शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि युरोप कप : जान्नुपर्ने यी तथ्य

को हुन् दाबेदार ?
शुक्रबार, २८ जेठ २०७८, १० : २६
शुक्रबार, २८ जेठ २०७८


कोरोना भाइरस महामारीका कारण गत वर्ष स्थगित भएको युरो २०२० फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । प्रतियोगिताको सुरुवाती खेलमा पूर्व विजेता रहिसकेको इटलीले रोम सहरमा टर्कीको सामना गर्नेछ ।

प्रतियोगिताको सुरुवाती खेलमा दर्शकदिर्घामा १६ हजार जना उपस्थित हुनेछन् । यो सङ्ख्या स्टेडियो ओलम्पिकोको एक चौथाइ हो ।

हङ्गेरी, फ्रान्स र जर्मनी सम्मिलित ग्रुप अफ डेथमा परेको पोर्चुगल यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । २०१६ मा फ्रान्सलाई १–० ले हराएर उसले उपाधि जितेको थियो ।

कुन मिति महत्त्वपूर्ण छन् ?

प्रतियोगिताको सुरुवात शुक्रबार ११ जुनमा हुनेछ । नकआउट चरणका खेलहरू २६ जुनदेखि सुरु हुनेछन् । र, ११ जुलाईमा लन्डनको वेम्बली रङ्गशालामा फाइनल खेल हुनेछ ।

कहाँ–कहाँ प्रतियोगिता आयोजना हुँदैछ ?

यस पटक ११ वटा देशका ११ सहरमा प्रतियोगिताका खेलहरू आयोजना हुनेछन् । यति धेरै देश एकै संस्करणमा आयोजक बनेको यो इतिहासमै पहिलो पटक हो । प्रतियोगिताका खेलहरू लन्डन, सेन्ट पिटर्सवर्ग, बाकु, म्युनिख, रोम, एम्स्टरड्याम, बुचारेस्ट, बुडापेस्ट, कोपेनहेगन, ग्लासगो र सेभियामा आयोजना हुनेछन् ।

कुन–कुन टोली सहभागी छन् ?

प्रतियोगितामा २४ वटा टोली सहभागी छन् । उनीहरूलाई ६ वटा समूहमा बाँडिएको छ । प्रतियोगितामा कुल ५१ खेल हुनेछन् ।

समूह ए : टर्की, इटली, वेल्स, स्विजरल्यान्ड 

समूह बी : डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रुस

समूह सी : नेदरल्यान्डस्, युक्रेन, अस्ट्रिया, उत्तरी मेसिडोनिया

समूह डी : इङ्ल्यान्ड, क्रोयसिया, स्कटल्यान्ड, चेक गणतन्त्र

समूह ई : स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया

समूह एफ : हङ्गेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

प्रतियोगिताको फरम्याट कस्तो छ ?

हरेक समूहबाट दुई टिम दोस्रो चरणमा सोझै छनोट हुनेछन् । समूहमा तेस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट चार टिम अन्तिम १६ मा जानेछन् । त्यसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछन् ।

के फ्यानहरू रङ्गशाला छिर्न पाउँछन् ?

हो, सबै ११ भेन्युलाई दर्शक राख्ने अनुमति दिइएको छ । यूईएफएका अनुसार सेन्ट पिटर्सवर्ग र बाकु सहरका रङ्गशालामा कुल क्षमताको ५० प्रतिशतसम्म दर्शक राख्न पाइनेछ । बुडापेस्टले रङ्गशाला भरिनेगरी दर्शक राख्ने लक्ष्य राखेको छ । एम्स्टरड्याम, बुचारेस्ट, कोपेनहेगन, ग्लासगो, रोम र सेभियाले २५ देखि ४५ प्रतिशतसम्म दर्शकहरू राख्दैछन् । लन्डनले कम्तीमा २५ प्रतिशत तथा म्युनिखले झन्डै २२ प्रतिशत दर्शक राख्ने लक्ष्य राखेको छ ।

कुन सहर आयोजनाबाट विमुख भए ?

रङ्गशालामा कति दर्शक छिराउने भनेर ग्यारेन्टी दिन अस्वीकार गरेपछि डुब्लिन र बिल्बाओ आयोजनाबाट विमुख भए । बिल्बाओको साटो सेभियाले खेल आयोजना गर्ने भयो । यता डुब्लिनका लागि तय भएका खेलहरू लन्डन र सेन्ट पिटर्सवर्गमा सर्यो ।

यूईएफएको प्रतिक्रिया के छ ?

महामारीका कारण प्रतियोगिताको आयोजना ढिलो भए पनि यूईएफएका अध्यक्ष अलेक्स्यान्द्रर सेफेरिन सुरक्षा अवस्थालाई लिएर आशावादी देखिएका छन् । ‘परिस्थितिसँग युरोप भिज्दैछ भनेर विश्वलाई देखाउने यो उत्कृष्ट अवसर हो । युरोप जीवित छ र जीवनको खुसी मनाउँदैछ, युरोप फर्किएको छ,’ उनले भने ।

कति खेलाडीमा कोरोना देखियो  ?

आइतबार स्पेनका कप्तान सर्जियो बुस्क्वेट कोरोना सङ्क्रमणको चपेटामा परे । त्यसपछि उनले अभ्यास छाडे । नेदरल्यान्डसका गोलकिपर जस्पर सिलिस्सने पनि कोरोनाकै कारण प्रतियोगिता गुमाइसकेका छन् । भाइरसका कारण प्रभावित हुनसक्ने देखेरै यूईएफएले सहभागी राष्ट्रहरूको खेलाडी सूची २३ बाट २६ मा बढाउन अनुमति दिएको छ ।

कुन टोलीले कहिले–कहिले जितेका छन् युरोप ?

जर्मनी र स्पेनले अहिलेसम्म सर्वाधिक तीन–तीन पटक युरोकप जितेका छन् । त्यस्तै फ्रान्सले दुई पटक उपाधि जितेको छ । सोभियत युनियन, इटली, चेकोस्लोभाकिया, नेदरल्यान्डस्, डेनमार्क, ग्रिस र पोर्चुगलले एक–एकपटक उपाधि जितेका छन् ।

को–को हुन् दाबेदार ?

बेट ३६५ डटकमले गरेको सर्वेक्षणअनुसार प्रत्येक पाँचजनामध्ये एक जनालाई इङ्ल्यान्डले उपाधि जित्छ भन्ने लागेको छ । यो टोली विश्वकप २०१८ को सेमिफाइनलमा पुगेको थियो । फाइनल खेल वेम्बलीमा हुने भएकाले पनि इङल्यान्ड यसपटक उत्साहित छ ।

विश्वविजेता फ्रान्सले उपाधि जित्ने सम्भावना पनि प्रत्येक ५ जनामध्ये एकजनाले व्यक्त गरेका छन् । यसअघि फ्रान्सले १९९८ मा विश्वकप र २००० मा युरोकप जितेको थियो । यस पटक विजेता बनेमा फेरि त्यही इतिहास दोहोरिनेछ । दुई पटक उपाधि जितिसकेको फ्रान्सले यस पटक उपाधि जित्न सकेमा सर्वाधिक उपाधि जित्ने जर्मनी र स्पेनको कीर्तिमान बराबरी गर्नेछ ।

बेल्जियमले उपाधि जित्ने सम्भावना ६ मध्ये एकले व्यक्त गरेका छन् । १९८० को युरोकप फाइनलमा पुगेको बेल्जिमले दुई वर्षअघि विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । त्यहीकारण बेल्जियमको लक्ष्य ठूलो उपाधि जितेर इतिहास रच्ने छ । केभिड डी ब्रुयाने, इडेन हाजार्ड र रोमेलु लुकाकुसहितको बेल्जियमको स्वर्णिम पुस्ताका लागि सायद यो उपाधि जित्ने अन्तिम अवसर हुनसक्छ ।

स्पेनले उपाधि जित्ने सम्भाना ७ मध्ये १ र जर्मनीले उपाधि जित्ने सम्भावना पनि ७ मध्ये एकले व्यक्त गरेका छन् । यी दुवै देशले अहिलेसम्म तीन पटक उपाधि जितेका छन् । डिफेन्डिङ च्याम्पियन पोर्चुगलले उपाधि जित्ने सम्भावना ८ मध्ये एकजनाले व्यक्त गरेका छन् । अहिलेसम्म स्पेनबाहेक कुनै पनि टोलीले युरोकपको उपाधि लगातार दुई पटक जितेको रेकर्ड छैन । स्पेनले २००८ र २०१२ मा उपाधि जितेको थियो ।

पूर्वविजेता इटलीले उपाधि जित्ने सम्भावना ९ मध्ये एकले मात्रै व्यक्त गरेका छन् । यता गत संस्करणको युरोकप तथा विश्वकपमा छनोट हुन नसकेको नेदरल्यान्डस् नयाँ पुस्ताका खेलाडीहरूसहित फेरि युरोकपमा फर्किएको छ । नेदरल्यान्डस्ले उपाधि जित्ने सम्भावना १२ मध्ये १ जनाले व्यक्त गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप