‘हिउँ पर्न छोडेर पानी बर्स्यो, मुस्ताङीले छाना फेरे’

मुस्ताङ । मार्फाका कालबहादुर लालचनको बचपन हिउँसँगै खेलेर बित्यो । उनले जान्दासम्म मार्फामा हिउँद लागेपछि ५–६ फिटसम्म हिउँ जमेको अनुभव छ ।
‘हिउँदमा परेको हिउँ बिलाएर आउने पानी हामीले खान्थ्यौँ । हप्तौँसम्म हिमपातले बाहिर निस्किन सकिँदैनथ्यो,’ उनले भने, ‘४–५ वर्षजति भयो, हिउँ देख्नै पाइएको छैन । हिउँ नै पर्दैन । परिहाले पनि एकाध घण्टामै बिलाएर जान्छ ।’ यति छिटो हिउँ पग्लिनुमा जमिन तातेको उनको तर्क छ । स्याउको राजधानी भनेर चिनिने मार्फामा हिउँ नपरेकै कारण उत्पादन अत्यधिक घटेको छ । यद्यपि कुनै कुनै वर्ष चाहिँ हिउँ पर्छ र उत्पादन केही बढ्छ ।
हिउँ पर्न छोडेपछि यतातिर वर्षा बढेको छ । मुस्ताङको सीमाना घाँसा कटेपछि अहिले पनि पुराना घरहरू हेर्ने हो भने सख्खर माटोले बनेको देखिन्छ । छाना पनि माटोकै हुन्थ्यो । घरको सुरक्षाका लागि उनीहरुले छानामाथि दाउरा राख्छन् । आजभोलि माटोको छाना भएका घर बनाउँदैनन्, उनीहरू । पुराना घरमा पनि टिन छाउन थालेका छन् । ‘पानीले बसिखानै दिँदैन । छाना चुहिएर घरै बगाउला भन्ने पीर भो,’ लालचनले थपे, ‘बरु छाना फेरौँ भनेर धेरैले छानामा टिन हाल्न थाले । नयाँ घर त कङ्क्रिट मात्रै हो, माटो कसैले प्रयोग गर्दैन ।’ मुस्ताङमा अहिले परम्परागत भन्दा टिन र कङ्क्रिटका घर बढी छन् ।
विज्ञ मन्जित ढकाल र उनको समूहले अलि वर्षअघि गरेको एउटा अध्ययनले नेपालमै सबैभन्दा बढी तापक्रम वृद्धि हुने जिल्लाका रूपमा मुस्ताङलाई सूचीकृत गरेको छ । ढकालकै भनाइ सापट लिने हो भने अन्यत्र भन्दा मुस्ताङको तापक्रम १० गुणाका दरले बढिरहेको छ । जोमसोमका कृष्ण गौचन मुस्ताङीको आनीबानी र सहरिया देखासिकीले पनि जलवायु परिवर्तनको असर बढ्न थालेको बताउँछन् । उनी जलवायु परिवर्तनको असर कम गर्न अत्यधिक मात्रामा भइरहेको भौतिक संरचना निर्माणमा सिमेन्ट र फलामजन्य सामग्रीको प्रयोग घटाउनुपर्ने सुझाव दिन्छन् ।
‘हाम्रो समयमा सिमेन्ट भन्ने देखेकै थिएनौँ । सिङ्गै घर ढुङ्गा, माटो र काठले बन्थ्यो,’ उनले भने, ‘अहिले कङ्क्रिट भरिएको छ । हाम्रो माटोले त्यस्तो संरचना थेग्न सकेको छैन । पछिल्लो २ दशकदेखि मुस्ताङमा उतिसारो जम्ने गरी हिउँ परेको छैन । छैंरोकी सुकुन रसाइली विकको चाहिँ जलवायु परिवर्तनले यति विघ्न दुख दिनुमा बाह्य कारण बढी भएको बुझाइ छ । ‘यो मुस्ताङीले निम्त्याएको समस्या होइन । ठुला देशहरूले थोपरेको पीडा हो,’ उनी भन्छिन्, ‘ठुला देशका कलकारखानाको धुवाँले साना देशलाई असर पारेको छ । यसको असर बढी हिमाली जिल्लामा पर्दो रहेछ । हामीले व्यवहारिक रूपमै महसुस गरेका छौँ ।’ आजभोलि मुस्ताङमा हुने प्रायः कार्यक्रममा जलवायु परिवर्तनले पारेको असरबारे छलफल र बहस हुन्छ । स्थानीयले आफ्ना अनुभव सुनाउँछन् । सबैको एकमुख छ, ‘मुस्ताङमा जलवायु परिवर्तनले हैरान पार्यो । रोक्नका लागि सरकारले पहल गरोस् ।’
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० कात्तिकमा मुस्ताङीलाई भेटेर ठुला देशको गल्तीको सजायँ मुस्ताङीले भोग्नुपरेको भन्दै बर्सेनि ५० करोड रुपैयाँ जलवायु परिवर्तन अनुकूलनका कार्यक्रममा विनियोजन गर्ने बाचा गरेका थिए । ‘दिनदिनै हाम्रो स्वास्थ्य बिग्रिन थालेको छ । नयाँ नयाँ रोग र किराहरू देखिन्छन्,’ प्रदेश सांसद विकल शेरचन भन्छन्, ‘प्रधानमन्त्रीले आश्वासन दिएर जानुभयो । हामी होला भनेर आसमा बस्यौँ, पैसा आएन ।’ २०८० सालकै साउनमा नेपालकै कम पानी पर्ने कागबेनी बाढीले बगायो । हिमालपारीको जिल्ला भएकाले पनि मुस्ताङ ‘रेन स्याडो जोन’मा पर्छ । पानी नपर्ने र हिउँ मात्रै पर्ने भएकोले यहाँको भौतिक संरचना ढुङ्गा र माटोबाट मात्रै बन्थ्यो ।
असमयमा झरी पर्ने र मुसलधारे वर्षा हुन लागेपछि मुस्ताङीले घरको छाना समेत फेर्न थालेका छन् । ‘सबैले पुरानो घर भत्काएर नयाँ घर बनाउन थाले । सक्नेले सिमेन्ट र रडको घर बनाएका छन् । नसक्नेले टिनको छाना हाल्न थाले,’ घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन भन्छन्, ‘हामीले मुस्ताङको पहिचान जोगाउन सक्दो प्रयास गर्यौँ । तर मौसम बाधक बनेको छ ।’ दर्के पानी पर्न थालेपछि मुस्ताङलाई पुरानै स्वरूपमा राख्न चुनौती थपिएको उनको भनाई छ । धेरै गाउँहरूमा खानेपानी र सिँचाइको अभाव हुन थालिसकेको स्थानीयहरू गुनासो गर्छन् ।
स्थानीय शेरबहादुर गुरुङ मुस्ताङ भौगोलिक र प्राकृतिक रूपमा स्वर्ग भए पनि जलवायु परिवर्तनको असरले दिनदिनै थिचिँदै गएको सुनाउँछन् । ‘स्याउको रुखहरूमा के के हो के के किरा आउँछन् । उहिले यस्तो किरा देखेका थिएनौँ,’ उनले भने, ‘अलिअलि हाम्रो पनि दोष त होला । तर हाम्रो मात्रै कारणले यो विध्वंस भएको हो जस्तो लाग्दैन ।’ मुस्ताङका पुराना पत्रकार भीम रसाइली मौसममा गडबडी बढ्दै गएकोमा दुखी छन् । ‘पानी नै नपर्ने ठाउँमा आरी घोप्ट्याएजस्तो पानी कसरी परेको ? ८० सालको बाढीले कत्रो विध्वंस गर्यो ?,’ उनी भन्छन्, ‘मेरो जीवनकालमा त्यो बाढी देखेकै होइन । मुस्ताङमा अचेल अनौठा घटनाक्रम भइरहेका छन् ।’
जलवायु परिवर्तनको असर मानव स्वास्थ्यसँगै कृषि र पशुपालनमा पनि प्रत्यक्ष देखा परेको छ । उनीहरुले आफूहरूले भोगेका दुखबारे संसारको ध्यानाकर्षण गराइदिन पत्रकारहरूसँग आग्रह गरेका छन् । नेपाल प्रेस युनियनले आयोजना गरेको जोमसोम जलवायु वर्कसपमा आफ्ना पीडा खुलेर सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि