बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

भारत र पाकिस्तानबिच तनाव : चर्चामा चीनको ‘जे–१० सी’

मङ्गलबार, ३० वैशाख २०८२, ११ : १५
मङ्गलबार, ३० वैशाख २०८२

गत बुधबार बिहान चार बज्दा नबज्दै पाकिस्तानका लागि चीनका राजदूत हतारिँदै दूतावासमा पुगे । भर्खरै प्राप्त अभूतपूर्व सैन्य सफलताको खुसी बाँड्नु थियो उनलाई ।

पाकिस्तानले भारतीय लडाकु विमान खसालेको भर्खरै खबर पाएका थिए उनले । यसरी लडाकु विमान खसाल्नका लागि पाकिस्तानी सेनाले चीनमा बनेको ‘जे–१० सी’ नामक लडाकु विमान प्रयोग गरेको थियो ।

यो घटनाबारे बोल्दै पाकिस्तानका विदेशमन्त्री इशक दारले पाकिस्तानी संसदमा भने, ‘हाम्रा लडाकु विमानले तीन वटा भारतीय लडाकु विमान झारिदिएका छन् । झारिएका विमान फ्रान्समा बनेका राफेल विमान हुन् भने ती सबै विमान खसाल्न हामीले प्रयोग गरेको विमानचाहिँ जे–१० सी थियो ।’

1

दुई आणविक शक्ति सम्पन्न छिमेकीबिच युद्ध भड्किएको खबरले अत्तालिँदै ब्युँझेका चिनियाँ प्रतिनिधिहरू आफ्नो मुलुकमा बनेको विमानले शक्तिशाली मानिएको राफेल विमान खसालेको खबरले प्रफुल्ल थिए । विदेशमन्त्री दारका अनुसार ‘मित्रराष्ट्र हुनुको नाताले उनीहरूले खुसी व्यक्त गरेका थिए ।’

आफ्ना पाँच वटा लडाकु विमान खसालिएको भन्ने खबरबारे आधिकारिक रूपमा भारतले भने कुनै प्रतिक्रिया जनाएको छैन । तथापि राफेल विमान खसाल्न चिनियाँ लडाकु विमान प्रयोग भएको भन्ने कुरा रक्षा क्षेत्रमा एकाएक सनसनीको रूपमा प्रसारित हुन थाग्यो । लगत्तै उक्त चिनियाँ विमान निर्माता कम्पनी छेन्दु एयरक्राफ्ट कर्पोरेसनको सेयर मूल्य बढ्न थाल्यो । केही समयमै उक्त कम्पनीको सेयर २० प्रतिशतभन्दा धेरैले बढ्यो ।

हालसम्म चिनियाँ हतियारहरू राफेलजस्ता पश्चिमा आधुनिक प्रणालीसँग युद्ध मैदानमा परीक्षण भएका थिएनन् । भारतीय वायु सेनाले हाल ३६ वटा राफेल एफ–३–आर विमान प्रयोग गर्दै आएको छ । यी लडाकु विमान सबैभन्दा आधुनिक मानिन्छन् ।

5

उता राफेल निर्माता मुलुक फ्रान्सको इन्टेलिजेन्स स्रोतले भने अमेरिकी सञ्चार माध्यम सीएनएनसँग कुरा गर्दै भारत–पाकिस्तान द्वन्द्वका क्रममा कम्तीमा एउटा राफेल विमान ध्वस्त भएको स्वीकार गरेको छ । यसरी युद्धभूमिमा राफेल विमान खसालिएको यो नै आजसम्मको पहिलो घटना हो ।

यससँगै सन् २००३ देखि प्रयोगमा आएको राफेल विमान खसालिएको पक्का भयो । यो विमानलाई ‘फोर प्वाइन्ट फाइभ जेनेरेसन’ (४.५ जेनेरेसन) लडाकु विमान मानिन्छ । 

चीनको विदेश मन्त्रालयले भने आफ्नो आधिकारिक वक्तव्यमा ‘यो मामलाबारे जानकारी नभएको’ बताएको छ ।

घटनाको भोलिपल्ट अर्थात् बिहीबार साँझ समाचार संस्था रोयटर्ससँग कुरा गर्दै अमेरिकी अधिकारीहरूले उक्त घटनाबारे आफ्नो बुझाइ सुनाए । उनीहरूका लागि चिनियाँ लडाकु विमान ‘जे–१० सी’ मार्फत आकाशबाट आकाशमै मार हान्ने (एयर–टु–एयर) क्षेप्यास्त्रले राफेल विमान झारेको कुरा लगभग अविश्वासिलो खबर भए पनि उनीहरूसँग त्यो सूचना पत्याउनु बाहेक विकल्प थिएन ।

यससँगै सन् २००३ देखि प्रयोगमा आएको राफेल विमान खसालिएको पक्का भयो । यो विमानलाई ‘फोर प्वाइन्ट फाइभ जेनेरेसन’ (४.५ जेनेरेसन) लडाकु विमान मानिन्छ । जुन बेलायतको युरोफाइटर टाइफुन तथा पाँचौँ पुस्ताको अमेरिकी लडाकु विमान एफ–३५ जस्तै मान्ने गरिन्छ ।

यस घटनाबारे चीनको सरकारी अखबार ग्लोबल टाइम्सका पूर्व–सम्पादक हु सीजिन भन्छन्, ‘युद्धले चीनको सैन्य उत्पादनले रुसी तथा फ्रान्सेली उत्पादनलाई जितिसकेको देखाएको छ । साथै उनले ताइवानलाई इङ्गित गर्दै ‘ऊ झनै डराएको’ समेत बताए ।

PL-15

चिनियाँ र पश्चिमा प्रणालीबिच चलिरहेको प्राविधिक प्रतिस्पर्धाबारे रक्षा विशेषज्ञहरू भने सावधानीपूर्वक हेरिरहेका छन् । उनीहरू राफेल विमान खस्नुमा चालकको त्रुटि, विमान सञ्चालनको फरक तरिकाजस्ता कुरा पनि कारक हुन सक्नेतर्फ पनि मिहिन ढंगले हेरिरहेका छन् ।

तर, विभिन्न सार्वजनिक इन्टेलिजेन्स विश्लेषकहरू भने भारतीय टेलिभिजन तथा सामाजिक सञ्जालमा छरपष्ट भइरहेका चिनियाँ क्षेप्यास्त्र पी एल–१५ का टुक्राहरू देखाइरहेका छन् ।

जे–१० सी लडाकु विमानले बोक्ने यो क्षेप्यास्त्र यसअघि कहिल्यै पनि युद्धमा प्रयोग भएको थिएन । तर, बुधबार बिहान भएको झडपको स्वरुपसँग दाँजेर हेर्दा पाइलटहरूको दृश्यको दायरा भन्दा धेरै परसम्मका लक्ष्यमा प्रहार गर्ने यसको क्षमता मेल खाएको देखिन्छ ।

भारत र पाकिस्तान दुवै तर्फका सेनाले एक–अर्को मुलुकको सीमा पार गरेर आक्रमणमा संलग्न भएनन् । उनीहरू सामान्यतयाः करिब एक सय किलिमोटर वा त्योभन्दा धेरैको दुरीमा रहेर आपसमा आक्रमणरत रहे । यसले गर्दा युद्धमा उनीहरू तर्फबाट हुनसक्ने क्षति पनि आफ्नै मुलुकमा हुने अवस्था बन्यो ।

2

विभिन्न स्रोतका अनुसार राफेल विमानको भग्नावशेष पनि भारतकै सहर बठिन्डा नजिकै भेटिएको थियो । चीनले विकास गरेको अत्याधुनिक ‘पी–एल १५’ क्षेप्यास्त्रले अमेरिकालाई भने निन्द्रा उड्नेगरी झस्काइदिएको छ । साथै अमेरिकामा यो हतियारलाई परास्त गर्ने हतियार उत्पादन गर्नुपर्ने दबाबसमेत बढ्न गएको छ ।

चीनले पाकिस्तानी सैन्य बललाई बेचेको यो क्षेप्यास्त्र ‘पीएल–१५ ई’ संस्करण हो । यसले करिब १४५ किलोमिटरसम्म मार हान्न सक्छ । यो पाकिस्तानमा रहेका अन्य घरेलु हतियारको तुलनामा ठुलो मारक क्षमता भएको हतियार मानिन्छ ।

सेन्टर फर युरोपियन पोलिसी एनालाइसिसका अनुसन्धानकर्ता फेबियन हफम्यानका अनुसार चिनियाँ सैन्य मामिला अवलोकनकर्ताहरू यो क्षेप्यास्त्रलाई धेरै अघिदेखि नै ‘असाध्यै प्रभावकारी क्षेप्यास्त्र’ मान्ने गर्थे । तर, त्यतिबेलासम्म त्यसको वास्तविक युद्धमा परीक्षण हुन पाएको थिएन । उनका अनुसार, ‘त्यो मिसाइल अहिले आएर बल्ल चिनियाँ सैन्य प्रविधिको तागतका रूपमा सार्वजनिक भएको छ ।’

उनी थप्छन्, ‘यसले अर्को महत्त्वपूर्ण कुरा पनि सङ्केत गरिरहेको छ । भविष्यमा ताइवानमा द्वन्द्व हुने अवस्था आयो भने युक्रेन युद्धमा रुसका हतियारले प्रभावकारी काम नगरेजस्तै चीनका हतियारले पनि काम गर्दैनन् भनेर सोच्नु मुर्खता हुनेछ ।’

क्षेप्यास्त्रले त्यसरी आफ्नै राडारमा स्विच गरेपछि त्यसलाई प्रहार गर्न प्रयोग भएको विमान फर्कन सक्छ, जसले गर्दा त्यसलाई शत्रुले गर्न सक्ने प्रहारबाट जोगिन सम्भव हुन्छ ।

अप्रिल २९ तारिखमा भारतसँगको सीमापार तनाव सुरु भइसकेको अवस्थामा पाकिस्तानी सेनाले आफ्ना हतियारहरू देखाउँदै एउटा युट्युब भिडियो प्रसारण गरेको थियो । उक्त भिडियोमा चीनमा बनेको जे–१० सी भन्दा केही न्यून मारक क्षमताका चीनमै बनेका अन्य लडाकु जहाज ‘जे एफ–१७ ब्लक–३’ लाई ‘पीएल–१५’ क्षेप्यास्त्र जडित अवस्थामा देखाइएको थियो । जसको भिडियो क्याप्सनमा ‘दमदार मुक्का’ भन्ने लेखिएको थियो ।

पाकिस्तानी वायु सेनाका पाइलटहरूका लागि ‘पीएल–१५’ क्षेप्यास्त्रका धेरै फाइदा छन् । एक पटक प्रहार गरेपछि यसको ठुलो रकेट बुष्टरले यसलाई धकेलेर ध्वनीको गतिभन्दा पाँच गुणाभन्दा धेरै गतिमा उडेर लक्ष्यलाई निसाना बनाउने गर्छ । अर्थात् यो हाइपरसोनिक गतिमा उड्ने गर्छ ।

प्रहार भइसकेपछि उडानका क्रममा यो क्षेप्यास्त्रलाई ‘एईएसए’ राडारद्वारा निर्देशित गर्ने गरिन्छ । त्यस्तो राडार या त लन्चरमा वा अन्य जहाज वा सवारी साधनमा पनि राख्न सकिन्छ । लक्ष्यको नजिक पुग्दासम्म यसले आफ्नै राडार सक्रिय पारिसकेको हुन्छ । अन्तिम निसाना तय भएपछि त्यसलाई आफैँ लक गर्छ र व्यापक अचुकताका साथ प्रहार गर्छ ।

यसले दोहोरो–पल्स मोटर प्रयोग गर्छ, जसले गर्दा यसलाई लक्ष्यभन्दा लगभग १० किलोमिटर नजिक पुगेपछि दोस्रो स्तरको गति वृद्धि गर्न मिल्ने बनाइएको छ । हफम्यानका अनुसार, ‘यो क्षेप्यास्त्र यति छिटो उड्छ कि यसबाट उम्किन असम्भवप्रायः छ ।’

क्षेप्यास्त्रले त्यसरी आफ्नै राडारमा स्विच गरेपछि त्यसलाई प्रहार गर्न प्रयोग भएको विमान फर्कन सक्छ, जसले गर्दा त्यसलाई शत्रुले गर्न सक्ने प्रहारबाट जोगिन सम्भव हुन्छ । ‘यसले जेटलाई सुरक्षित राख्न मद्दत गर्नेमात्रै नभएर क्षेप्यास्त्रलाई अझ घातक समेत बनाउँछ,’ हफम्यान थप्छन् ।

4

भारत र पाकिस्तान आपसमा जुध्न सुरु गर्दा त्यहाँ उनीहरू मात्रै हुँदैनन् । उनीहरूलाई हतियार आपूर्ति गराउने शक्तिहरू पनि अनौपचारिक रूपमा आइपुग्छन । दुई मुलुकको हतियार आपूर्तीको स्रोतमा ठुलो विविधता छ । हतियार व्यापारको अवस्थाबारे अध्ययन गर्ने स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्था (सिप्री) का अनुसार पछिल्ला वर्ष पाकिस्तानले आफ्ना धेरैजसो हतियार चीनबाट किन्दैछ ।

सन् २०१९ देखि २०२३ मै झण्डै ८२ प्रतिशत हतियार उसले आफ्नो नजिकको सहयोगी चीनबाट किनेको छ । अहिले पाकिस्तानले अमेरिकाबाट हतियार आयात लगभग बन्द गरेजस्तै अवस्था छ । यति नै बेला भारतले भने रुससँगको आफ्नो हतियार निर्भरता घटाउँदै पश्चिमा गठबन्धनबाट हुने आयात बढाउँदैछ ।

सन् २००६ देखि फ्रान्स, इजरायल तथा अमेरिका भारतका नयाँ हतियार खरिदको केन्द्र बन्दैछ । सिप्रीकै अनुसार रुसबाट हुने हतियार आयात ७२ प्रतिशतबाट घटेर ३६ प्रतिशतमा आइपुगेको छ ।

लन्डनमा रहेर काम गर्दै गरेको थिङ्क ट्याङ्क संस्था रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका वाल्टर लड्विगका अनुसार पाकिस्तानीहरूको ठुलो फाइदा भनेकै उसको प्रमुख हतियार आयातको स्रोत चीन हुन पुग्यो । उनी थप्छन्, ‘भारतको रक्षा बजेट कागजमा हेर्दा धेरै देखिन्छ तर सैन्य हात–हतियार आधुनिकीकरणमा भने उसको बजेट असाध्यै न्यून छ ।’

तर, बेइजिङले भने आधुनिक हतियार बनाउनेमात्रै नभएर आवश्यकताको आधारमा बिक्रीसमेत गर्ने गरेको छ । उसले पाकिस्तानलाई ठुलो मात्रामा सैन्य सामग्री उपलब्ध गराएको छ । साथै जेएफ–१७ ब्लस–३ जस्ता लडाकु जहाज तथा क्षेप्यास्त्र प्रणाली निर्माणमा पाकिस्तानसँग सहकार्य समेत गरिरहेको छ ।

विविध कारणवश भारतका मुख्य निर्यातकर्ता रुस र फ्रान्सले भने समयमै मागे जति सैन्य सामाग्री उपलब्ध गराएका छैनन् । लड्विगका अनुसार भारतको वायुसेना अहिले पनि उही पुरानै मिग विमान चलाइरहेको छ ।

अहिलेको भारत पाकिस्तान द्वन्द्वमा चीनको विदेश मन्त्रालयले दुवै पक्षलाई संयमता अपनाउन र पूर्णस्तरको युद्धतर्फ जानबाट रोकिन आग्रह गरे पनि बेइजिङमा केही मानिस भने पक्कै पनि आफ्ना हतियारको थप परीक्षण होस् भन्ने चाहन्छन् ।

(द टेलिग्राफबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मेम्फिस बार्कर
मेम्फिस बार्कर
लेखकबाट थप