शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र चलायमान बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

बुधबार, १६ भदौ २०७८, १७ : २६
बुधबार, १६ भदौ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने  बताएका छन् । महिला उद्यमी महासङ्घको पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज भर्चुअल सम्बोधन गर्दै उनले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

“सबै नागरिकलाई चाँडै कोरोना खोप उपलब्ध गराएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयत्नशील रहेको छ”, प्रधानमन्त्री देउवाले भने । उनले नेपाली उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्न महिला उद्यमी महासङ्घले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । यस्ता मेलाले मुलुकको अर्थतन्त्रलाई थप सबल बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । 

नेपाली काँग्रेसका सभापतिसमेत रहेका उनले कोरोनाका कारण नेपालमा उत्पादन भएका सामान बजारसम्म पुग्न नसकेको वर्तमान परिवेशमा सरकारले बजारीकरणलाई विशेष प्राथमिकता दिने उल्लेख गरे । उनले भेलाको पूर्ण सफलताको कामनासमेत गरे ।

महासङ्घका अध्यक्ष रीता सिंहले महिला उद्यमीलाई प्रोत्साहन गर्दै महिलालाई आत्मनिर्भरताको बाटामा लैजानका लागि मेलाको आयोजना गरिएको जानकारी दिइन् । महासङ्घका प्रथम उपाध्यक्ष एवं मेलाका संयोजक नीरु रायमाझी खत्री, द्वितीय उपाध्यक्ष शोभा ज्ञवाली लगायतले नेपालमा उत्पादित कृषि सामग्री र हस्तकलाका सामग्रीलाई अर्थतन्त्रसँग जोड्न उक्त मेलाको आयोजना गरिएको बताए ।

भर्चुअल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, विभिन्न देशका राजदूत तथा महिला उद्यमीको सहभागिता रहेको थियो । मेला पाँच दिनसम्म चल्ने महासङ्घले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप