शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

थाहा नगरपालिकाद्वारा ९५ करोड ६४ लाखको बजेट प्रस्तुत (पूर्णपाठ)

बिहीबार, १० असार २०७८, १७ : ०१
बिहीबार, १० असार २०७८

मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ९५ करोड ६४ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ ।

बिहिबार बसेको नगरपालिकाको ९ औं नगरसभामा उपमेयर खडेगबहादुर गोपालीले आगामी आर्थिक वर्षको लागि अन्तरिक स्रोततर्फ ११ करोड ८८ लाख ४५ हजार रुपैयाँ, राजश्व बाँडफाँड १६ करोड ५३ लाख ४५ हजार रुपैयाँ, संघीय सरकारबाट अनुदान ५७ करोड ५५ लाख रुपैयाँ र प्रदेश सरकारबाट अनुदान ५ करोड ६७ लाख ३४ हजार रुपैयाँबाट उक्त बजेट विनियोजन जनाएका हुन् ।

जसमध्ये आगामी आर्थिक वर्षका चालु खर्चतर्फ ८ करोड ५७ लाख ४५ हजार रुपैयाँ र पुँजीगत तर्फ ४२ करोड ७५ लाख ८१ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ ३२ करोड ३१ लाख ६ हजार रुपैयाँ, सामाजिक सुरक्षातर्फ १२ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

थाहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासतर्फ साइकल मार्ग निर्माणको पहल गरिने, ‘शुद्ध पिउने पानी, हाम्रो जिन्दगानी’ भन्ने नाराको साथ नगरका सबै घरमा ‘एक घर, एक धारा’ कार्यक्रम संचालन गरिने नीति लिएको छ ।

आगामी आर्थिक वर्षमा नगरपालिकाले वडा नम्बर–४ को बसपार्क र नयाँ गाउँमा थाहा स्मारक निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

नगर क्षेत्रमा काठको विद्युत पोललाई विस्थापित गर्ने, विश्वकै तीन शंखमुल मध्येको पालुङमा रहेको शंखमूललाई धामको रुपमा विकास गर्ने, आगामि वर्षमा प्रदेश सरकारसँगको सहकार्यमा निर्माण भइरहेको शीत भण्डारको निर्माण कार्य सम्पन्न गर्ने, वडा नम्बर–३ मा रहेको इन्द्रायणी चौरलाई नगरस्तरीय खेलकुद मैदानको रुपमा विकास गर्ने कार्यक्रमहरु तय गरेको छ ।

संघीय सरकारबाट थानकोट–चित्लाङ सुरुङमार्ग निर्माण गर्नका लागि बजेटमा समावेश भएकाले उक्त सुरुङमार्ग तत्काल सुरुवातको लागि पहल गर्ने, नगर सडक चक्रपथ निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारसंग समन्वय गरी कार्यान्वयन गर्ने भएको छ ।

कृषि क्षेत्रलाई आधुनिकीकरण गरी व्यवसायिक एवम् अर्गानिक खेतीमा जोड दिइने र पकेट क्षेत्र घोषणा गरी कृषि अनुदानको व्यवस्था गर्ने कार्यक्रमहरु आगामी आर्थिक वर्षमा संचालन गर्ने उल्लेख गरिएको छ ।

नगर क्षेत्रमा रहेका बाँझो जग्गा उपयोगमा ल्याउन आवश्यक योजना अवलम्बन गर्ने, स्थानीय उत्पादन बिक्रिघर (कोशेली घर)लाई संचालनमा ल्याउने तथा कृषि हाट बजार संचालनको अध्ययन गरिने, ‘एक घर, एक फलफुल’ ’एक घर एक करेसाबारी नीति लिइने भएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा नगर क्षेत्रमा रहेका संचार माध्यमलाई स्थानीय सरकार लोक कल्याणकारी सन्देश उपलब्ध गराउने भएको छ ।

थाहा नगरले सामुदायिक विद्यालय सुधार कार्यक्रम संचालनलाई निरन्तरता दिने, विद्यालयका ल्याब तथा कम्प्युटर व्यवस्थापन गर्दै प्रविधिमैत्री विद्यालय संचालन, स्थानीय पहिचानसहितको थाहा तथा स्दानेसंग सम्बन्धीत पाठ्यक्रम आगामि आर्थिक वर्षमा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम लागू कार्यक्रम ल्याएको छ ।

आगामी आर्थिक वर्षमा थाहा नगरले नगर भित्र रहेका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रहरुको पूर्वाधार विकास गर्ने, कोभिड–१९ र नियमित दमका रोगीहरुलाई मध्येनजर गर्दै पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

नागरिकको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालको रुपमा संचालन भइरहेको र सो अस्पतालको स्तरोन्नतिमा थप पहल गर्ने, नगरका सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप सुनिश्चितताको लागि आवश्यक पहल गर्ने नीति लिएको छ ।

थाहा नगरपालिकाले स्वरोजगार बन्न चाहनेहरुका लागि मोटरसाइकल मर्मत, मोबाइल मर्मत, कम्प्युटर प्रशिक्षण लगायतको स्वरोजगार मुलक तालिम दिने व्यवस्थासमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप