मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कार्यदलमा भीम रावल : ‘एमालेभित्र सहमति भइसक्यो, अब के का लागि विवाद गर्ने ?’ (भिडियो)

आइतबार, १० साउन २०७८, १७ : ५५
आइतबार, १० साउन २०७८

नेकपा एमालेका नेता भीम रावलले अब नेकपा एमालेभित्र कुनै विवाद नभएको बताएका छन् । आइतबार सिंहदरबार स्थित संसदीय समितिको हलमा बसेको एमालेको पूर्व कार्यदलका सदस्य र एमालेका सांसदहरुको बैठकमा नेता रावलले पार्टीमा वैचारिक, सैद्धान्तिक कुनै विवाद नरहेको उल्लेख गरेका हुन् । पूर्व कार्यदलका सदस्य तथा सांसदहरूलाई सम्बाेधन गर्दै उनले पार्टीका दुई पक्षबीच विवाद मिलाउन भएको १० बुँदे सहमतिका लागि निकै मिहिनेत गर्नुपरेको बताए । 

उनले चित्त नबुझ्दा नबुझ्दै पनि कोही दुई पाइला, कोही तीन पाइला हटेर सहमतिमा पुगेको उनले बताए । उनले भने–‘अघि सुवास कमरेड (सुवास नेम्वाङ) ले भनेजस्तै हामीले पार्टी अध्यक्ष र वरिष्ठ नेता दुवैजनालाई यो सहमति गर्ने आरम्भ चरणदेखि अन्तिम बिन्दुसम्म सम्पूर्ण कुराको जानकारी गराएका छौँ । उहाँहरूलाई सो कुराको जानकारी गराउनुको साथ साथै सहमति गर्नु पूर्व अन्तिम बिन्दुमा जानकारी गराएका छौँ । केही बुँदाहरूमा यहाँ यस्तो भए हुन्थ्यो भन्ने भनाई अवश्य रहेका हुन् । मेरा पनि केही अडान छन्, सुवास कमरेडका पनि छन्, अरू कमरेडका पनि छन् । सबैको अडान कायम राखेको भए आज यसरी सहमति हुने थिएन ।’

उनले कतिपय विषयहरूमा चित्त नबुझ्दा नबुझ्दै पनि भोलिका आउने दिनेहरूलाई हेरेर सङ्गठनहरू क्रियाशील भएपछि कमी कमजोरीलाई हटाएर अघि बढ्न सकिने भएकोले समझदारी गरेको उल्लेख गरे । 

नेता रावलले भने–‘हामी सबैलाई थाहा छ २०७५ जेठ २ गते पूर्वको अवस्थामा जाने यो सम्झौतामा स्पष्ट रूपमा लेखिएको छ । साथसाथै फागुन २३ पछि कुनै पनि तर्फ भन्ने शब्द प्रयोग गरिएको छ, हामी सबैजना कानुनका ज्ञाता नै छौँ, कुनै पनि तर्फ भन्दा के अर्थ लाग्छ ? त्यहाँ हामीले बहस पनि गरेका थियौँ, दुई ठुला पार्टी एकता हुन लागेको अर्थ पनि आउने भयो नि कमरेड भन्ने कुरा पनि आयो । किन त्यस्तो शब्द प्रयोग गर्ने ? त्यसकारण हामीले धेरै बिचार गरेर दुईतर्फ भन्ने शब्द त्यहाँ प्रयोग गरेका छौँ । तितो नलागोस्, पार्टी अध्यक्षले नेतृत्व गरेको ठाउँबाट होस वा वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको ठाउँबाट होस्, हाम्रो विधानसँग नमिल्ने, हाम्रो एकतासँग नमिल्ने ती सबै कुराहरू बदर हुनेछन् भनेर त हामीले घोषणा गरिसकेका छौँ । यो भन्दा ठूलो एकताका लागि घोषणा अरू के हुन सक्दछ ? यो भन्दा फराकिलो कुरा अरू के हुन सक्दछ ?’

नेता नेम्वाङले भनेजस्तै अव शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषयमा प्रवेश गर्न आवश्यक नभएको बताए । रावलभन्दा अगाडि सुवास नेम्वाङले सम्बोधन गरेकाले नेम्वाङका केही भनाइहरूको सापटी लिँदै नेता रावलले सम्बोधन गरेका थिए । 

उनले पार्टीको आगामी महाधिवेशनका लागि सदस्यता वितरण तथा पार्टीमा थप केन्द्रीय सदस्य थपका लागि पनि कार्यदलले काम गर्ने उल्लेख गरे । 

उनले भने–‘यति धेरै सहमति भइसकेपछि अब हामीले के का लागि विवाद गर्ने ? के का लागि मतभेद गर्ने ? सिद्धान्तका लागि मतभेद गर्ने हो भने जनताको बहुदलीय जनवादका बारेमा कसैले प्रश्न उठाएको देखिँदैन । कार्यक्रममा विवाद छ भने समाजवाद प्राप्तिका लागि दलाल पुँजीपति वर्गविरुद्ध सङ्घर्ष गर्दै जाने भन्ने अठोटमा कसैले बहस गरेको देखिँदैन । नीतिको कुरा गर्ने हो भने हाम्रो स्वतन्त्र परराष्ट्र नीति, सामाजिक नीतिको बारेमा कुनै विवाद गरेको पाइँदैन । समावेशी लोकतन्त्र, समानता, न्यायका लागि लड्ने हाम्रो पार्टीको प्रश्न हो त्यसमा पनि प्रश्न छैन । केहीमा पनि प्रश्न छैन भने के भनेर लड्ने ?’

पार्टीको दुई पक्षका बिचमा लड्ने भने पनि पार्टी २०७५ जेठ २ गते अघिको अवस्थामा जाने भनिसकेपछि सबै विवाद सकिएको नेता रावलले बताए । 

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप