शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

असोजभित्रै सम्भव छ त खोप ?

यस्तो छ अवस्था
शनिबार, १६ साउन २०७८, १० : ३१
शनिबार, १६ साउन २०७८


अर्थमन्त्री जनार्दन शर्माले बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मन्त्रालयमै बलाएर सोधे, खोपको तालिका र योजना के छ ? जवाफमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आगामी असोजभित्र कुल जनसङ्ख्याको ३३ प्रतिशत र चैत्र महिनाभित्रै सबै नागरिकलाई खोप लगाइसक्ने गरी योजना खोप तालिका बनाएको बताए ।

स्वास्थ्य राज्यमन्त्रीको जवाफ सुन्ने बित्तिकै अर्थमन्त्री शर्माले भने, ‘खोप तालिका परिवर्तन गरेर असोजभित्रै सक्ने गरी योजना बनाउनुहोस्, पैसाको चिन्ता नगर्नुस् ।

​अर्थमन्त्री शर्माले आगामी असोज महिनाभित्रै सबै नागरिकलाई खोप दिइसक्ने गरी तालिका संशोधन र योजना बनाउन भन्दै गर्दा हाल कुल जनसङ्ख्याको १२ प्रतिशत अर्थात् करिब ३६ लाख जनसङ्ख्याले मात्रै खोपको पहिलो मात्रा लगाउन पाएका छन् । दुबै डोज खोप लगाउनेहरूको सङ्ख्या करिब ५ प्रतिशत मात्र छ । तर, बढीमा ७५ दिनको समयमा बाँकी जनसङ्ख्यालाई खोप दिन सक्ने हैसियत र खोपको उपलब्धता सरकारसँग छ त ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ११ गते दिएको तथ्याङ्क अनुसार हालसम्म नेपालमा ९७ लाख ८२ हजार ८५० मात्रा खोप प्राप्त भएको छ । जसमा कोभ्याक्स सुविधा अन्तर्गतको १८ लाख ८२ हजार मात्रा खोप प्राप्त भएको छ । जसमध्ये सुरुमै कोभिशिल्ड खोप ३ लाख ४८ हजार डोज र करिब एक महिनाअघि अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त जोनसनको १५ लाख ३४ हजार ८५० मात्रा प्राप्त भएको छ ।

त्यसैगरी वैदेशिक अनुदान अन्तर्गत २९ लाख मात्रा खोप प्राप्त भएको छ । जसमध्ये चीन सरकारबाट १८ लाख डोज भेरोसेल र भारत सरकारबाट ११ लाख डोज कोभिशिल्ड खोप आएको छ ।

त्यस्तै नेपाल सरकार आफैले किनेर ५० लाख डोज खोप ल्याइसकेको छ । जसमध्ये चीनबाट ४० लाख डोज भेरोसेल खोप र भारतबाट १० लाख डोज कोभिशिल्ड खोप ल्याएको छ ।

सरकारले पहिलो प्राथमिकतामा १८ वर्षमाथिका कुल २ करोड १५ लाख जनसङ्ख्यालाई खोप लगाउने गरी तयारी गरेको छ । त्यसैगरी दोस्रो प्राथमिकतामा १२ देखि १८ वर्ष उमेर समूहका थप ४९ लाख जनसङ्ख्यालाई पनि खोप लगाउने गरी योजना बनाएको जनाएको छ ।

भदौ मसान्तभित्र कति खोप आउला ?

अर्थमन्त्री शर्माले असोज मसान्तभित्रै सबै नागरिकलाई खोप लगाउने गरी तालिका परिवर्तन गर्न र पैसाको चिन्ता नगर्न भने पनि असोजभित्रै सबै नागरिकले खोप पाउने सम्भावना भने ज्यादै कठिन छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आगामी असोज मसान्तभित्र थप १ करोड ५ लाख ४८ हजार डोज खोप नेपाल आउनेछ । मन्त्रालयका अनुसार वैदेशिक अनुदान अन्तर्गत चीन सरकारबाट अनुदानस्वरुप १६ लाख डोज साउनको अन्तिम साताभित्र नेपाल आइपुग्नेछ ।

त्यसैगरी कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट एस्ट्राजेनेकाको १६ लाख डोज खोप भदौको पहिलो साताभित्र आउनेछ भने कोभ्याक्स सुविधा अन्तर्गतकै ३ लाख ४८ हजार डोज कोभ्याक्स खोप भदौको अन्तिम साताभित्र नेपाल आउनेछ ।

असोज महिनाभित्र ७० लाख डोज खरिद गर्ने सरकारी योजना छ । जसमा भारतसँग खरिद गर्ने भनी सम्झौता गरिएको बाँकी १० लाख डोज कोभिशिल्ड खोप र चीन सरकारसँग खरिद गर्ने ६० लाख डोज भेरोसेल खोप पनि भदौको अन्तिम हप्ताभित्र आइपुग्ने सरकारको प्रक्षेपण छ ।

यसरी हेर्दा हालसम्म आएको ९७ लाख ८२ हजार ८५० मात्रा र भदौ मसान्तभित्र आउने १ करोड ५ लाख ४८ हजार गरी कुल २ करोड ३ लाख ३० हजार ८५० मात्रा खोप नेपाल आइपुग्नेछ ।

भदौभित्र नेपाल आइपुगेर असोज महिनाभित्र लगाइसक्ने भनिएको पुरानो ९७ लाख ८२ हजार ८५० डोज र नयाँ आउने गरी कुल २ करोड ३ लाख ३० हजार ८५० मात्रामध्ये अमेरिकाबाट प्राप्त भएको १५ लाख ३४ हजार ८५० मात्रा खोप एक मात्रा लगाए पनि हुनेछ । बाँकी १ करोड ८७ लाख ९६ हजार मात्रा खोप कम्तीमा दुई मात्रा लगाउनु पर्नेछ । त्यो भनेको ९३ लाख ९८ हजार जनसङ्ख्यालाई पूर्ण मात्रा हो ।

यी दुबै जोड्दा आउने पक्का भएको भनिएको खोपबाट करिब १ करोड १० लाख जनसङ्ख्याले खोपको पूर्ण मात्रा पाउनेछन् । यदि त्यसो हुन सकेमा पहिलो प्राथमिकतामा परेका १८ वर्षमाथिका २ करोड १५ लाख जनसङ्ख्या मध्ये करिब ५० प्रतिशतले खोपको पूर्ण मात्रा प्राप्त गर्नेछन् । यसमा कुल जनसङ्ख्यालाई हेर्ने हो भने कुल ३ करोड जनसङ्ख्याको करिब ३६ प्रतिशतले खोपको पूर्ण मात्रा प्राप्त गर्नेछन् ।

असोजभित्रै खोप लगाइसक्न कति सम्भव ?

एउटा खोप लगाउन लाग्ने समय भनेको बढीमा ३० सकेण्ड हो । तर ३० सेकेण्ड समय हो भन्दैमा भएन । पहिले खोप लगाउनका लागि खोप हनुपर्‍यो । नेपालले चीन, रुस लगायतका विभिन्न देशसँग खोप खरिदका लागि लगातार कुराकानी र पत्राचार गरिरहेको भए पनि ती देशहरूले पर्याप्त मात्रामा खोप उपलब्ध गराउन सकेका छैनन् ।

नेपालका लागि हालसम्म धेरै खोप दिएको चीनले मात्रै हो । भारतले आफ्नो नागरिकलाई पुगेपछि मात्रै अन्य देशलाई खोप दिने भएकाले ठूलो जनसङ्ख्या भएको देश भारतबाट खोप आउने सम्भावना ज्यादै क्षीण छ । त्यसकारण, नेपालका लागि चीन, रुस, अमेरिका लगायतका देश नै खोप आउनसक्ने मुलुक हुन् ।

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण अनुसार आगामी असोजदेखि चैत्र मसान्तसम्ममा कोभ्याक्स सुविधामार्फत १ करोड १३ लाख डोज खोप आउन सक्नेछ ।

त्यसैगरी कोभ्याक्सबाटै लागत सहभागितामा कोभिशिल्ड, मोडर्ना, जाेनसन, सिनोभ्याक र फाइजर आदि १ करोड ५० लाख डोज खोप किनेर आउन सक्ने मन्त्रालयको प्रक्षेपण छ । त्यसैगरी चैत्र महिनाभित्र बालबालिकाका लागि ६० लाख डोज फाइजरको खोप किनेर ल्याउने सरकारको लक्ष्य छ ।

करिब ६ करोड डोज खोप आवश्यक

नेपालमा करिब ३ करोड जनसङ्ख्या छ । १२ वर्ष माथिका उमेर समूहका मानिसको सङ्ख्या हेर्ने हो भने २ करोड ६५ लाखभन्दा बढी छ । उनीहरू सबैलाई कम्तीमा २ डोज खोप दिने हो भने ५ करोड ३० लाख डोज खोप आवश्यक पर्छ । त्यसैगरी केही खोप खेरसमेत जाने भएकाले नेपाललाई करिब ६ लाख डोज खोप आवश्यक पर्छ ।

तर, सरकारले आगामी असोजदेखि चैत महिनासम्म आउन सक्ने खोपको प्रक्षेपणमा पनि जम्मा ३ करोड २३ लाख डोज मात्रै छ । हालसम्म आइसकेको, भदौ मसान्तभित्र आउने प्रतिबद्धता भएको भनिएको र आगामी चैत मसान्तसम्म आउन सक्ने भनिएको खोपको सबै मात्रा जोड्दा पनि करिब ५ करोड २५ लाख डोज मात्रै हुन्छ । खेर जाने खोप आदि घटाउँदा यो सङ्ख्याले करिब ८० ९० प्रतिशत जनसङ्ख्यालाई खोप दिलाउन सकिन्छ ।

निःशुल्क खोप कुर्ने कि किनेर लगाउने ?

सरकारले आगामी असोज महिनादेखि चैत महिनासम्ममा १ करोड १३ लाख डोज खोप नि:शुल्करुपमा प्राप्त हुने प्रक्षेपण गरेको छ । तर त्यो समयमा पनि खोप आइपुग्ने प्रतिबद्धता भने आएको होइन । अर्थमन्त्री जनार्दन शर्माले भनेझैँ असोज महिनाभित्रै सबै नागरिकलाई खोप लगाइसक्ने हो भने तत्कालै करिब ४ करोड डोज खोप खरिद गर्ने गरी काम गर्नुपर्ने हुन्छ । ७५ दिनभित्र बाँकी ४ करोड खोप किन्ने पैसा त सरकारले जुटाउला, तर खोप कसले दिने ?

अहिले नेपालमा धेरैले लगाएको खोप भनेको चिनिया भेरोसेल खोप हो । जुन खोपलाई विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन प्रयोगको मान्यता दिएको भए पनि केही देशमा जानका लागि भने यो खोपको मान्यता छैन । ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात् खोप लगाएका व्यक्ति मात्रै कुनै एक देशबाट अर्को देशमा जानसक्ने अवस्था हुँदा केही देशले भेरोसेल खोपलाई मान्यता दिन अस्वीकार गरेका छन् । जसका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने कतिपयले अहिले जाेनसनको खोप लगाइरहेका छन् ।

अब खोप खरिद गर्ने सम्बन्धमा पनि भेरोसेलको खोपमा मात्रै भर पर्न सकिने अवस्था छैन । वैदेशिक रोजगारी, व्यापार वा अध्ययनको क्रममा बाहिर जाने विद्यार्थीहरूले भेरोसेलको खोप लगाएमा बाहिर जान नपाउने अवस्था पनि आउन सक्छ । त्यसकारण सरकारको ध्यान भेरोसेल भन्दा बढी फाइजर, मोडर्ना, जानसेन आदिमा जानुपर्ने हुनसक्छ ।

तर, नेपालका लागि तत्कालै मोडर्ना, फाइजरजस्ता खोपको उपलब्धता सम्भव पनि छैन । अमेरिका लगायतका देशहरूले उत्पादन गरिरहेका खोप ती मुलुकहरूलाई नै नपुगेको अवस्थामा नेपालले किन्न चाहँदैमा पाइने सम्भावना कमै छ ।

नेपालले केही समयअगाडि अमेरिकी खोप निर्माता कम्पनी जोनसन एन्ड जोनसनसँग खोप किन्ने प्रस्ताव राखेको थियो ।

प्रस्तावमा नेपालले ४५ देखि ६० दिनभित्र खोप उपलब्ध गराइदिन आग्रह गरेको थियो । तर, खोप निर्माता कम्पनीले खोप उपलब्ध गराउन कम्तीमा पनि ३ महिनाको समय चाहिने भन्दै २ महिनाभित्र खोप उपलब्ध गराउन सम्भव नभएको जवाफ दिएको थियो । अन्य खोप उत्पादक कम्पनीसँग कुरा गर्दा पनि छिटो खोप दिन नसक्ने जवाफ पठाएका छन् । यसको अर्थ, नेपालले पैसा तिरेरै खोप किन्छु भने पनि आगामी असोज महिनाभित्रै खोप लगाइसक्ने सम्भावना ज्यादै न्यून छ । अर्थात्, असम्भवजस्तै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप