आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?

शुक्रबार, १९ वैशाख २०८२, २२ : ००
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । आज मिति २०८२ साल वैशाख महिनाको १९ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

१. नीति तथा कार्यक्रम सार्वजनिक
सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।  शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 
सरकारको नीति तथा कार्यक्रम ५६ पेज लामो छ भने १५५ बुँदामा समेटिएको छ । सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति पौडेलले परिवर्तन र उपलब्धिप्रति जनतालाई गौरवबोध गराउन, सरकारप्रति जनताको विश्वास जगाउँदै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

२. नीति तथा कार्यक्रमबारे टिप्पणी
आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमबारे सांसद र निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे मिश्रित प्रतिक्रिया आएको हो ।
नीति तथा कार्यक्रमलाई सत्तापक्षले सकारात्मक र गर्न सक्ने खालको भएको जनाएको छ भने प्रतिपक्षले गन्तव्य विनाको  कार्यक्रम भएको प्रतिक्रिया दिएको छ । निजी क्षेत्रका छाता संस्थाहरूले भने नीति तथा कार्यक्रमका लागि दिएका सुझावका आधारमा आएको भन्दै सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

३.भाजपाका नेता चौथाइवालेको नेपाल भ्रमण 
भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले तीन दिने नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्केका छन् । बुधबार नेपाल आइपुगेका उनले संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् । उनले मुख्य रूपमा नेपाल–भारत सम्बन्ध र सुरक्षाको विषयमा चासो राखेका छन् । 

४. महिमानसिंह विष्टलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति 
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ प्रहरीलाई अनुमति दिएको हो । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ गरेका थिए । 

५. किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्यु प्रकरण
 भारतको ओडिसा राज्य सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेको घटनाबारे छानबिन सुरु भएको जानकारी दिएको छ । 
स्थानीय प्रहरीलाई बिहीबार राति ८ः१० बजे घटनाबारे जानकारी  आएको र लगत्तै प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिश्नर लगायतका वरिष्ठ अधिकारीहरू  घटनाको कारणबारे सोधपुछ र अनुसन्धानमा जुटेको ओडिसाको मौलिक तथा जनसम्पर्क विभागले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो । 
उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा साह बिहीबार साँझ मृत फेला परेकी थिइन् ।

६.  अजरबैजानका उपविदेशमन्त्री काठमाडौँमा 
अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभ नेपाल भ्रमणमा आएका छन् । उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

७. एनआरएनएको एकता महाधिवेशन 
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गर्ने बाटो खुला भएको छ । महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दा शुक्रबार समेत हेर्न नमिल्ने भएसँगै शनिबारदेखि एकताको महाधिवेशन गर्ने बाटो खुला भएको हो । एनआरएनए एकताको महाधिवेशन पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा शनिबारदेखि सोमबारसम्म राजधानीको हायात होटलमा हुँदैछ । 

८. कांग्रेसले बोलायो संसदीय दलको बैठक
सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो एक बजे संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।

९. विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम
नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। सार्वजनिक कार्यक्रम अनुसार जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने उल्लेख छ । 

१०. कर्णालीमा बजेट कार्यान्वयनको अवस्था 
 विकासका दृष्टिले निकै पछि परेको कर्णाली प्रदेशले बजेट कार्यान्वयनको अवस्थामा सुधार गर्न सकेको छैन । प्रदेशको आन्तरिक आम्दानी बढाउने त परै जावस्, सङ्घबाट उपलब्ध गराइएको बजेट पनि कार्यान्वयन गर्न नसकेर फ्रिज हुने अवस्थाले निरन्तरता पाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप