शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को तराईका जिल्लामा लागुऔषध कारोबारीको जालो फैलिँदै, जोखिममा युवा

निषेधाज्ञामा पनि रोकिएन लागुऔषध कारोबार
सोमबार, १७ जेठ २०७८, १४ : १८
सोमबार, १७ जेठ २०७८

झापाको बुद्धशान्ति गाउँपालिका–३, धाइजन चोकबाट ३१ वर्षीय विमल बस्नेत र २९ वर्षीय विशाल बस्नेत शनिबार बेलुका लागुऔषध ब्राउन सुगरसहित पक्राउ परे । उनीहरुको साथबाट प्रहरीले २ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद ग-यो ।

यस्तै जेठ ९ गते झापाकै मेचीनगर नगरपालिका–६ बद्री टोलबाट २६ वर्षीय सुमन दनुवार र दमक–५ की २१ वर्षीय समिता राई पनि ब्राउन सुगरसहित पक्राउ परे । उनीहरुको साथबाट ५ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

जेठ ४ गते झापाकै झापा गाउँपालिका–२ बाट ब्राउनसुगरसहित सोही स्थानका २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा–१ का १९ वर्षीय प्रताप लिम्बु पक्राउ गरे । प्रहरीका अनुसार उनीहरुको साथबाट ५३० मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु २ थान र नगद ५९ हजार रुपैयाँसमेत बरामद भएको थियो ।

यी त पछिल्ला केही प्रतिनिधिमुलक उदाहरण हुन् । प्रदेश १ का तराईका जिल्लामा लागुऔषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेको घटना बढ्दो छ । एक महिना यता कोराना महामारीका कारण प्रदेशभर निषेधाज्ञा जारी छ । तर पनि यो बीचमा पनि लागुऔषधको कारोबारमा कमी आउन सकेको छैन ।

कारोबारीहरु दिनहुँजसो पक्राउ परिरहेका छन् । यद्यपि यो धन्दामा कमी आउन सकिरहेको छैन । लागुऔषध नियन्त्रण गर्न प्रहरीलाई चुनौती बढ्दो छ ।

प्रदेश १ प्रहरी कार्यालयका अनुसार निषेधाज्ञाको समयमा प्रदेशका तराईका जिल्लाबाट ब्राउन सुगरको कारोबारमा संलग्न १८ जनालाई पक्राउ गरिएको छ । उनीहरुबाट ८९ ग्राम १९२ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेकामध्ये धेरैजसोलाई झापाबाट र केहीलाई मोरङ र सुनसरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रदेश १ का मुख्यतया यिनै तीन जिल्लाका सहरबजारबाट दिनहुँजसो लागुऔधषसहित मानिस पक्राउ पर्ने गरेका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले निषेधाज्ञाको अवधिमा पनि लागूऔषधको कारोबार चलिरहेका कारण पक्राउ पर्ने क्रम पनि नरोकिएको बताए ।

विशेष गरी झापाका सीमावर्ती गाउँमा धरान, इटहरी, विराटनगर, दमक लगायतका स्थानबाट कारोबारी एवं प्रयोगकर्ता पुग्ने गरेको प्रहरीको भनाइ छ । ‘पछिल्लो समय लागू औषध ब्राउन सुगर नियन्त्रण र रोकथामका लागि प्रहरीको ठुलो जनशक्ति परिचालित छ,’ प्रहरी उपरीक्षक श्रेष्ठ भन्छन्, ‘तर पनि सोचेअनुरुप सफलता हात पर्न सकेको छैन ।’

ब्राउन सुगरको कारोबार जस्तोसुकै अवस्थामा पनि नरोकिनु, उल्टै यसको कारोबारमा बढोत्तरी भएको देखिनुले लागू औषध नियन्त्रण र रोकथामका लागि थप रणनीतिक योजना बनाएर अगाडि बढ्नुपर्ने देखिएको उनले बताए । उनका अनुसार पछिल्ला समय पहाडी जिल्लामा पनि यसको सञ्जाल विस्तार हुँदै गएको छ ।

ब्राउन सुगर चल्तीको ‘आइटम’

निषेधाज्ञाको अवधिमा होस् या सामान्य अवस्थामा पूर्वको सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ लागूऔषध भित्र्याउन सक्रिय गिरोहले पछिल्लो समय ‘ब्राउन सुगरलाई’ प्राथमिकता दिएको देखिन्छ ।

प्रदेश १ सँग जोडिएका भारतीय बजारमा नेपालमा प्रतिबन्धित लागुऔषध सजिलै पाइने गरेको प्रहरीको भनाइ छ । निषेधाज्ञाको अवधिभन्दा अघिकै तथ्यांकलाई केलाउने हो भने प्रदेश १ मा पक्राउ परेका लागुऔषध कारवाहीमा मध्य तथा पश्चिम नेपालका समेत छन् । यसले पनि पूर्वी नेपाल र त्यससँग जोडिएको भारतीय बजार लागुपदार्थ कारोबारीका लागि आकर्षक थलोका रुपमा विकसित हुँदै गएको बुझ्न सकिन्छ । पूर्वी नेपालका नजिक रहेका भारतीय बजारमा  अहिले ‘ब्राउन सुगर’ नै चल्तीको ‘आइटम’ बनेको छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार नेपाली कारोबारीले तिनै भारतीय बजारलाई आफ्नो कारोबार सञ्चालनको सुरक्षित र भरपर्दो थलो बनाएका छन् । ती बजारहरुमा पूर्वका मात्रै नभई नेपालभरीका कारोबारीहरु सामान्य अवस्थामा पुग्ने गरेका छन् । तर अहिलेको अवस्थामा नजिकका स्थानबाट कारोबारीका स्थानीय वितरक र प्रयोगकर्ता प्रहरीको आँखा छलेर भारतीय बजार पुग्ने गरेका छन् ।

फोन मार्फत सम्पर्कपछि उनीहरु विभिन्न बहानामा प्रहरीलाई झुक्याएर सीमापारको बजारमा लागूऔषध ब्राउन सुगर लिन पुग्ने गरेका छन् । त्यहाँबाट ब्राउन सुगर भित्र्याएपछि स्थानीय प्रयोगकर्तालाई उनीहरुले वितरण गर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले अहिलेको अवस्थामा कारोबारीलाई सीमापार गर्न सहज नभए पनि उनीहरु प्रहरीको आँखा छल्ने र विभिन्न बहानामा झुक्याउने, विभिन्न पेशाको भेषमा समेत सीमापार गर्ने गरेको बताए ।

श्रेष्ठका अनुसार कतिपय अवस्थामा पत्रकारको भेषमा नक्कली कार्ड बनाएर सीमा क्षेत्रको रिपोर्टिङ गर्ने बहानामा पनि लागुऔषध सेवनकर्ता एवं कारोबारी सीमा क्षेत्रमा पुग्ने गरेको पाइन्छ ।

पूर्वी नेपाल ब्राउन सुगरको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

प्रहरीका अनुसार ओसारपसारमा काठमाडौं, पोखरा, धरानलगायतका शहरका युवा संलग्न रहेको पाइने गरेको छ । बजारमा सहज पहुँच र ओसारपसारमा सजिलोका लागि पूर्वी नाकातिर नै उनीहरुको रुचि बढेको हुन सक्ने प्रहरीको भनाइ छ ।

लागुऔषधका अधिकांश कारोबारीले अहिले ब्राउन सुगर रोज्न थालेको प्रहरीले जनाएको छ । इन्जेक्सन, ट्याब्लेट बोक्दा भारी हुने, छामछुम गर्दा बज्ने भएकाले पनि कारोबारीले ब्राउन सुगरलाई नै प्राथमिकता दिन थालेको प्रहरीको अनुमान छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार गत साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा झापा, सुनसरी, मोरङसहितका जिल्लाबाट ब्राउन सुगरको कारोबारमा संलग्न १० महिलासहित २८० जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ३ किलो २०४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ पर्नेमा अधिकांश कारोबारी एवं वितरक हुन् भने केही संख्यामा प्रयोगकर्तासमेत छन् । मुख्य कारोबारी भने पक्राउ पर्ने गरेका छैनन् । उनीहरु भारतमा बसेर कारोबार सञ्चालन गर्ने गरेकाले पनि प्रहरीको आँखामा नपरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरीका अनुसार ब्राउन सुगर उच्च गुणस्तरको र महँगो लागुऔषधमध्येमा पर्दछ । तस्करी गरी ब्राउनसुगर नेपाल ल्याइपु¥याउँदा सुनकोभन्दा महँगो मूल्यमा कारोबार हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।

प्रहरीका अनुसार ब्राउन सुगरलाई कारोबारीले स्थानीय बजारमा ‘डोज’ को हिसाबले बिक्री गर्दछन् । एक ग्राम ब्राउन सुगरबाट ४० डोज बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भारतबाट स्थानीय बजारमा यसलाई भित्र्याएपछि प्रतिडोज ३ हजारदेखि ५ हजार रूपैयाँसम्ममा बिक्री हुने गरेको बताइन्छ । गिरोहले भारतमा प्रतिग्राम ४ देखि पाँच हजार रुपैयाँसम्म ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

थाइल्याण्ड, म्यानमारबाट भारत हुँदै यो लागुऔषध नेपाल भित्रिने गरेको प्रहरीको भनाइ छ । विषेशगरी काँकडभिट्टा नाकाबाट ब्राउनसुगर भित्रिने गरेको बताइन्छ ।

कारोबारीले पूर्वी नेपाललाई ब्राउनसुगरको ‘ट्रान्जिट प्वाइन्ट’ का रुपमा प्रयोग गर्दै देशका विभिन्न भागमा यसको सप्लाइ गर्ने गरेको प्रहरी बताउँछन् ।

दुई वर्षमा प्रदेश १ मा ७ केजी ६ सय ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । ब्राउन सुगरको कारोबार बढेसँगै यसको नियन्त्रण र रोकथामका लागि लागूऔषध ब्यूरोको टोली छुट्टै परिचालन हुने गरेको छ । उक्त टोलीले नाका क्षेत्रमा निगरानी गर्ने र कारोबारीलाई नियन्त्रणमा लिन भूमिका निर्वाह गर्दै आएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोली परिचालन भएसँगै दिनहुँजसो ब्राउन सुगर कारोबारी पक्राउ पर्ने क्रम पनि बढेको छ ।

प्रहरीका अनुसार लागुऔषधको कारोबार र प्रयोगकर्तामा बढीजसो १८ देखि ३० वर्ष उमेर समूहका युवा छन् । ब्राउन सुगरको कुलतमा पनि युवा उमेरकै मानिसको बढी संलग्ता देखिन्छ ।

त्यसैगरी कारोबारीमा संलग्न पनि धेरैजसो युवा नै छन् । मुख्य कारोबारी भने भारतमा बसेर स्थानीय एजेण्टमार्फत लागुऔषधको व्यापार गर्ने भएकाले उनीहरु अहिलेसम्म पक्राउ पर्न नसकेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप