शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पाको बतासेडाँडा फिल्म छायाँकन स्थल निर्माणका लागि सिफरिस

बिहीबार, १९ चैत २०७७, १२ : ३१
बिहीबार, १९ चैत २०७७

काठमाडौंँ । लुम्बिनी प्रदेशमा चलचित्र छायाँकनस्थल निर्माणको सम्भाव्यता अध्ययन समितिले लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी र सचिव रविलाल पन्थलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ । सम्भाव्यता अध्ययन समितिका सदस्यहरू मनोज श्रेष्ठ, केएल पीडित र चलचित्र विकास बोर्डका प्रशासन अधिकृत दिनेश बाँनिया र चलचित्रकर्मी अमित विश्वास सम्मिलित टोलीले उक्त प्रतिवेदन कार्यलयमा पुगेर बुझाएको हो ।

प्रतिवेदनमा पाल्पा जिल्लाको तानसेन नगरपालिकाको साविक ७ मा रहेको बतासेडाँडा क्षेत्रको करिव ११ सय ३९ रोपनी क्षेत्रलाई चलचित्र छायाँकनस्थल निर्माणका लागि सिफारिस गरिएको छ ।

लुम्बिनी प्रदेशको मध्यभागमा पर्ने, मौलिक कलासंस्कृति भएको, धार्मिक एवं ऐतिहासिक स्थलहरु भएको, सबै भाषाभाषी र जनजातिको बसोबास रहेको,स्वच्छ एवं मनोरम स्थल चलचित्र छायाँकन स्थलका लागि उपयुक्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री केसीले बतासेडाँडामा चलचित्र छायाँकनस्थल निर्माण कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिने प्रतिवेदन हस्तान्तर टोलीमा सहभागी चलचित्रकर्मी केएल पीडितले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०७७÷७८ मा नेपाल सरकारले प्रत्येक प्रदेशमा चलचित्र छायांकनस्थल निर्माण गर्ने कार्यक्रम राखी बजेट विनियोजन गरेको थियो । सोही कार्यक्रम अन्तर्गत चलचित्र विकास बोर्डले उपयुक्त छायांकनस्थलको बारेमा अध्ययन अवलोकन गरी प्रतिवेदन तयार गर्न श्रावण २२ गते सातवटै प्रदेशका लागि अलगअलगरुपमा  चलचित्र छायाँकनस्थलको निर्माणको संभाव्यता अध्ययन समिति गठन गरेको थियो ।

   चलचित्र विकास बोर्डले सम्भाव्यता अध्ययन समितिलाई संभाव्यस्थलको पहिचान र अध्ययन गर्दा सम्बन्धित प्रदेशको मौलिक पहिचान झल्कने, बहुउद्देश्यीय प्रयोगमा आउन सक्ने संरचना निर्माण गर्न सकिने,चलचित्र छायाँकनका लागि अन्तर्राष्ट्रिय आकर्षणस्थलका रुपमा विकास गर्न सकिने, कम्तीमा ४ रोपनी क्षेत्रफलको जग्गासहितको उपयुक्त स्थान पहिचान गरी सिफारिस गर्न कार्यक्षेत्र तोकिएको थियो ।

चलचित्र विकास बोर्डका सदस्य सचिव एवं सम्भाव्यता अध्ययन समितिका संयोजक महेन्द्रप्रसाद साँखी, सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव संगीता ओझा, सबै अध्ययन समितिका समन्वय एवं संयोजनकर्ता नवल खड्का, चलचित्रकर्मी हरु धिरेन शाक्य, मनोज श्रेष्ठ, केएल पीडित, अमित विश्वास, चलचित्र विकास बोर्डका प्रशासन अधिकृत दिनेश बानियाँको टोलीले चलचित्र छायांकन सम्भाव्यता अध्ययनका लागि लुम्बिनी प्रदेशका बिभिन्न स्थानहरुको अध्ययनअवलोकन र सरोकारवाला निकाय एवं  व्यक्तिहरुसँग अन्तरक्रिया तथा परामर्श गरी प्रतिवेदन तयार गरिएको नवल खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप