लुम्बिनी प्रदेशका ६ जिल्लामा मात्र खोप अभियान सुरु

बुटवल । देशभर कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएसँगै बुधबार लुम्बिनी प्रदेशमा पनि खोप लगाउन थालिएको छ । लुम्बिनी प्रदेशमा कोरोनाविरुद्धको खोप दुई चरणमा लगाइने भएको छ । बुधबार तराईका ६ जिल्लामा खोप अभियान सुरु गरिएको छ भने बाँकी ६ जिल्लामा १७ गतेबाट खोप लगाउन सुरु गरिनेछ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल लगायतको उपस्थितिमा खोप अभियान सुरु गरिएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका मे.सु.डा राजेन्द्र खनालले खोप लगाएर अभियान सुरु गरेका थिए ।
प्रादेशिक अस्पतालका चिकित्सक विष्णुप्रसाद गौतमले विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा भएपछि मात्र खोप लगाउन सुरु गरिएको भन्दै खोप लगाउनबाट आत्तिनु वा डराउन नपर्ने बताए । उनले सुरुकै चरणमा खोप लगाउन पाएकोमा खुशी व्यक्त गरे ।
अस्पतालका फार्मेसी अधिकृत पदम खनालले खोप लगाउन हिचकिचाइरहनु नपर्ने बताए । उनले भने, ‘मलाई सामान्य अनुभूति भएको छ, मलाई अन्य खोप लगाउँदा पनि के कस्तो हुन्छ भन्ने जानकारी भएकाले यो खोप लगाउँदा त्यस्तो कुनै डर, त्रास भएन ।’
उनले खोप लगाएपछि आधा घण्टा आराम गरेको त्यो बीचमा सामान्य अवस्था नै रहेकाले नियमित काममा सक्रिय हुन थालेको जनाए । ‘अब २८ दिनपछि अर्को खोप लगाएर पूर्णरुपमा सुरक्षित भएको महशुस गर्नेछु,’ उनले भने ।
पश्चिम नवलपरासीमा पनि खोप सुरु
पश्चिम नवलपरासीमा पनि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा पृथ्वीचन्द्र अस्पताल परासीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री बैजनाथ चौधरीले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्त्रण गरी खोप अभियान सुरु गरेका हुन् ।
पृथ्वीचन्द्र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुलहोदाले खोपप्रति स्वास्थ्यकर्मीहरुको मानसिक त्रास हटाउन र मनोबल उच्च राख्ने सन्देश दिन भन्दै पहिलो खोप लगाए । जिल्लामा बुधबार सुरु भएको यो खोप अभियान अन्तर्गत कोभिड–१९ व्यवस्थापन तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, शव बाहन तथा एम्बुलेन्स चालक, कोभिड संक्रमित भएर मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र महिला स्वयंसेविका गरी कुल ११ सय जनालाई खोप लगाइने छ ।
जिल्लामा १० दिनसम्म चल्ने खोप अभियान अन्तर्गत बुधबारमात्र १०० जनालाई खोप दिने कार्यक्रम छ । जिल्लामा कुल २३८० डोज खोप आएको छ । पहिलो चरणमा खोप लिनेले खोप लिएको मितिबाट एक महिनापछि अर्काे चरणको खोप लिनुपर्ने छ ।
जिल्लाको ७ वटै पालिकामा रहेका स्वास्थ्यकर्मी र कोभिड व्यवस्थापनमा खटिनेहरुलाई पालैपालो उक्त खोप लगाईने जनाइएको छ । बुधबार रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा खोप लगाइने छ भने बिहीबारबाट क्रमशः अरु पालिकाका फ्रन्टलाइनरलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
(बुटवलबाट तेजेन्द्र केसी र नवलपरासी पश्चिमबाट हुसेन अन्सारीको सहयोगमा ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक साता भित्रै मन्त्री छान्ने काम पूरा हुन्छ : घनश्याम चौधरी
-
जलवायु संकट समाधानका लागि लोमन्थाङ घोषणापत्र जारी
-
लोकसेवा आयोगतर्फका वकिलको जिकिर : ५२ संवैधानिक नियुक्तिमध्ये पछिल्ला २० जनाको नियुक्ति वैध छ
-
न्याय परिषद् नियमावली संशोधन खारेज गर्न र घिमिरेको अवहेलना मुद्दा छिटो टुङ्गाउन बारको आग्रह
-
न्याय परिषद्ले माग्यो सबै न्यायाधीशसँग एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि
-
अधिकार नहुँदा औद्योगिक विकास र उद्यमशीलता काममा समस्या भयो : मुख्यमन्त्री लामा