प्रेरक प्रसंग

आफू जस्तो हुन्छौँ संसार त्यस्तै देखिन्छ

person explore access_timeभदौ १८, २०७८ chat_bubble_outline0

एकपटक सिख धर्मगुरु गुरुनानक घुम्दै एउटा बस्तीमा पुगेका थिए । गाउँलेहरूले राम्रैसँग स्वागत सत्कार गरे तर फर्कने बेला उनले आशीर्वादको सट्टा तिमीहरूको बस्ती यति बढी उजाड होस् कि चाँडै नै अन्यत्र बासको खोजी गर्नु परोस् भनेर हिँडे । उनको कुरा सुनेर शिष्यहरू आश्चर्यमा परे तर बोल्न भने सकेनन् । अर्कोपटक त्यसैगरी घुम्दै अर्को बस्तीमा पुगेका थिए । गाउँलेहरूको उनको तिरस्कार गरे । कतिले हातपात गर्नसमेत बेर लगाएनन् तर उनले भने फर्कने बेला तिमीहरूको बस्ती यति घना आवादी होस् कि तिमीहरूलाई कतै पनि जान नपरोस् भनेर हिँडे ।

यसपटक भने शिष्यहरूले आफूलाई थाम्न सकेनन् र सोधे–

‘गुरुदेव ! हजुरले स्वागत सत्कार गर्ने बस्तीलाई उजाड होस् भन्नुभयो तर घृणा तिरस्कार गर्ने बस्तीलाई भने आवाद होस् भन्नुभयो ।  यसको कारण के हो बुझ्न नसकेर हैरान छौँ ।’

उनीहरूको कुरा सुनेर गुरुनानकले मुस्कुराउँदै भने–

‘अघिल्लो बस्तीका मानिस सज्जन थिए । त्यसैले चाँडै नै उजाड होस् भनेँ । किनकि उनीहरू विभिन्न गाउँमा पुगेर त्यस्तै गुणको प्रचार गर्नेछन्, जसले गर्दा धेरै गाउँको उद्धार हुनेछ तर पछिल्लो बस्तीका मानिस दुर्जनहरू थिए । त्यसैले आवाद होस् भने । किनकि उनीहरू कतै पनि जानेछैनन्, जसले गर्दा त्यसको प्रभाव अर्को गाउँमा पर्ने छैन ।’

धेरै पहिलेदेखि सुनिँदै र पढिँदै आएको यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर सज्जन र दुर्जन भने एउटै मात्र भए पनि गाउँलाई प्रभावित गर्न सक्ने कुरा भने सही हो ।

दुर्जनको उद्देश्य हुन्छ बिगार्नु । जहाँ गए पनि उसले नराम्रै गर्छ । अरु नसके एउटाको कुरा अर्कोलाई लगाएर भए पनि आपसमा झगडा पार्ने काम भने गरेकै हुन्छन् । जतिसुकै मिलेर बसेको गाउँलाई पनि निरन्तर नराम्रो कुरा सुनेपछि हो जस्तो लाग्न सक्छ र आपसमा झगडा पर्न थाल्छ । झगडा भनेको विनाशको त्यस्तो आगो हो, जसले पूरा बस्ती नै सखाप पार्न बेर लगाउन्न ।

आगोलाई सल्कन मात्र बेर हो जल्न र जलाउन बेरै लाग्दैन । उसलाई न दाउरा चाहिन्छ न कोइला नै । ठूला ठूला महलहरूसमेत आफैँ बल्न थाल्छन् । ढुङ्गा, माटो, इट्टा, सिमेन्टहरू आफैँ बलिरहेका हुन्छन् ।

झगडा पनि त्यस्तै हो । उसलाई न निऊँ चाहिन्छ न शत्रुकै आवश्यकता पर्छ । आफ्नै दाजुभाइ, बाउछोरा, आमाछोरा, दिदीबहिनी, आमाछोरी, बाउछोरी दिदीभाइ, दाजुबहिनी नै शत्रु बनेर काटाकाट र मारामार गरिरहेका हुन्छन् ।

सज्जनहरू पनि त्यस्तै हो । एउटै मात्र भए पनि पूरै बस्ती नै सुधार गर्न सक्छन् । हो, तत्कालै सम्भव न होला तर असल कुरा सुन्दासुन्दा एक दिन जस्तोसुकै दुर्जनलाई पनि सज्जन बन्न कर लाग्छ ।

भाइबहिनीहरूले कुमलकोटीको नाम सुनेकै हुनुपर्छ । उसले बच्चा कसरी पार्छ थाहा छ ? फट्याङ्ग्रो ल्याएर गुणभित्र राख्छ र बाहिर भूँ भूँँ गर्न थाल्छ । यही भूँ भूँ सुन्दासुन्दै अन्ततः त्यही फट्याङ्ग्रो कुमलकोटी बन्न पुगिरहेको हुन्छ ।

हामीलाई दार्शनिकहरूले दिएका शिक्षा यही हो । यो छुट्टै कुरा हो कि आधुनिक वैज्ञानिकहरू यसलाई स्वीकार्दैनन् । उनीहरू भन्छन्–

‘कुमलकोटीको बच्चा गुँडभित्र पहिले नै हुन्छ । उसले ल्याएको फट्याङ्ग्रो तिनको आहारा हो ।’

वास्तविकता के हो उनीहरू नै जानून् तर मानिसले जुन कुरा सुन्दै आएको हुन्छ उसको बोली र व्यवहार त्यस्तै हुने कुरा भने व्यावहारिक यथार्थले नै बताउँछ । हामीलाई थाहा छ संसारका हर बालबालिकाको स्वभाव त्यस्तै हुन्छ जुन समाजमा उनीहरू हुर्के, बढेका हुन्छन् । बोली त्यस्तै हुन्छ, व्यवहार त्यस्तै हुन्छ । कारण उनीहरूले होस समालेदेखि त्यही सुन्दै र देख्दै आएका हुन्छन् ।

सज्जन र दुर्जनहरूको अवस्था पनि त्यस्तै हो । सज्जनहरू जहाँ गए पनि राम्रो कुरा गर्छन् । राम्रो कुरा सुन्दासुन्दा त्यहाँका मानिसलाई पनि त्यसको प्रभाव पर्छ र त्यस्तै गर्न थाल्छन् । दुर्जनहरूले खराब कुरा मात्र गर्ने भएकाले त्यस्तै कुरा सुन्दासुन्दा त्यहाँका मानिसलाई पनि त्यसले प्रभावित गर्छ ।

एकपटक एउटा दुर्जन बस्तीमा एकजना सज्जन पुगेका थिए । उनलाई दुर्जनहरूले दिनु दुःख दिए तर उनले आफ्नो स्वभाव छाडेनन् । उनलाई चिढ्याउन दुर्जनहरू उनी नुहाएर आउने बाटामा बस्थे र थुकिदिन्थे तर उनी भने केही पनि नभनी फेरि नुहाउन जान्थे । एक दिन दुर्जनका सरदारले १०८ पटकसम्म उनलाई थुकिदियो । ऊ जतिपटक थुक्थ्यो सज्जन त्यतिपटक गङ्गा स्नान गरी फर्कन्थे । १०८ पटक थुक्दा पनि केही नभनेपछि सरदारले हैरान हुँदै सोध्यो–

‘मैले यति बढी दुःख दिएँ तैपनि रिसाएका छैनौ किन ?’

त्यसपछि सज्जनले मुस्कुराउँदै भने–

‘तिमीले आफ्नो काम ग¥यौ प्यारे ! मैले आफ्नो काम गरेँ । यसमा भएकै के छ र रिसाउने । आजको कुरा गछौँ भने तिम्रै कारणले १०८ पटक गङ्गास्नान गर्ने अवसर पाएको छु ।’

त्यसपछि सरदारले उनको चरणमा परेर माफी माग्यो र त्यस दिनदेखि कहिल्यै त्यस्तो व्यवहार गरेन । फलत एक दिन पूरा गाउँलाई नै सुध्रन कर लाग्यो ।

यो एउटा दृष्टान्त हो । वास्तवमा जसले अरुले के ग¥यो र के भन्यो भन्नेतिर ध्यान नदिई आफूले के गरेको छु र के गर्नुपर्छ भन्नेतर्फ ध्यान दिन्छ उसले आफूलाई पनि सुधार्छ र अरुलाई पनि सुधार्ने काम गर्छ । उसले जस्तोसुकै दुर्जनलाई पनि सज्जन बनाउन सक्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।