शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ सँगै पोष्ट कोभिडका कारण मृत्यु हुनेको संख्या पनि बढ्दो

सोमबार, २५ साउन २०७८, १० : ०३
सोमबार, २५ साउन २०७८

काठमाडौं । काभ्रे पाँचखालकी ४६ वर्षीया महिला कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भइन् । गम्भीर समस्या देखिएपछि आईसीयूमै राखेर उनको उपचार गरियो । अन्ततः उनी कोरोनालाई जितेर घर फर्किन् । तर, कोभिड—१९ मुक्त भएर घर फर्केको एक महिनापछि सास फर्ने गाह्रो हुने, घ्यारघ्यार हुने, एकोहोरो खोकी लागेर कमजोर महसुस भएपछि उनी पुनः उपचारका लागि काठमाडौं आइपुगिन् ।

उनलाई नन्–कोभिड उपचार कक्षमा राखेर उपचार सुरु गरियो । श्वासप्रश्वास गाह्रो भएकाले अक्सिजनसहित एन्टिबायोटिक औषधि दिएर चिकित्सकको निगरानीमा राखियो । अन्ततः पोष्ट कोभिडकै कारण उनको मृत्यु भयो ।

उता रसुवा कालिकास्थानकी टीका पौडेल पनि त्रिवि शिक्षण अस्पतालमा ४१ दिनसम्मको बसाइपछि कोरोना मुक्त भएर खुसी हुँदै घर फर्किन् । तर, घरमा गएको केही समयपछि श्वासप्रश्वासमा समस्या आयो । पुनः उनलाई उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइयो । तर अस्पताल आइपुग्दा उनको मृत्यु भइसकेको थियो ।

अर्घाखाँचीकी ५४ वर्षीय महिला पनि कोरोना मुक्त भएर घर फर्किएको एक महिनामा श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि फेरि काठमाडौं आइन् । एम्बुलेन्समार्फत काठमाडौं आएकी उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै उपचाररत छिन् ।

काठमाडौं कालोपुलका एक परिवारका सबै सदस्य कोरोना संक्रमित भए । अन्य सदस्यको तुलनामा ४१ वर्षीय बुहारी निरा क्षेत्रीलाई गाह्रो भयो । तर होम आइसोलेसनमै बसेर उनी कोरोनामुक्त भइन् । कोरोना मुक्त भएको दुई सातासम्म शरीर कमजोर भएको महसुस गरेकी उनी त्यसपछि भने निन्द्रा नलाग्ने, डर लाग्ने, झसङ्ग हुने, छाती भारी हुने, शरीर दुख्ने भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि पुगिन् । आफूलाई डाक्टरहरुले पोष्ट कोभिड भएको भन्दै आवश्यक परामर्श दिएर घर पठाएको उनले सुनाइन् ।

यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । पोष्ट कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या गणना गरे पनि पोष्ट कोभिडकै कारण कतिको मृत्यु भयो भन्नेबारे अनभिज्ञ छ ।

कोरोना मुक्त भएपछि स्वास्थ्यमा विभिन्न समस्या देखिएर अस्पताल पुग्नेको लर्काे लाग्ने गरेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फोक्सो रोग विशेषज्ञ डा. नीरज बम बताउँछन् ।

कोरोना मुक्त भएकामध्ये धेरैजसोले पोष्ट कोभिडको कुनै न कुनै समस्या देखिएको बताउने गरेको चिकित्सकहरुको भनाइ छ । कोरोना मुक्त भएका १५ देखि २० प्रतिशतमा थकाइ लाग्ने, ज्वरो आउने, खोकी लाग्ने, स्वाँस्वाँ हुने, शरीर दुख्ने, जाँगर नलाग्ने, मुटुको चाल बढ्ने, निन्द्रा नलाग्ने, निन्द्रामा झस्किरहने, डर लाग्ने, कान कराउने, प्रेसर बढ्ने, श्वास फेर्न गाह्रो हुने, चक्कर आउने, भोक नलाग्ने आदि समस्या लिएर अस्पताल आउने गरेको सरुवा रोग विषेशज्ञ डा. प्रभात अधिकारीको भनाइ छ ।

पोष्ट कोभिडकै कारण केहीमा शरीरका विभिन्न अंगमा असर देखिएको उनले बताए । फोक्सो, मिर्गौला, आँखा, दिमागमा समेत यसले नराम्रो असर परेको उनको भनाइ छ । पोष्ट कोभिड बाहेक कोभिडमुक्त भएका बालबालिकालाई ब्ल्याक फङ्गस समेत देखिएको छ ।

नेपालमा एकातिर कोरोनाभाइरस संक्रमितको ग्राफ उकालो लाग्दै छ भने अर्कोतिर कोरोना मुक्त भइसकेपछि पनि स्वास्थ्यमा समस्याहरु देखा परेर अस्पताल पुग्नेहरुको संख्या पनि बढ्दो छ । पोष्ट कोभिड भएर कतिपय त आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्थाका रहेको डा. बमले बताए ।

कोरोना मुक्त भएर पनि फोक्सोमा ‘फङ्गस’को आक्रमणले गर्दा श्वासप्रश्वासमा समस्या भएर अस्पताल आउनेहरु पनि बढ्न थालेको उनले सुनाए । फोक्सोदेखि मुटुसम्म पुग्ने नसामा रगत जम्ने बिरामी पनि देखा पर्न थालेको उनको भनाइ छ ।

कोभिड—१९ का कारण नेपालमा १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । पोष्ट कोभिडको कारण पनि ३ हजारभन्दा बढीको मृत्यु भएको हुन सक्ने डा. बमको अनुमान छ ।

मानसिक समस्या

कोरोना मुक्त भई शारीरिक रुपमा कुनै समस्या नदेखिए पनि कतिपयमा मानसिक समस्या देखिएको डा. बमले बताए ।

पोष्ट कोभिडका कारण शारीरिक र मानसिक दुवै समस्या लिएर आउने बिरामी धेरै रहेको सरुवा रोग विषेशज्ञ डा. अधिकारी पनि बताउँछन् । कोभिड भएकामध्ये १५ देखि २० प्रतिशतलाई पोष्ट कोभिड हुन सक्ने उनको भनाइ छ ।

कोरोना कै कारण आइसियू, भेन्टिलेटरमा उपचार गराएर भाग्यले बाँच्नेहरुमा मृत्युसँगको संघर्ष सम्झिएर मनमा डर उत्पन्न हुने, नजिकैका आफन्त गुमाएकाहरुमा कोभिड संक्रमण हुँदा साधारण लक्षण देखिए पनि त्रासले गर्दा पनि मानसिक समस्या देखिने उनले सुनाए ।

टाउको भारी हुने, शरीर तातो हुने, घाँटीमा के अड्कियो भन्दै अस्पताल आउने धेरैजसो पोष्ट कोभिडका बिरामी रहेको उनले बताए । कोरोना मुक्त भएका बिरामीले नियमित योग, ध्यान, श्वासप्रश्वासका विभिन्न क्रिया र खानपानमा ध्यान दिन अति आवश्यक पर्ने डा. अधिकारीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप