सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अपर तामाकोशी : आयोजना सकिने निश्चित छैन, बजारमूल्य उचालिँदै

बुधबार, २४ मङ्सिर २०७७, ०८ : ३३
बुधबार, २४ मङ्सिर २०७७

काठमाडौं । पछिल्लो केही दिनदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयरमूल्य उकालो लाग्दै गएको छ । आइतबार नकारात्मक सर्किट लागेको दिनलाई छाड्ने हो भने ५ दिनदेखि यो सेयरको कारोबारमा निरन्तर सकारात्मक सर्किट लाग्दै गएको छ । अघिल्लो साताको आइतबार ३ सय रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भइरहेको यस कम्पनीको सेयर मंगलबारसम्म आइपुग्दा ५ सय रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ । यो दुई तिहाई भन्दा बढीको बढोत्तरी हो । यसको अर्थ अघिल्लो साता यस कम्पनीको सेयरमा लगानी गर्नेले अहिले करिब ७० प्रतिशत पुँजीगत लाभ प्राप्त गरिसकेका छन् । 

यसरी दिनप्रतिदिन मूल्य उचालिँदै जाँदा लाग्छ, यो कम्पनीले आयोजनामा छिटै नै कुनै ‘ब्रेक थ्रु’ नै गर्दैछ । तर, आयोजनाको अवस्था हेर्दा उत्साहित हुने अवस्था भने छैन । आयोजना निर्माणको अन्तिम चरणमा रहेको यो कम्पनीले कहिलेदेखि व्यवसायिक उत्पादन थाल्छ भन्नसक्ने अवस्था छैन । तर, पछिल्लो पटक लिइएको पुस मसान्तदेखि परीक्षण उत्पादन थाल्ने लक्ष्य भने फेरि पनि पूरा नहुने निश्चित देखिएको छ ।  

अपर तामाकोशी आयोजनाको भौतिक प्रगति ९९.५ प्रतिशत भन्दा बढी छ । आयोजनाको तेस्रो सुरुङ अन्तर्गत दुईवटा पाइप जडान गरेपछि आयोजनाको भौतिक प्रगति शतप्रतिशत पुग्छ । उक्त सुरुङमा पाइप जडान भएपछि आयोजना परीक्षण उत्पादनको चरणमा जानेछ । आयोजनाको अन्तिम गाँठोको फुक्न नसक्दा लामो समयदेखि आयोजनाको काम प्रभावित हुँदै आएको छ । 

किन हुँदैछ ढिलाई ? 
अन्तिम कामको रुपमा रहेको पाइप जडानका लागि अघिल्लो वर्षदेखि नै तयारी थालिएको थियो । सामानको आपूर्ति र निर्माणको जिम्मा पाएको भारतीय ठेकेदार कम्पनी टेक्स म्याकोले समयमै सामान ल्याएर जडान नगर्दा यो काम रोकिएको हो । 

तर, जडानका लागि चाहिने दुईवटा पाइप अहिलेसम्म भारतबाट आउन सकेको छैन । कोलकत्तामा निर्माण हुनुपर्ने उक्त पाइप अहिलेसम्म आउन नसकेकोले आयोजना निर्माण रोकिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । 

‘पाइप आइसकेपछि जडानको काम सुरु हुन्छ । जडान सकिएपछि परीक्षणमा जाने हो । तर पाइप नै आउन नसकेकोले जडानको काम हुन सकेको छैन । हामी अहिले पनि त्यसैको प्रतीक्षा गरिरहेका छौं,’ न्यौपानेले भने । त्यसो त, अघिल्लो वर्ष चैतमा लकडाउन हुँदादेखि नै पाइप ल्याउने तयारी गरिएको थियो । तर पाइप निर्माता कम्पनीले त्यसको उत्पादन गर्न नसक्दा समयमा सामान ल्याउने प्रक्रिया अवरुद्ध भयो । 

लकडाउन सुरु भएपछि पनि सो कम्पनीले विभिन्न समस्या देखाउँदै यसको आपूर्ति गर्न सकेको छैन । कोलकत्तामा निर्माणाधीन उक्त सामान उत्पादन भइसक्यो कि भएको छैन भन्ने जानकारी समेत अहिले सो कम्पनीलाई छैन । कम्पनीले कोभिडको कारणले समस्या भयो भनिरहँदा अहिलेसम्म सामानको उत्पादनमा के प्रगति हुँदैछ भन्ने केही जानकारी दिएको छैन । 

‘सामान बनाउने कम्पनीले कोभिडको कारण समस्या भयो भनिरहनुभएको छ। हाम्रो इन्जिनियरहरु १÷२ दिनभित्रै त्यहाँ जाँदै हुनुहुन्छ । उहाँहरुले त्यहाँको अवस्था के छ भनेर बुझ्नुहुन्छ । अहिले के हुँदैछ भन्ने थाहा छैन', उनले भने ।  

व्यवसायिक उत्पादन पर धकेलिने निश्चित
पछिल्लो कार्ययोजना अनुसार अपर तामाकोशीले पुस मसान्तभित्र निर्माणको सबै काम सक्ने र माघदेखि परीक्षणको काम थाल्ने लक्ष्य लिएको थियो । ३ महिनाको परीक्षणपछि वैशाखदेखि व्यवसायिक उत्पादन थाल्ने कम्पनीको पछिल्लो अनुमान थियो । तर, पछिल्लो अवस्था हेर्दा पुस मसान्तमा जडानको काम नसकिने पक्का भएको छ । 

सबै सामानहरु आइसकेपछि अब यसको जडान गर्न करिब २ महिना लाग्ने अवस्था छ । आयोजनाका प्रवक्ता न्यौपाने भन्छन्, ‘अब तत्कालै सामान हिँड्ने अवस्था भयो भने माघ मसान्तसम्ममा निर्माण कार्य सकिएर परीक्षणमा जान सकिन्छ कि भन्ने अनुमान गरेका छौं । पुस मसान्तसम्म चाहिँ अब नसकिने नै भयो ।’

परीक्षण सुरु भइकेपछि व्यवसायिक उत्पादन गर्ने चरणमा पुग्न करिब ३ महिना लाग्छ । यसो हुँदा अब छिटोमा बैशाखसम्म मात्रै आयोजनाको व्यवसायिक उत्पादन सुरु हुनसक्ने अवस्था देखिन्छ । तर सामान आउनै ढिला भयो भने यो झनै पछाडि धकेलिन पनि सक्छ ।

लागत दोब्बर पुग्यो, अझै बढ्दै
निर्माणमा पटकपटक ढिलाई हुँदा कम्पनीको लागत सुरुको लागतभन्दा दोब्बर पुगिसकेको छ । २०६८ सालमा निर्माण सुरु गर्दा यस आयोजनाको लागत ३५ अर्ब २९ करोड अनुमान गरिएको थियो । पुसमा निर्माण सम्पन्न हुने प्रक्षेपणसहित यसको लागत ७३ अर्ब ७६ करोड प्रक्षेपण गरिएको छ । यसमध्ये ५१ अर्ब ९२ करोड लागत र २१ अर्ब ७४ करोड ब्याज हो । 

अहिले अपर तामाकोशीले नेपाल सरकार, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान लगायत संस्थाहरुसँग ऋण लिएर आयोजना निर्माण गरिरहेको छ । 
त्यस्तो ऋणको ब्याज निर्माण सम्पन्न नभएसम्म पुँजीकरण हुँदै जाने भएकोले यसले आयोजनाको लागत बढाउँदै लगेको छ । आयोजना १ महिना ढिलो हुँदा आयोजनाको लागत थप १ अर्बले बढ्दै जाने अवस्था छ । 

असोज मसान्तसम्म आयोजनाको कुल ऋण ३८ अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ । ब्याज पुँजीकरण हुँदै जाने भएकोले यस्तो ऋण बढ्दै गएको हो । आयोजना निर्माणमा ढिलाई हुँदा यसको लागत थप बढ्दै जानेछ ।
त्यसो त, पछिल्लो समय ब्याजकै कारण लागत बढेको भए पनि लागत दोब्बर पुग्नुको कारण यो मात्रै चाहिँ होइन । तर, २०७२ सालमा आएको भुकम्प र संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी तथा त्यससँगै नेपाली मूल्यको अवमूल्यनले लागतमा प्रभाव पारेको हो । निर्माण सामाग्रीको मूल्यका कारणले मात्रै लागत करिब १७ अर्ब रुपैयाँले बढ्ने अनुमान गरिएको छ । 

किन उचालियो मूल्य ?
पछिल्लो समय सरकारी स्वामित्वका सार्वजनिक संस्थानको सेयरमूल्य एकपछि अर्को बढ्दै गएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य १ वर्षअघि ४ सय रहेकोमा केही समयअघि ८ हजार रुपैयाँसम्म पुगेको थियो । अहिले यसको मूल्य घटेर ५ हजार ५ सय रुपैयाँको हाराहारीमा छ । 

पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य पनि दिनप्रतिदिन बढ्दै १ हजार ८ सयसम्म पुगेर तल झरेको थियो । अहिले बजारमा अपर तामाकोशी जलविद्युत् आयोजनाको मूल्य पनि त्यसरी दिनप्रतिदिन बढ्दै गएको छ । यो वृद्धिलाई सरकारी कम्पनीको मूल्य वृद्धिको निरन्तरताको रुपमा हेरिएका छन् । 

अपर तामाकोसी आयोजनाका प्रवक्ता न्यौपाने भने आयोजना अन्तिम चरणमा पुगिसकेकोले छिटै व्यवसायिक उपादन सुरु हुने विश्वासका साथ मूल्य बढेको हुनसक्ने बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप