शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनका अनुसन्धानकर्ताले नयाँ मानव प्रजाति ‘ड्र्यागन म्यान’ खोजेको दाबी, कति महत्वपूर्ण उपलब्धि ?

आइतबार, १३ असार २०७८, ११ : २५
आइतबार, १३ असार २०७८

चीनका अनुसन्धानकर्ताले एउटा यस्तो प्राचीन खप्परलाई संसारसामू पेश गरेको छ जुन पूर्ण रुपमा एक नयाँ प्रजातिको मानव हुनसक्ने दाबी गरिएको छ ।

यी अनुसन्धानकर्ताले यो हालसम्म पहिचान गरिएको हाम्रो सबैभन्दा नजिकको बंशज जस्तै नियेन्डरथल वा होमो इरेक्टसको तुलनामा पनि धेरै नजिक भएको दाबी गरेका छन् ।

मानिसको यो प्रजाति जसलाई ड्र्यागन म्यान भनिएको छ, आजभन्दा एक लाख ४६ हजार वर्ष अघि पूर्वी एशियामा बस्ने गर्दथे ।

यो खप्परको खोज नर्थ इस्ट चाइना अर्थात् उत्तर पूर्वी चीनको हार्बिनमा सन् १९३३ मा भएको थियो । तर वैज्ञानिकको ध्यान यसमा हालै परेको हो ।

बेलायतका एक् चर्चित मानव विकास क्रम विशेषज्ञ तथा लण्डनका नेचुरल हिस्ट्री म्युजियमका प्राध्यापक क्रिस स्ट्रिंगर अनुसन्धानकर्ताको यो समूहको हिस्सा थिए ।

उनले बीबीसीलाई दिएको जानकारीमा यो हालसम्म भेटिएको लाखौं वर्षको जीवाश्म अवशेषमा यो अहिलेसम्मको सबैभन्दा महत्वपूर्ण मान्न सकिने बताएका छन् ।

उनका अनुसार यो मानवको एउटा यस्तो श्रृङ्खला हो जसको विकास हाम्रो जस्तै होमो सेपियन्स नभएर एउटा यस्ते भिन्न प्रजातिमा भयो जुन सयौं हजार वर्षसम्म यो धर्तीमा रह्यो र त्यसपछि पूर्ण रुपमा लोप भयो ।

शोधकर्ताका अनुसार यो खोजबाट मानव विकास क्रमलाई नयाँ ढङ्गले बुझ्न सकिन्छ ।

उनको विश्लेषणका अनुसार यो प्रजाति नियेंडरथल मानवको तुलनामा हामीभन्दा निकै नजिक छ ।

अनुसन्धानकर्ताले यो मानव प्रजातिलाई एउटा नाम दिएको छ –होमो लोंगी । चिनियाँ भाषामा ‘लोंग’ ड्र्यागनलाई भनिन्छ ।

ड्र्यागन म्यान कस्ता देखिन्थे होलान् (आर्टिस्टले बनाएका अनुमानित तस्बिर) 

कस्तो देखिन्छ ‘ड्र्यागन म्यान’ ?

चाइनिज एकेडेमी अफ साइन्सका प्राध्यापक तथा अनुसन्धानकर्ताको समूहका सदस्य, शीजुन नीले यसलाई एउटा निकै ठूलो सफलता बताउँदै आफूहरुले आफ्नो सबैभन्दा नजिकको प्रजातिको पहिचान गरेको बताएको छ ।

उनले यसलाई निकै राम्रो तरिकाले संरक्षण गरेर राखेकोमा आश्चर्यसमेत व्यक्त गरे ।

उनका अनुसार यो खप्पर मनुष्यको सामान्य खोपडीभन्दा थोरै ठूलो छ र तर यसभित्रको मस्तिष्कको स्थान लगभग सामान्य टाउकोको बराबर छ ।

ड्र्यागन म्यानको आँखाको खाल्डो पनि सामान्यभन्दा थोरै ठूदो छ र आँखाका हिस्सा पनि लगभग चौकुना छ । आँखीभौंका हड्डी उठेका छन् र उनीहरुको चौडा अनुहार र ठूल्ठूला दाँत थिए होलान् ।

चीनका अनुसन्धानकर्ता प्राध्यापक कियांग जीका अनुसार यो खोपडी मानवको पुरातन र आधुनिक प्रकारको मिश्रण हो र यही कुरा यसले यसलाई हालसम्म भेटिएको अन्य मानव प्रजातिभन्दा भिन्न बनाउँछ ।

कहिले, कहाँ र कसले भेट्यो यो खप्पर ?

वैज्ञानिकका अनुसार ड्र्यागन म्यान शक्तिशाली र आक्रामक थिए होलान् । तर उनीहरुको जीवनको तौर तारिकाबारे धेरै थाहा हुन सकेको छैन किनभने यो जीवाश्मलाई उसको मूल स्थानबाट सन् १९३३ मा हटाइएको थियो ।

यो खप्परलाई सन् १९३३ मा एक मजदुरले भेटेका थिए , उनी हेलोंगजियांग प्रान्तमा सोंगुआ नदीमा पूल बनाइरहेका थिए ।

इतिहासकारका अनुसार त्यतिबेला यो शहर जापानी कब्जामा थियो ।

यसको सांस्कृतिक महत्वको अनुमान लगाउँदै ती चिनियाँ मजदुरले यसलाई आफ्नो घरमा लुकाएका थिए ताकि जापानीको हात नलागोस् ।

उनले यो खप्परलाई आफ्नो परिवारको एक इनारमा लुकाएका थिए र आफ्नो मृत्यु अघि उनले आफ्नो परिवारलाई यसबारे जानकारी दिएका थिए । त्यसपछि यो खप्पर वैज्ञानिकलाई सुम्पिइएको थियो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप