बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा ७ सय बढी घरधुरी भूमिहीन

सोमबार, ०७ असार २०७८, १२ : २५
सोमबार, ०७ असार २०७८

गुल्मीमा ७ सयभन्दा बढी घरधुरी भूमिहीन रहेको तथ्य प्रकाशमा आएको छ । जिल्लामा १५ सयभन्दा बढी  घरधुरी अव्यवस्थित र असुरक्षित बस्तीमा छन् ।

भूमि सम्बन्धी समस्या समाधान आयोग गुल्मीले जिल्लाका १२  वटै गाउँपालिकाबाट संकलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लामा दलित समुदायका ३२९ घरधुरी भूमिहीन छन् । यस्तै, अन्य समुदायका ३८९  घरधुरी भूमिही पाइएको हो । जिल्लामा कुल ७१८ घरधुरी भूमिहीन सुकुम्वासी रहेको आयोगको जिल्ला कार्यालयले जनाएको छ ।

जिल्लाका एक हजार ५३९ घरधुरी अव्यवस्थित र असुरक्षित बस्तीमा बसोबास रहेको आयोगले जनाएको छ । गुल्मीस्थित आयोगकी विज्ञ सदस्य शान्ता पोखरेलका अनुसार कालीगण्डकी गाउँपालिका,  छत्रकोट  गाउँपालिका, गुल्मीदरबार र इस्मा गाउँपालिकामा दलित समुदायका एक परिवार पनि भूमिहीन सुकुम्बासी छैनन् ।

सबैभन्दा बढी भूमिहीनको बसोबास मालिका गाउँपालिकामा पाइएको छ । सो गाउँपालिकामा दलित समुदाय ६० घरधुरी दलित र ५७  घरधुरी अन्यसहित १२७ घरधुरी भूमिहीन सुकुम्बासी पाइएको हो । सबैभन्दा बढी अव्यवस्थित र असुरक्षित बस्ती पनि मालिका गाउँपालिकामै पाइएको छ, जहाँ  ३५३ घरधुरी अव्यवस्थित र असुरक्षित बस्तीमा छन् ।

सत्यवती गाउँपालिकामा अन्य समुदायका भूमिहीन सुकुम्बासी १९,  दलित समुदायका ३० छन् । यस्तै, चन्द्रकोट गाउँपालिकामा अन्य समुदायका ३६  र दलित समुदायका २३  भूमिहीन छन् ।

गुल्मीदरवार गाउँपालिकामा अन्य समुदायका २९ घरधुरी भूमिहीन छन् जहाँ एकजना पनि दलित भूमिहीन छैनन् ।

इस्मा गाउँपालिकामा अन्य समुदायका ४६ घरधुरी भूमिहीनको सूचिमा छन् भने त्यहाँ एक घर पनि दलित समुदायका भूमिहीन सुकुम्बासी देखिएका छैनन् ।

मुसिकोट नगरपालिकामा २७ अन्य समुदायका र दलित ९० सहित ११७ घरधुरी भूमिहीन सुकुम्बासी छन् ।

कालीगण्डकी गाउँपालिकामा अन्य समुदायका ८ घरधुरी भूमिहीन छन् भने  दलित समुदाय एक परिवार पनि भूमिहीन देखिएका छैनन् ।

धुर्कोट गाउँपालिकामा ६४ अन्य समुदायका भूमिहीन सुकुम्बासी छन् भने दलित समुदायको उल्लेख छैन ।

छत्रकोट गाउँपालिकामा दलित बाहेक २७ घरधुरी भूमिहीनको सूचीमा छन् ।

रेसुङ्गा नगरपालिकामा ४३ घरधुरी अन्य समुदायका र ४३ दलित समुदायका सहित ८६ घरधुरी भूमिहीन सुकुम्बासी छन् ।

मालिका गाउँपालिकामा अन्य समुदायका ५७ र दलित समुदायका ६० सहित ११७ घरधुरी भूमिहीन छन् ।

मदाने गाउँपालिकामा अन्य समुदायका २९ र दलित समुदायका ७३ सहित १०६ घरधुरी भूमिहीन छन् ।

रुरुक्षेत्र गाउँपालिकामा ४ घरधुरी अन्य र १० घरधुरी दलित  समुदायका सहित १४ घरधुरी भूमिहीन रहेको आयोगको तथ्यांकमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप