शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
काठमाडौँ महानगर

मेयर–उपमेयर ‘टकराब’ : सुनिताको प्रतिरोध एकपछि अर्को किन ?

बसेन कार्यपालिका बैठक, लथालिङ्ग बन्दै महानगर
शुक्रबार, १९ वैशाख २०८२, १३ : ४३
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । करिब चार महिनादेखि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्न सकेको छैन । २०८१ पुस १४ मा १६ औँ नगरसभा बैठक बसेका थियो । 

महिनामा एकचोटि कार्यपालिका बैठक बस्दै आएको महानगरमा पछिल्लो समय मेयर बालेन्द्र साहसँग उपमेयर डङ्गोल, वडाध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबिच मतभेद बढ्दै गएपछि बैठक बसेको छैन । 

खासगरी काठमाडौँ भ्युटावरको विषयमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले अनियमितता गरेको भन्दै विवाद चर्किएपछि मेयर बालेन शाहले गुरागाईं सदस्य सचिवको रूपमा स्वीकार गरी बैठक राख्न चाहेका छैनन् । 

महानगरपालिकाले काठमाडौँ भ्युटावरको विषयमा गुरागाईंमाथि गत पुसमा छानबिन गर्न समिति गठन गरेको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए । तर उनी महानगर फर्किन सफल भए । 

स्थानीय सरकार सञ्चालन ऐनको १७ नम्बर बुँदामा कार्यपालिका बैठक कम्तीमा महिनाको एक पटक बस्नुपर्ने प्रावधान छ । ऐनले उक्त कार्यपालिका बैठक बोलाउने जिम्मेवारी नगरप्रमुखलाई दिएको छ ।

त्यस्तै, स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रमुख प्रशासकीय अधिकृत महानगरको कार्यपालिका बैठक र सभाका सदस्यसचिव हुन्छ, प्रमुख प्रशासकीय अधिकृतले बैठकको निर्णय लेख्ने प्रावधान छ । 

कार्यपालिका बैठक नै नबसेपछि नेपाली कांग्रेसबाट निर्वाचित १८ वडाध्यक्ष र ५ कार्यपालिका सदस्यहरूले गत २०८१ चैत १० मा मेयर शाहसँग कार्यपालिका बैठक माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । र पनि शाहले यसप्रति ध्यान दिएनन् । 

महानगरभित्र विभिन्न समस्या देखापरेका र तिनलाई समाधान गनै बैठक आवश्यक रहेको वडाअध्यक्षहरूले बताउँदै आएका छन् । 

वडाअध्यक्षहरूसँगै उपमेयर सुनिता डंगोलले पनि बैठक राख्न मेयरलाई दबाब दिइरहेकी छन् । डंगोलले तीन महिनासम्म महानगरमा हाजिर गर्न नपाएका प्रमुख प्रशासकीय अधिकृतलाई वडाध्यक्षहरूको सहयोगमा महानगरमा हाजिर गराउन नेतृत्वदायी भूमिका खेलेकी थिइन् । 

महानगरमा देखिएका समस्या समाधानमा उनले सहजीकरण गर्दै आइरहेकी छन् । दुई वर्ष मेयर शाहका काम, निर्णय र गतिविधिमा प्रतिवाद नगरेकी उपमेयर डङ्गोल अहिले भने खरो उत्रिन थालेकी छन् । 

महानगरले गरेका कामकारबाहीको पछिल्लो अवस्थाबारे पत्रकारहरूसँग शनिबार उनले तत्काल कार्यपालिका बैठक राख्नुपर्ने बताएकी थिइन् । 

त्यसक्रममा उनले कार्यपालिका बैठक नबसेकै कारण कानुनहरू समेत बनाउन नसकिएको उल्लेख गरेकी थिइन् । केही काम नभए पनि नयाँ वर्षको शुभकामना दिन भए पनि बैठक आवश्यक रहेको उनको भनाइ थियो । 

उनले भनिन्, ‘चार महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन, कसको कारण हामीले भनिरहनु परेन । जुन दिन मेयरले महानगरपालिकामा मिटिङ बसौँ भन्नुहुन्छ, बस्छ ।’

बैठक बोलाउने अधिकार मेयरलाई भएको र यो काम उपमेयरले गर्न नसक्ने बताएकी उपमेयर डंगोलले आफू कानुनभन्दा बाहिर जान नमिल्ने बताएकी थिइन् । तर उनले मेयर शाहसँगको सम्बन्ध भने पहिल्यैजस्तो रहेको र विवाद नभएको स्पष्ट पारिन् । 

‘सम्बन्ध हिजोको जस्तै छ । बेल्जियमबाट फर्केपछि उहाँसँग भेट भएको छैन, प्रयास गरिरहेको छु,’ उनले भनिन्, ‘महानगरमा एजेन्डाको चाङ लागेको छ ।’ जनताका धेरै प्रश्नको उत्तर कार्यपालिकाले दिनुपर्ने उनले बताइन् । 

  • ‘भ्रष्टाचारका विषयमा अख्तियार किन मौन ?’

उपमेयर डंगोलले महानगरमा पछिल्लो समय धेरै भ्रष्टाचारका विषय आइरहँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको गुनासो पनि गरिन् । 

काठमाडौँ भ्युटावरलगायतका विषयमा भ्रष्टाचार र अनियमितता भएका विषय आइरहँदा पनि नियामक निकाय मौन देखिएकोमा उनको असन्तुष्टि थियो । निष्पक्ष रूपमा तत्काल छानबिनको उनले माग गरिन् । 

‘अख्तियारले महानगरमा छानबिन गर्नैपर्छ । अधुरो सूचना दिएर सधैँ जनतालाई भ्रममा राखिराख्नु हुँदैन,’ उनले थपिन्, ‘महानगरमा यति धेरै फाइल छ रे ! अख्तियारले छानबिन गर्नु पर्दैन ?’ 

कुनै दबाब र प्रभावमा नपरी निष्पक्ष छानबिन गर्न पनि उनले आग्रह गरिन् । 

महानगरमा संगठित रूपमा भ्रष्टाचार भएको र त्यसको समेत अनुसन्धानको उनले माग गरिन् । महानगरको बोर्ड बैठकको भिडियो पनि एकपक्षीय र अधुरो सार्वजनिक गरिएको गुनासो गरेकी डंगोलले पूरै भिडियो बाहिर ल्याउनुपर्ने बताइन् । 

साथै उनले सामाजिक सञ्जालमा भाइरल गराइएको भिडिओ सुनियोजित भएको दाबी गरिन् । ‘म नेपालबाहिर भएकाले त्यो मिटिङमा म थिइनँ । १७ सेकेन्डको भिडिओ काटेर सुनियोजित रूपमा अहिले बाहिर ल्याएर भ्रम छर्न पाइँदैन,’ उनले भनिन्, ‘यदि त्यस्तै कुराकानी थियो भने किन अहिलेसम्म कुर्नुपर्थ्यो ? अन द स्पोट सार्वजनिक गरेर संलग्नलाई कारबाही गर्नुपर्थ्यो ।’ 

आम नागरिकले थाहा पाउनुपर्ने जिकिर गरेकी उनले उक्त भिडियोको पूरा क्लिप मगाएको बताइन् । ‘त्यो १७ सेकेन्ड अगाडि पछाडि पनि त केही कुराकानी भा’को होला । स्वयं मेयर सा’बले बैठकमा के भन्नुभयो ? मैले पूरा भिडिओ मागेको छु,’ उनले भनिन् । 

  • ‘महानगरका समस्या बोलेर समाधान हुन्छ भने बोल्छु’ 

आफू सोच विचार गरेरै राजनीतिमा आएको बताएकी उपमेयर डंगोलले आफूबारे आइरहेका सकारात्मक÷नकारात्मक टिप्पणीभन्दा माथि उठेर काम गरिरहेको उल्लेख गरिन् । 

‘हिजो मैले गरिरहेको कामलाई एम्प्लिफाई गर्न राजनीतिमा आएकी हुँ । मलाई कतिले बोलिनस् पनि भन्छन् । तर महानगरको हितमा मैले के गर्दा हुन्छ, डे वान देखि नै त्यही गर्दै आएकी छु,’ उनले भनिन्, ‘के गर्दा राम्रो हुन्छ त्यही गर्छु । बोलेर समाधान हुन्छ भने बोल्छु । नबोलेरै विवाद समाधान हुन्छ भने त्यसै पनि गर्दै आएको छु ।’

विगतमा कार्यपालिका बैठकमा विवाद हुँदा पनि आफैले समाधान गरेको उनको दाबी थियो । ‘महानगरका जनता र समस्या समाधानमा केन्द्रित भएर काम गर्दा पनि सामाजिक सञ्जालमा सुनिनसक्नु, हेरिनसक्नु खालका छन्,’ भनिन्, ‘तर त्यतातिर ध्यान दिएर हुन्न, महानगर र यहाँका जनताको हितमा काम गर्नुछ ।’

  • यूथ सेलिब्रेसनको भाषण कसैप्रति लक्षित थिएन

उपमेयर डंगोलले गत वैशाख ११ गते नेकपा एमालेले आयोजना गरेको यूथ सेलिब्रेसन आफूले गरेको भाषण कसैप्रति लक्षित नभएको पनि बताइन् । यद्यपि उक्त भाषणपछि भने उनी मेयर शाहका समर्थकको निसानामा परेकी छन् ।

जहाँ उनले ‘स्टन्ट गरेर देश बन्दैन, बन्छ ? अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजनाअनुरूप काम गर्नुपर्छ, योजना बनाउनुपर्छ ।’ भनेकी थिइन् । तर उनको भाषण मेयर शाहलक्षित थियो । 

उक्त भाषणमा उनले सामाजिक सञ्जालमा आफूलाई विरोध गर्दैमा केही फरक नपर्नेसमेत बताएकी थिइन् । 

  • एउटै कार्यालय, तर मेयसँग छैन भेटघाट

महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई तीन महिनापछि कार्यालयमा हाजिर गराएको र एमालेको यूथ सेलिब्रेसनको भाषणपछि मेयरसँग तिक्तता बढेको हो भन्ने प्रश्नमा उनले मेयर शाहसँगको सम्बन्ध विगतजस्तै रहेको बताइन् । 

तर शाहसँग लामो समयदेखि भेट नभएको उनले स्वीकार गरिन् । पछिल्लो समय महानगरमा देखिएका समस्या समाधान र कार्यपालिका बैठक बसाल्न भने भेट्ने प्रयास गरेको उनले सुनाइन् । 

  • ‘न्यायिक समितिमा कुनै फाइल पेन्डिङ छैन’

उपमेयर डंगोलले आफूलाई तोकिएको/दिइएको जिम्मेवारी सफलतापूर्वक गरिरहेको दाबी गरिन् । महानगरको न्यायिक समितिले गरेको कामले विदेशमा समेत चर्चा कमाएको उनको जिकिर थियो । आफ्नो नेतृत्वको न्यायिक समितिले गरेका काम अरूले फलो गर्ने अवस्थामा पुगेको उनले दाबी गरिन् । 

उनले अन्तर्राष्ट्रिय फोरमहरूमा  नेपालमा  निर्वाचित जनप्रतिनिधिले न्यायिक समाधान गर्ने प्रक्रियाको खुलेर प्रशंशा गरेको बताइन । उनले महानगरमा न्यायिक समितिमा कुनै फाइल नरोकिएको बताइन् । डंगोलले न्यायिक समितिमा पेण्डिङ फायल एउटै नरहेको बताइन् । उनले भनिन्,‘ इतिहासमा पहिलो पटक महानगरको न्यायिक समितिमा कुनै पनि फाइल बाँकी छैनन्। अहिलेसम्म न्यायाका  लागि  दर्ता भएका सबै फाइलहरूको न्यायिक निरूपण गरेका छौं । मेलमिलापमा वृद्धि हुँदै गएको छ ।’

महानगरको न्यायिक समितिमा निःशुल्क मेलमिलाप गर्ने कार्य थालनी गरेकाले न्यायको पहुँच सबैमा पुगेकाले मेलमिलापका मुद्दाहरू वृद्धि भएको बताइन । उनले विगतमा मेलमिलापको लागि पैसा लाग्ने भएकाले न्याय पाउने शंका भएकाले मेलमिलाप भन्दा पनि अदालत जाने गरेपनि पछिल्लो समय न्यायिक समितिबाट मेलमिलाप हुने गरेको बताइन । 

भ्युटावर भत्काउन बालेनलाई साथ

उपमेयर डङ्गोल काठमाडौँ भ्यूटावर भत्काउनुपर्ने पक्षमा देखिएकी छन् । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरको विषय थप पेचिलो बन्दै गएपछि महानगरपालिकाका मेयर बालेन्द्र शाहले टावर भत्काइदिने योजना बनाएको सुनिएको छ । 

मेयर बालेन्द्रले भ्यूटावर भत्काउने योजना बनाउँदै गर्दा उपमेयर पनि भत्काउने पक्षमा देखिएकी छन् । उपमेयर डंगोलले काठमाडौँ भ्यूटावर औचित्यहीन रहेको बताएकी छन् । 

बालेनसँग भिड्दै 

काठमाडौँ महानगरपालिकामा मेयर र उपमेयर निर्वाचित भएको तीन वर्ष पूरा भएको छ । तीन वर्षसम्म मेयर शाह चर्चामा रहिरहे । 

उनका कतिपय काम विवादित पनि भए । उनका अभिव्यक्तिप्रति आलोचनासमेत भए । तर केही काममा भने उनको चौतर्फी तारिफ भयो । तर उपमेयर डङ्गोल भने तीन वर्षसम्म मेयर साहलाई मौन समर्थन गर्दै आइरहिन् । 

फोहोर व्यवस्थापनका विषयमा होस् वा सुकुमबासी, फुटपाथ, घर टहरा भत्काउनेलगायत हुन् । मेयरलाई उपमेयरबाट समर्थन नै रह्यो । विगतमा काठमाडौँ महानगरमा मेयर र उपमेयरबीच सधैँ विवाद हुने देखिए पनि शाह र डंगोलबिच भने खासै टकराब उत्पन्न भएन । 

यसअघिका मेयर विद्यासुन्दर शाक्य र हरिप्रभा खड्कीबिच लामो समय विवाद चलेको थियो । 

मेयर शाहका अभिव्यक्तिमा सरल भाषामा नम्र शैलीमा उपमेयर डङ्गोल प्रस्तुत हुने गरेकी थिइन् । २०८० भदौ १६ गते राति बालेनले फेसबुकमा स्टाटसमार्फत सिंहदरबार जलाउने दिएको धम्कीका विषय र महानगरसभामा नगर सदस्यले महानगर जलाउने दिएको अभिव्यक्तिलाई डंगोलले नम्र शैलीमा जवाफ दिएकी थिइन् । १५ औँ नगरसभाको तेस्रो बैठकमा डंगोलले दुवै पक्ष गलत भएको बताइकी थिइन् ।

मेयरले गरेका काम र निर्णयको मौन समर्थन र वडाध्यक्षबिचको विवाद मिलाउन मध्यस्थकर्ताको भूमिका खेल्दै आएकी उपमेयर डंगोलले पछिल्लो समय भने मेयरको खुलेर विरोध जनाएकी छिन् । 

पछिल्लो समय उपमेयर डंगोलले कार्यपालिका बैठकमा होस् या सार्वजनिक मञ्चमा, मेयरप्रति रोष प्रकट गर्न थालेकी छन् । 

मेयर र प्रमुख प्रशासकीय अधिकृतबिच भएका विवादमा उनले प्रमुख प्रशासकीय अधिकृतलाई साथ दिएकी थिइन् । 

वैशाख ११ गतेको एमालेको यूथ सेलिब्रेसनमा पनि डंगोलले मेयर शाहविरुद्ध अभिव्यक्ति दिएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप