बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
राजनीति

एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?

मङ्गलबार, १६ असार २०८३, १५ : १९
मङ्गलबार, १६ असार २०८३

सारांश

  • कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको काम सकिएर नयाँ सदस्य खोल्दा पनि एक महिना पुग्न लाग्दा कतिले सदस्यता माग गरे भन्ने यकिन तथ्याङ्क केन्द्रमा आइपुगेको छैन ।
  • क्रियाशील सदस्यता खुला गरेको असार १७ गते एक महिना पुग्दै छ, तर अहिलेसम्म कतिले नयाँ सदस्यताका लागि आवेदन दिए भन्ने यकिन तथ्याङ्क केन्द्रमा आइपुगेको छैन ।
  • प्रक्रिया लामो भएकाले केन्द्रमा आइपुग्न समय लागेको महामन्त्री पौडेलको तर्क छ, जसमा वडादेखि केन्द्रसम्म ५ वटा प्रक्रिया पार गर्नुपर्छ ।

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको काम सकेर नयाँ क्रियाशील सदस्यता खोलेको एक महिना पुग्न एक दिन मात्रै बाँकी छ । तर, कतिले सदस्यता माग गरे भन्ने यकिन तथ्याङ्क अझैँ केन्द्रमा नपुगेको पाइएको छ  । 

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको जेठ १८ गते बसेको बैठकले पार्टीको नयाँ क्रियाशील सदस्यता खोल्ने निर्णय गरेको थियो । ‘नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली र पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिविद्धताका साथ स्वदेश तथा विदेशमा रहनु भएका योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्य बन्नका लागि पार्टीको वेबसाइट मार्फत सहज र सरल रूपमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता आवेदन फारम भर्न सकिने गरी खुला गरिएको यसै विज्ञप्ति मार्फत सबैलाई जानकारी गराइन्छ,’ महामन्त्री प्रदीप पौडेल संयोजकत्वको समितिको निर्णयमा लेखिएको थियो । 

क्रियाशील सदस्यता खुला गरेको असार १७ गते एक महिना पुग्दै छ । तर, अहिलेसम्म कतिले नयाँ सदस्यताका लागि आवेदन दिए भन्ने यकिन तथ्याङ्क केन्द्रमा आइनपुगेको महामन्त्री पौडेलले स्वीकार गरे । प्रक्रिया लामो भएकाले केन्द्रमा आइपुग्न समय लागेको उनको तर्क छ ।  

‘हाम्रो नयाँ क्रियाशील सदस्यता दिने प्रक्रिया लामो छ । त्यसैले केही मात्रै केन्द्रमा आए पनि धेरै आइपुगेका छैनन्,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘इच्छुक व्यक्तिले पार्टीको वडा कार्यालयमा निवेदन दिएपछि केन्द्रमा आइपुग्न ५ स्टेप पार गर्न पर्छ । त्यसैले प्रक्रिया पूरा हुने क्रममा रहेको जानकारी हामीलाई तल्लो तहका साथीहरूले गराइरहनु भएको छ ।’ 

कांग्रेस केन्द्रीय कार्यालय र विधानमा गरिएको व्यवस्थाअनुसार पार्टीको क्रियाशील सदस्यता लिन इच्छुक व्यक्तिले वडामा निवेदन दिने, त्यो निवेदनमा प्रक्रिया पुर्‍याएर पार्टीको वडा समितिले पालिका समितिलाई पठाउनुपर्छ । 

पालिका समितिले प्रदेशसभा क्षेत्रीय समिति, प्रदेशसभा क्षेत्रीय समितिले प्रतिनिधि सभा क्षेत्रीय समितिमा पठाउँछन् । प्रतिनिधि सभा क्षेत्रीय समितिले सदस्यता स्वीकृत गरी केन्द्रमा प्रमाणीकरणका लागि पठाउने प्रावधान छ । त्यही लामो प्रावधानका कारण केन्द्रमा आइपुग्न ढिला भएको पौडेलको भनाइ छ । 

कांग्रेसले नयाँ सदस्यता भर्नका लागि असार २० गतेसम्मको समय दिएको पौडेलले बताए । सबैतिरबाट निर्धारित समयमै अद्यावधिक विवरण आइपुग्ने उनले जिकिर गरे ।

अद्यावधिकमा पनि जनसम्पर्क र ७ जिल्लाको हार्ड कपी टुंगो लागेन

कांग्रेसले १५औँ महाधिवेशनका लागि भन्दै नवीकरण गरेका र पुस १० गतेसम्म नयाँ सदस्यता स्वीकृत भएकालाई ‘डिजिटल्ली अद्यावधिक’ गर्ने निर्णय गरेको थियो । अध्यावधिकका लागि वैशाख १ गतेदेखि जेठ २८ गते राति १२ बजेसम्मको समय दिइएको थियो । त्यो समय पूरा भएको २० दिनसम्म पनि हार्ड कपी बुझाउन दिने निर्णय भएका ७ हिमाली जिल्ला र जनसम्पर्क समितिमा कति सदस्यले अद्यावधिक गरे भन्ने यकिन भइसकेको छैन । 

संयोजक पौडेलले ७ हिमाली जिल्ला र जनसम्पर्क समितिबाट अद्यावधिक भएर आएकाको यकिन गर्न बाँकी रहेको जानकारी दिए । 

पौडेलका अनुसार क्रियाशील सदस्यता व्यवस्थापन समितिले हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुगु, बाजुरा र दोलखालाई हार्ड कपीमा अद्यावधिक गर्न दिने निर्णय गरेको थियो । ती जिल्लाबाट अद्यावधिक गरिएका हार्ड कपी समितिमा आइपुगे पनि कति अद्यावधिक भए भन्ने यकिन गर्न बाँकी रहेको उनले बताए । 

त्यस्तै जनसम्पर्क समितिबाट ‘डिजिटल्ली अद्यावधिक’ भएका सदस्यहरूको पनि यकिन तथ्याङ्क समितिले अझै निकाली सकेको छैन । केही दिनमा सबै यकिन भइसक्ने पौडेलले बताए । 

अहिलेसम्म समितिको रेकर्डमा ६ लाख ४७ हजार बढिले क्रियाशील सदस्यता अद्यावधिक गरेको रेकर्ड समितिमा पुगिसकेको जानकारी उनले दिए ।

गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहका नेता कार्यकर्ताले क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन् । उनीहरूले १५ औँ महाधिवेशनका लागि एक पटक नवीकरण गरिसकेकालाई पुनः अद्यावधिक गर भन्ने उपयुक्त नहुने तर्क गर्दै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप