
कीर्तिमानी जीतसँगै शीर्ष स्थानमा उक्लियो युनाइटेड

पाउल पोग्बाले उत्कृष्ट गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै फुलहामलाई पराजित गरेको छ । फुलहमविरुद्ध कीर्तिमानी जीत हासिल गर्दै युनाइटेड पुनः प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
युनाइटेड खेलको पाँचौ मिनेटमा नै एडेमोला लुकम्यानको गोलमा पछि परेको थियो । तर, २१ औँ मिनेटमा एडिन्सन कभानीले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा पोग्बाले गोल गर्दै युनाइटेडको जीत सुनिश्चित गरे ।
युनाइटेड प्रिमियर लिगमा घरेलु मैदानबाहिर खेलिएका पछिल्ला १७ खेल अपराजित रहेको छ । योसँगै क्लबले घरेलु मैदानबाहिर अपराजित रहेको क्लबको कीर्तिमानलाई बराबरी गरेको छ । यसअघि युनाइटेडले सन् डिसेम्बर १९९८ देखि सेप्टेम्बर १९९९ सम्म अपराजित रहँदै यो कीर्तिमान बनाएको थियो ।
जीतसँगै १९ खेलबाट ४० अंक बटुल्दै युनाइटेड लिगको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो स्थानमा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी रहेको छ । सिटीको १८ खलबाट ३८ अंक रहेको छ ।
बुधबार नै सिटीले एस्टनभिल्लालाई २–० गोलले हरायो । सिटीको संघर्षपूर्ण जीतमा बर्नार्डो सिल्भा र इल्के गुन्डोगानले एक–एक गोल गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ