विरुद्ध सडकमा पुगेको अवस्था छ ।’
अर्कोतिर युवा पुस्ताले आफैलाई आफैले चिर्थोन थालेको अवस्था आउँदा पनि सडकमा उत्रिएको पहाडीको भनाइ छ । ‘विदेशबाट आएका युवा फेरि विदेश जान पाएनन् । यहाँका नयाँ जनशक्ति पनि विदेश जान पाएन । कोभिड–१९मा सरकारबाट असफलता प्रदर्शन भएपछि युवालाई दायाँ फर्किदा दायाँ पीडा हुन्छ, बायाँ फर्किदा बायाँ पीडा हुन्छ । अनि आफैलाई चिथोर्न थाले । यो त्यही विद्रोह हो,’ उनले भने ।

पहाडीका अनुसार ८० प्रतिशत विद्रोहको निराकरण खड्कप्रसाद ओली नेतृत्वको सत्ता जाने वित्तिकै हुन्छ । ‘त्यसका लागि नेकपाले निकास दिनुपर्ने हो । अब ढिलो हुन थाल्यो । देश अर्को दुर्घटनामा जान्छ । धेरै ठुलो दुर्घटनाका जानका लागि यही सडकको आन्दोलनलाई माध्याम त बनाइँदै छैन ? कतै छिमेकीले हावा दियो भने सैनिकीकरणमा त जाँदैन ? उत्तर र दक्षिणको वायुको कुरा छ । उत्तर र दक्षिणको तातो र चिसो वायुको जुधाइमा नेपालको राजनीतिमा कस्तो वर्षा हुने हो ?,’ उनले आशंका मिश्रित प्रश्न गरे ।

गणतन्त्रको आयु दीर्घायु राख्ने हो भने ओलीको भ्रष्ट सत्तालाई बिदा गर्नेपर्ने उनले बताए । ‘नेकपाले खड्गप्रसादसहितका गलतलाई लिपिबद्ध गरेर पार्टीबाट बढार्नुपर्छ । काँग्रेसले महाधिवेशनबाट बढार्नुपर्छ । बाँकी निकास चुनावले दिन्छ । यसले नै गणतन्त्रको आयु दीर्घायु हुन्छ, यसको जरुरी पनि छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप